माओवादीले जातीय राज्य भनेको छैनः गजुरेल

काठमाडौं, १४ वैशाख । एकीकृत माओवादीका सचिव सीपी गजुरेलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति मुलुकका लागि घातक हुने बताएका छन् ।
शासकीय स्वरुपमा प्रमुख दलहरुवीच ‘मिश्रित प्रणाली’बारे छलफल चलिरहेका बेला गजुरेलले राष्ट्रपति पनि व्यवस्थापिका संसदकै मातहत हुनुपर्ने बताएका हुन् । उनले भने, ‘राष्ट्रपतिलाई संसद भन्दा माथि राखे निरंकुश हुने खतरा रहन्छ ।’
राजधानीमा आज आयोजित साक्षात्कारमा सचिव गजुरेलले प्रत्यक्ष निर्वाचित भए पनि राष्ट्रपतिलाई व्यवस्थापिका संसदकै मातहतमा ल्याउनु उपयुक्त हुने बताए ।
कुनै व्यक्तिका लागि राष्ट्रपति पद पहिल्यै बुक गरेजस्तो गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्ष र विपक्षमा मत प्रकट भईरहेको भन्दै गजुरेलले भने, ‘पहिल्यै कसैका लागि राष्ट्रपति  पद ठिक्क पारेजस्तो गरी बहस भईरहेको छ ।’
प्रत्यक्ष निर्वाचित राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति सबै संसदीय व्यवस्थाभित्रकै विविध रुप भएको भन्दै उनले मुलुकका लागि कार्यकारी प्रधानमन्त्रीसहितको संसदीय व्यवस्था नै उपयुक्त हुने बताए ।
आफूहरु जातीय राज्यको पक्षमा नभएको गजुरेलको भनाई छ । ‘माओवादीले कहिल्यै जातीय राज्यको कुरा गरेकै छैन’, उनले भने, ‘जातीय पहिचानलाई मुख्य आधार बनाएर राज्यको पुनर्संरचना गर्नुपर्छ, जातीय राज्य बनाउने होइन ।’
बढी जनसंख्या भएका बाहुन र क्षेत्रीका बारेमा अन्तरिम संविधानमा भूल भएको सचिव गजुरेलले बताएका छन् । उनले ३२ प्रतिशत जनजंख्यालाई ‘अन्य’ शीर्षकमा राखेर ठूलो गल्ती गरेको भन्दै गजुरेलले त्यसलाई सच्याउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया