फिल्मी शैलीमा अपहरण पछि ठेकदारको हत्या

काठमाडौं, १५ वैशाख । प्रहरीले गोरखा स्थायी घर भएका बालुवा गिट्टीका ठेकदार प्रकाशवाबु पन्तको अपहरण पछि हत्या गर्ने आपराधिक समूहका सदस्यलाई पक्राउ गरेको छ ।
ललितपुरको बालकुमारी डेरा गरी बस्ने पृथ्वी नारायण नगरपालिका–९ घर भएका  बालुवा गिट्टी ठेकदार ४६ बर्षीय पन्तलाई अपहरण गरी हत्या समेत गरेर फिरौत माग गर्ने ५ जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा झापा महारानी झोडा–५ घर भएका ३९ बर्षीय सोमबहादुर श्रेष्ठ, दाङ जिल्ला सैंगा–६ घर भएका २६ बर्षीय कुमार भन्ने कोमानन्द खड्का, भोजपुर जिल्ला भोजपुर–३ घर भएका २६ बर्षीय रन्नबहादुर तामाङ्ग, नुवाकोट जिल्ला मदानपुर–८ घर भएका ३१ बर्षीय सुरेश भन्ने भक्त तामाङ्ग र भोजपुर जिल्ला खावा–९ घर भएका २३ बर्षीय सुखद भन्ने दीर्घराज राई रहेका छन् ।
गत चैत–१२ गतेदेखि हराईरहेका पन्तको भाई तथा आफन्तहरुसंग अपरिचित व्यक्तिहरुले पटक÷पटक फोन मार्फत ठकेदार पन्तको रिहाईका लागि ५० लाख माग गरेका थिए ।
उनीहरुले भारतीय मोबाईल नम्वरबाट पटक/पटक फोन गरेर आफन्तलाई पन्तको रिहाईका लागि ५० लाख नगद नदिए मारी दिने धम्धी दिने गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले ठेकदार पन्तलाई चावहील गणेश स्थान नजिक रहेको ग्रीनवेज रेष्टुरेण्टमा वोलाएको अपहरण गरेका थिए । रेष्टुरेण्टमा आईसके पछि सो रेष्टुरेण्ट संचालक सोमबहादुर श्रेष्ठले सिजोपिन नामक औषधी ६ ट्याव्लेट रेडबुलमा मिसाई पन्तलाई खान दिएका थिए ।
औषधी मिसाएको रेडबुल खाए पश्चात पन्त वेहोश भएका हुन् । बेहोस पन्तलाई उनीहरुले सोही दिन राति नै हत्या गरेको बयान समेत दिएका छन् ।
रेष्टुरेण्ट सञ्चालक श्रेष्ठको सहयोगमा हत्या गरिएका ठेकदार पन्तलाई ककनी लगेर गाडेको बयान पक्राउ परेका पाँचै जनाले दिएको प्रहरीले उल्लेख गरेको छ ।
पन्तलाई ककनीमा गाडेपछि सुनसरी हुँदै नेपाल भारत वोर्डर छेउ गई उनीहरुले भारतीय नम्बरवाट मृत्तकका नातेदार लगायत व्यवसायीक पार्टनरहरुलाई पटक/पटक फोन गरेर पन्त अपहरणमा परेको र फिरौती वापत ५० लाख माग्ने गरेका थिए ।
प्रहरीले उनीहरुबाट लट्टाउन प्रयोग गरिने औषधी सिजोपिन ७ ट्याव्लेट, फिरौती माग गर्न प्रयोग गरिएको नेपाली तथा भारतीय सीमकार्डहरु  लगायतका सामान बरामद गरेको छ ।

प्रतिक्रिया