दोस्रो दिन झनै चर्कियो अखण्ड आन्दोलन

कैलाली, १६ वैशाख । एमाओवादीले राज्य पुनर्संरचनाका लागि पछिल्लो पटक जातीय पहिचान सहित ल्याएका १० संघीय राज्यको प्रस्तावमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लालाई टुक्राएको बिरोधमा स्थानीयवासीले दोस्रो दिनपनि आन्दोलनलाई झनै चर्काएका छन् ।
अखण्ड सुदूरपश्चिम हुनुपर्ने भन्दै उनीहरुले आज बिहानैदेखि मुख्य÷मुख्य बजार तथा चोकमा भेला भई चर्का नाराबाजी र टायर बालेर बिरोध गरेका छन् । बिभिन्न संघ÷संगठन तथा अखण्ड सुदूरपश्चिम संघर्ष समिति गठन गरी उनीहरुले बन्द लगायतका आन्दोलन सुरु गरेका हुन् ।
बन्दका कारण सर्वसाधारणले सास्ती भोग्न परेको छ । एमाओवादीको प्रस्ताव बिरुद्ध बन्दका कार्यक्रम सहित आन्दोलन सुरु भएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । गन्तव्य तर्फ हिडेका सवारी साधन र यात्रु बाटोमै बिचल्लीमा परेका हुन् ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बझाङ, डोटी, अछाम लगायतका जिल्लाका विभिन्न ठाउ“मा प्रर्दशनकारीहरुले बिहानैदेखि अखण्ड सुदूरपश्चिमको पक्षमा नारा वाजी गर्नुका साथै एमाओवादी बिरुद्ध खनिएका छन् ।
हालको मौजुदा संरचनालाई नै समेटेर संघीय राज्य बनाइनु पर्ने उनीहरुको माग छ । कांग्रेस, एमालेका केही नेता कार्यकर्ताहरुले पनि आन्दोलनप्रति ऐक्बद्धता जनाउदै सडकमा उत्रेका छन् ।
एमाओवादीले जातीय पहिचान सहितको राज्यको प्रस्ताव गरि देश टुक्राउन खाजेको भन्दै यस्तो निर्णय आफूहरुलाई मान्य नहुने आन्दोलनकारीहरुको भनाई छ । अखण्ड सुदूरपश्चिम तथा बहुपहिचानका आधारमा संघको निर्माण गरिनुपर्ने उनीहरुको माग छ ।
प्रदर्शनका क्रममा अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले बाक्लै सुरक्षाकर्मी परिचालन गरेको कैलाली प्रहरी प्रमुख एसपी बसन्तकुमार पन्तले बताए ।
उता आदिवासी जनजाती महासंघले सुदूरपश्चिमको कैलाली र कञ्चनपुर सहितको थरुहट तथा पहाडका सात जिल्लालाई समेटेर सेतीमहाकाली राज्य बनाउनु पर्ने भन्दै बृहत जनप्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया