पेरिसडाँडालाई ऋणले सतायो

काठमाडौं, १५ वैशाख । एकीकृत नेकपा (माओवादी)ले चार वर्षअघि पार्टी कार्यालय राख्न पेरिसडाँडामा घरजग्गा किन्दा लागेको ऋण अझै चुक्ता गरिसकेको छैन । त्यतिबेला पार्टीका लागि सहकारीबाट ऋण निकालिदिने नेताले जग्गा बेचिदिने धम्की दिएका छन् ।
माओवादीले काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा ०६४ सालमा २ रोपनी ८ आना क्षेत्रफलमा रहेको भव्य घर दुई करोड ७२ लाख रुपियाँ हालेर किनेको थियो । त्यसको एक वर्षपछि त्यही घरजग्गासित जोडिएको थप १२ आना २ पैसा जग्गा एक करोड ७२ लाख ५० हजार रुपियाँमा खरिद गरेको थियो । सो जग्गामा अहिले माओवादीले क्यान्टिन सञ्चालन गरेको छ ।
माओवादी भ्रातृसंगठन उद्योग व्यापार महासंघका अध्यक्ष तथा मजदुर संगठनका तत्कालीन केन्द्रीय सदस्य शिव कट्टेलको अगुवाइमा घरजग्गा खरिद गरिएको थियो । पछिल्लोपटक जग्गा किन्दा कट्टेलको नाममा ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी संस्था लिमिटेडबाट एक करोड २५ लाख रुपियाँ ऋण लिइएको थियो । सो जग्गा कट्टेलकै नाममा छ । माओवादीले ऋण तिर्न नसकेपछि सहकारीले कट्टेललाई च्यापिरहेको छ । पटक–पटक ताकेता गर्दा पनि पार्टीले पैसा नदिएपछि कट्टेलले जग्गा बेचेर ऋण तिर्ने चेतावनी दिएका हुन् ।
स्रोतका अनुसार माओवादीले ऋण लिएको रकमको दुई वर्षको ब्याज करिब २२ लाख रुपियाँ त तिरेको थियो तर पछिल्ला दुई वर्षमा ब्याजसमेत तिरेको छैन । कट्टेलले माओवादी अध्यक्ष दाहाललाई मौखिक मात्रै होइन, लिखित पत्र नै बुझाएर दबाब दिएका छन् । तर, अध्यक्ष दाहालले आफूलाई ‘तपाईं त अर्कै खेमा (वैद्य समूह)मा लागिसक्नुभयो, उतैबाट माग्नुस्’ भनेर उल्टै थर्काएको कट्टेलले बताए ।
पार्टीभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा कट्टेल वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहतिर लागेका हुन् । जग्गा किन्न सहकारीबाट ऋण झिक्न भने अध्यक्ष दाहालले नै उनलाई अह्राएका थिए । ‘केही दिनभित्रै जनमुक्ति सेनाको पैसा आउने र ऋण चुक्ता गर्ने’ त्यतिबेला दाहालले कट्टेललाई बताएका थिए ।
‘अध्यक्षले त्यतिबेला अहिले हामीसँग पैसा छैन, अब केही दिनमै पिएलए (जनमुक्ति सेना) को पैसा आउँदै छ, त्यसैबाट मिलाउँला, अहिले व्यवस्था गर्नोस् भन्नुभएको थियो,’ कट्टेलले सौर्यसँग भने । अहिले सहकारीले आफूलाई दिनदिनै ताकेता गर्नुका साथै धम्कीसमेत दिइरहेको उनको भनाइ छ ।
‘अध्यक्ष कमरेडलाई म त सडकमै आइसकें, सडकमा पनि बस्न देलान्जस्तो छैन के गरौँ भनेको थिएँ । तर, उहाँले तपाईं अर्काे खेमामा गइसक्नुभयो उतैबाट रकम लिनुस् भन्ने ठाडो जवाफ दिनुभयो । म त रनभुल्लमा परेँ,’ कट्टेलले भने ।
यसरी किनिएको थियो घर–जग्गा
भीम धाख्वा नामका व्यापारीको घरजग्गा माओवादीले दुई करोड ७२ लाख रुपियाँमा खरिद गरेको थियो । माओवादीले भ्रातृसंगठन अखिल नेपाल ट्ेरड युनियन महासंघको नाममा घर–जग्गा पास गरेको छ ।
धाख्वाले होटल चलाउने उद्देश्यले काठमाडौं सहर देखिने अग्लो ठाउँ पेरिसडाँडामा सो घर बनाएका थिए । घर बनाउँदा उनले राष्ट्रिय वाणिज्य बैंक र विभिन्न व्यक्तिसित ऋण लिएका थिए । तर, होटल राम्ररी सञ्चालनमा नआउँदै उनी सुन तस्करी काण्डमा फसे । त्यसपछि उनको व्यापार झन् चौपट भएको थियो । धाख्वाले ऋण तिर्न सकेनन् ।
वाणिज्य बैंकले घरजग्गा लिलामीको सूचना निकाल्यो भने धाख्वालाई ऋण दिएकाहरूले ‘धाख्वापीडित संघ’ नै गठन गरे । धाख्वाले आफूहरूसँग लागेको ऋण चुक्ता नहुन्जेल बैंकले उक्त घर लिलाम गर्न नपाउने भन्दै पीडितहरूले अवरोध गरेपछि किचलो झन् बढ्यो ।
माओवादी शान्तिप्रक्रियामा आएपछि कट्टेलको अगुवाइमा केन्द्रीय कार्यालयका लागि घर खरिद गर्ने प्रक्रिया अघि बढ्यो । त्यसका लागि धाख्वाले वाणिज्य बैंकलाई तिर्न बाँकी २ करोड र धाख्वापीडित संघ गठन गरेका ९ जनालाई ४० लाख रुपियाँ दिने सर्तमा घर–जग्गा खरिद गर्ने सहमति कट्टेलले नै गराएका थिए । स्रोतका अनुसार त्यतिबेला महासंघका नाममा घर सकार्नका लागि ऋण न्यायाधिकरण कार्यालयमा चार लाख, मुद्दा राफसाफका लागि पुनरावेदन अदालत पाटनमा दीपक भन्ने व्यक्तिलाई एक लाख ७५ हजार तथा राजस्व कार्यालयमा ७७ हजार दिएर घरजग्गा पास गरिएको थियो ।
वाणिज्य बैंकको करिब २ करोड तिरिएको भए पनि धाख्वापीडित संघका ९ जनालाई दिने भनी कबोल गरिएको ४० लाख रुपियाँ माओवादीले अझै दिएको छैन । पीडितहरू दिनदिनैजसो माओवादी कार्यालय पेरिसडाँडा धाउँछन् र रित्तो हात फर्किन्छन् । ‘धाख्वाबाट त हैरानी पाइएको थियो नै † माओवादीबाट त्योभन्दा ठूलो तनाब र दु:ख पाइयो । पैसा आज दिन्छु, भोलि दिन्छु भनेर टारेका टार्‍यै छन्,’ एक पीडितले भने । उनका अनुसार माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव शक्तिबहादुर बस्नेत तथा तत्कालीन सचिव नारायण दाहालले पटक–पटक पैसा दिने आश्वासन दिए पनि पूरा भएको छैन ।
कट्टेलले सहकारीबाट ऋण लिएको एक करोड २५ लाख साँवा, त्यसको दुई वर्षको ब्याज झन्डै २५ लाख र धाख्वापीडित संघका सदस्यलाई दिन कबोल गरिएको ४० लाखसहित करिब दुई करोड रुपियाँ केन्द्रीय कार्यालयले तिर्न बाँकी छ ।
माओवादीका तत्कालीन कार्यालय सचिव तथा केन्द्रीय सदस्य नारायण दाहालले घरजग्गा खरिदका विषयमा महासचिव रामबहादुर थापा बादलले जवाफ दिनुपर्ने प्रतिक्रिया दिए । जग्गा किन्दाको साक्षी आफू भए पनि त्यसको केही समयमै केन्द्रीय कार्यालयबाट सरुवा भएको उनले बताए । ‘जग्गा किनेको केही समयमै म सरुवा भएको हुँ । कार्यालयमा ढुंगा ओछ्याउने काम त बादलजीको सहमतिमा भएको छ भने अहिले यो विषयमा पनि उहाँले जवाफ दिनुपर्‍यो नि †’ दाहालले सौर्यसँग भने ।

प्रतिक्रिया