भुइँचालोपछि

इँचालोपछि क्षत्री–बाहुन बस्तीमा भोकमरी सुरु भयो । खोतलखातल पारेर निकालिएका अन्न पनि सकिएको थियो । धान पाक्न अझै दुई, साढे दुई महिना बाँकी थियो । बारीका दुधिला मकै काँचै खाएर सकिएका थिए । कति छाक तिनले टाढाका आफन्तकहाँबाट अन्न सापटी ल्याएर छाक टारे । तर, कतिन्जेल चल्थ्यो यसरी ? आखिर भोकमरी सुरु भइहाल्यो । क्षत्री–बाहुनहरू अब लट्टेको साग, कर्कलो, लुँडे, च्याउ, फलफूल, कन्दमूल खाएर छाक टार्न थालेका थिए । विषालु च्याउ खाँदा सोम थापाको एक मात्र सन्तान १५ वर्षे हरिहरको मृत्यु भयो । त्यसपछि उनीहरूले  छानीछानी रक्तेच्याउ, बुढीच्याउ मात्र खान थालेका थिए । परन्तु, च्याउकै कारण बस्तीमा महामारी फैलिइरहन्थ्यो ।
लट्टे र लुँडेको साग क्षत्री–बाहुनले त्यसअघि कहिल्यै खाएका थिएनन् । एउटाले सिकाइदियो, सबैले खान थाले । नत्र, यसअघि ती गरिब कामीले मात्र खाने कुरा थिए । अब क्षत्री–बाहुनका आहाराको प्रमुख स्रोतै लट्टे र लुँडेको साग थिए । उसिनेर नुन–खुर्सानीसित साँदेको लट्टेको साग उनीहरूलाई मासुजस्तै स्वादिलो लाग्न थालेको थियो । बारीभरि लट्टेका ठुल्ठूला बोट थिए । तिनका मुना चुँड्दै खाँदा ठुटै हुन्थे । राम्ररी पलाउनै नपाई फेरि चुँडिन्थ्यो । बिस्तारै अब लट्टे र लुँडेका साग पनि लोप हुन थालेका थिए । सहरबाट आफन्तले पठाएका चाउचाउ, दालमोठका पोका उहिल्यै सकिइसकेका थिए । कर्कलोका डाँठ र बेलै नभएका पिँडालु पनि सकिए । गाविस र जिविसमा ढिलो गरी सूचना पुग्यो तैपनि कुनै राहत आइपुगेन ।  क्षत्री–बाहुनहरू अभूतपूर्व संकटमा परेका थिए ।
०००
भुइँचालोपछि माड खुवाउने तेस्रो पालि कामी बस्तीमा अचम्मको दृश्य देखियो । कामी बालबालिकाको भिडमा एउटा बाहुन बच्चो मिसिएर माड थाप्न अघि सर्‍यो । त्यो राममणि रिसालको छोरो शंकरदेव थियो । दलमाया कमिनीकी छोरी रमलाले चिनिहाली । बित्यास पर्ला भनेर त्यसलाई फकाएर घर पठाउन खोजी । त्यो भोक लाग्यो भन्दै घोप्टो परेर रुन थाल्यो ।  दलमायाले कामी बालबालिकालाई एक छिन रोकेर त्यसलाई टन्न माड खुवाइदिई । त्यसको माडमा नुन मात्र होइन, अलिकति चिनी पनि राखिदिई । बालक तृप्त भएर गयो । एकै छिनमा क्षत्री–बाहुन बस्तीबाट थप चार बालक बटुको लिएर लाइनमा उभिए । दलमायाले तिनीहरूलाई पनि अगाडि ल्याएर टन्न खुवाइदिई । तिनीहरूका भागमा पनि रमलाले चिनी थपिदिई । तिनीहरू टन्न पेट भरेर हाँस्दै बिदा भए । ‘हाम्रो पालो कहिले आउँच ठूलीआमा ?’ कामी बालबालिकाले सोधे ।‘तिमारु भनेका सधैँ खाइरका त औ नि, पख न †’ दलमायाले भनी ।
हेर्दाहेर्दै एकै छिनमा क्षत्री–बाहुन बस्तीका सारा बालबालिका बटुको बोकेर कुँडुलो लागे । अब कामी बालबालिका स्वयं खुसीसाथ तिनीहरूलाई पालो छाडिरहेका थिए । कति बालबालिकाले आ–आफ्ना घरबाट सुकुल, चकटी ल्याएर तिनलाई बसाले । तिनका बटुकामा माड थप्न बालबालिकाले नै सहयोग गरे ।
कामी बालबालिकालाई दलमायाले आज माड खुवाउन पाइन । तैपनि ऊ खुसी थिई । बालबालिकाको अनुहारमा ऊ ईश्वरको रूप देख्थी । आफूलाई छि:छि: दुरदुर गर्ने र दागा धर्ने क्षत्री–बाहुनका छोराछोरीलाई आज उसले अरू नभए पनि टन्न माड खुवाएर पठाउन पाएकी थिई । कै छिनमा हकबहादुरका पुराना विष्ट थापा खलकका रघु, दयाबहादुर, कर्ण र रिसाल खलकका राममणि, श्याममणि र पढेलेखेका भलाद्मी भरतमणि पनि झुल्किए । दलमाया र रमलाका आँखामा आतंक फैलियो । क्षेत्री–बाहुन आएका देख्नासाथ कमिनी र बालबालिका छाडिएका सुँगुर, बुँगुर र कुखुरा धपाउँदै खोरभित्र हुल्न थाले ।
फेरि एकै छिनमा मणिराम रिसाल, शंकर रिसाल, रुद्र रिसाल, पुष्प थापा, खड्गबहादुर थापा, हर्ष थापा, रमेश थापा, शिवमणि रिसाललगायत दस युवक थपिए । कामी समुदायका लागि क्षत्री–बाहुन जति सबै एकै थिए । कुनै बेला मन्दिर पस्न लागेको निहुँमा यिनैका बुढियाले दलमायालाई भुत्ल्याएर लछारपछार गरेका थिए । अनि यिनै मणिराम, पुष्प, खड्ग र रमेश घरैमा आएर हकबहादुरलाई ‘स्वास्नी थान्कोमा राख्न नसकेको’ भनी कुटपिट गरेका थिए ।
रमला आत्तिई । बाहुनका बालबालिकालाई माड खुवाएको भन्दै झगडा गर्ने भए भन्ने ठानेर भित्र पसी । कुनै दिन उसलाई गैरीखेतको कान्लामा अडेस लगाएर छाती थिच्दै हातपात गर्न खोज्ने यिनै रुद्र, पुष्प र खड्ग थिए । धन्य, चिच्याएर गुहार मागेपछि ती सुइँकुच्चा ठोकेका थिए ।
दलमाया बेचैन भई । अचम्भित भएर तिनीहरूलाई हेर्न थाली । तिनीहरू सबै टुसुक्क पर्खालमा बसे । हकबहादुर पनि शून्यशून्य आँखाले तिनीहरूलाई हेर्न थाल्यो ।
‘होइन दलमाया भाउजू, के खुवाएर पठायौ केटाकेटीलाई ?’ भरतमणिले सोध्यो । दलमाया थर्थरी काम्न थाली । केही बोल्न सकिन । ‘यी बच्चा यति खुसी भएको मैले कहिल्यै देखेको थिइनँ,’ मणिरामले भन्यो । ‘रमला दिदीकहाँ माड खाएको भन्थे । कस्तो रहेछ यो माड भन्या ?’ पुष्पमणिले रमलालाई हेर्दै भन्यो ।
‘के उनु बाबु, गरिपले खाने उइ भातको माड त ओ नि † असाध्यै भोकाका रचन्, यिनारुले त्यही ख्वा’र पठाइदे । गल्ती भो । माप पाऊँ,’ हकबहादुरले हात जोड्यो ।
‘किन माफी माग्छौ हकबहादुर दाइ, तिमीले के बिरायौ र ? ठूलीआमा र रमला दिदीले खुवाएको भनेर कस्तो खुसी छन् †’ भरतमणिले विनम्र भएर भन्यो ।
‘तिनारु ओकाएका देखेर सारै दया लाग्यो । गल्ती भएको भए माप पाऊँ बाजे’, दलमायाले भनी ।
‘भैगो माफी माग्नु पर्दैन, भाउजू । छ भने अलिकति माड हामीलाई पनि देऊ, तीन दिनदेखि पानीबाहेक मुखमा केही परेको छैन,’ श्याममणिले मुख फोर्‍यो । भोकले तिनका अनुहार चाउरिएका थिए । दलमायाको अन्तरमा एक्कासि दयाको समुद्र उर्लियो । कुनै दिन उसलाई, उसको लोग्नेलाई कुटपिट गर्ने र छोरीलाई हातपात गर्ने यिनै हुन् भन्ने प्रतिशोधको भावना सिमेन्टको भुइँबाट कसिंगरजस्तै सिनित्त बढारिएको थियो । पानी थप्दाथप्दा भातसमेत खोले भएर सकिइसकेको थियो । अब के गर्ने ? रमलाले भाँडा हेरी, चामल एक माना पनि बाँकी छैन । त्यै सोहोरसाहार पारेर ल्याई र डेक्चीमा खन्याई । ऊ पल्लो घरमा छिरी । एकै छिनमा रनमायाले आधा मानाजति चामल ल्याएर दिई । अर्को बालकले बुसर्टको फेरमा थापेर ल्याएको चामल खन्याइदियो । एकै छिनमा एकएक गरेर हरेक कामी परिवार जतिसक्दो चामल, नुन, दाल लिएर दलमायाको अगाडि उभिए ।  कामीहरूका आँखामा असीम हर्षको प्रकाश फैलिएको थियो । दलमायाले ठूलो डेक्चीमा चामल, दाल, नुन र आलु पनि हाली । त्यसमा बेसरी पानी हालेर चुलोमा दाउरा कोच्न थाली ।
०००
कामी बालबालिका र आइमाईहरूले घरघरबाट कुचो, सुकुल, चकटी र पिर्का लिएर आए । आँगन सफा गरेर सुकुल, चकटी र पिर्का राखिदिए । क्षत्री–बाहुनका भागमा माड थप्न सबैले सघाए । क्षत्री–बाहुन तृप्त भए ।
जाने बेला भलाद्मी भरतमणि हकबहादुरको हात समाएर उभियो । ‘हकबहादुर दाइ, विपत्ति र भोकले कुनै जात भन्दोरहेनछ । तपैँ र तपैँको परिवारमाथि भएको अत्याचारका लागि माफ गरिदिनू । भाउजू, छोरी रमला, तिमीहरूसँग पनि म सबै क्षत्री–बाहुनका तर्फबाट माफी माग्छु ।’
बाहुनको मुखबाट पहिलो पल्ट आफूलाई ‘तपैँ’ भनेको भावविह्वल भयो र भरतमणिको हात समाएर हकबहादुर रुन थाल्यो । ‘के अनिबक्स्या विष्ट यस्तो, मलाई पापको भारी किन ओकाइअक्सेको ? हजुरअर्ले के इराइअक्स्या छ र ? आम्रै भाग्य यस्तो रच त के लाग्च †’
हकबहादुर रोएको देखेर दलमाया र रमलाका आँखा पनि टलपल भए । यो सानोतिनो रुवावासी देख्न नसकेर क्षत्री–बाहुन युवकहरू अर्कोतिर फर्किए । त्यसै पनि तिनीहरू रमलासँग आँखा जुधाउन सकिरहेका थिएनन् † कामी बस्तीका आइमाई, केटाकेटी, युवायुवती र वृद्ध सबै कुँडुलो लागेर क्षत्री–बाहुनलाई घेरेर उभिए । भरतमणि अघि लाग्यो । बाँकी सबै क्षत्री–बाहुन पछि लागे । तिनीहरू जाँदाजाँदै भरतमणिलाई रोकेर दलमायाले भनी, ‘हजुरअर्त लोग्नेमान्चे, जाँ गेर नि पेट अरिअक्सिन्छ, बिचरी बज्यै–विष्टिनीअर्काे के अति ओला † अठाइदिअक्से वाँहेर्को पनि सेवा अथ्र्यौं’ स्तब्ध भएर भरतमणिले एक छिनसम्म दलमायालाई हेरिरह्यो । यो कस्ती  दयालु कमिनी रहिछ जो आफूमाथि भएको सारा अपमान र आक्रमण बिर्सेर तिनै अपमानकारी, आक्रमणकारीको सेवा गर्छु भन्छे † विनम्र स्वरमा भरतमणिले भन्यो, ‘हुन्छ भाउजू, तपैँका कुरा म सप्पैलाई भन्दिन्छु । आउनचाहिँ के गर्लान् कुन्नि †’
‘हस् । अन्दिनुस् ऐ त सप्पैलाई ?’
भन्न त दलमायाले प्वाक्कै भनिदिई । तिनीहरू आए कसरी ख्वाउने भन्ने समस्या थियो । ‘चिन्ता नअर्नू’, टोलका सबैले दलमायालाई आश्वस्त पारे । सबैजना आवश्यक परे फेरि पनि उसलाई सघाउन तयार थिए । कामी समुदायका सबैका आँखा अपूर्व उल्लासले चम्कन थाले । माड खान नपाए पनि बालबालिकासमेत भोक बिर्सेर अचम्मैसित रमाइरहेका थिए ।

प्रतिक्रिया