प्रधानमन्त्रीको हेपाइमा मुख्यसचिव

काठमाडौं,१४ वैशाख । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजामती प्रशासनसँग सम्बन्धित काममा मुख्यसचिव माधवप्रसाद घिमिरेलाई पूरै ‘बाइपास’ गर्न थालेका छन् । मुख्यसचिवको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै भट्टराईले सबै जिम्मेवारी सचिव लीलामणि पौड्याललाई दिने गरेको स्रोतले बताएको छ ।
कानुनत: मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयनका लागि मुख्यसचिवमार्फत सम्बन्धित निकायमा ‘सर्कुलेट’ हुनुपर्ने हो । तर, प्रधानमन्त्री भट्टराईले मुख्यसचिवलाई छलेर महत्त्वपूर्ण सर्कुलर सचिव पौड्यालमार्फत पठाउने गरेका छन् । मुख्यसचिव घिमिरेलाई विभिन्न मन्त्रालयमा पठाइएका यस्ता सर्कुलरबारे जानकारी नै हुंदैन । प्रधानमन्त्रीको रबैयाप्रति मुख्यसचिवले आफ्ना निकटस्थहरूसँग दिक्दारी व्यक्त गर्ने गरेको स्रोतले जनायो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भट्टराईले मुख्यसचिवलाई थाहै नदिई पौड्यालसित छलफल गरेर सरकारका विभिन्न योजना बनाउने गरेका छन् । कर्मचारीको सरुवा तथा बढुवा, नियुक्तिजस्ता कार्य पनि उनले सचिव पौड्यालमार्फत गर्दै आएका छन् । मुख्यसचिव घिमिरेले कामभन्दा बढी गुनासो गर्ने गरेको तथा सरकारको निर्देशन चुपचाप पालना नगरी कानुनी अड्चन देखाएर सरकारलाई असहयोग गरेको आरोप प्रधानमन्त्रीको छ ।
‘मैले दिएको निर्देशन मुख्यसचिवले कर्मचारी संयन्त्रमा हुबहु लागू गराउनुपर्ने हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै निजी सचिवालयका एक सदस्यले भने, ‘तर मुख्यसचिवबाट सहयोगभन्दा पनि आलटाल र असहयोग मात्र पाएँ ।’ मुख्यसचिवले असहयोग गरेकाले नै प्रधानमन्त्रीले
सचिव पौड्यालबाट काम गराउँदै आएको ती सदस्यले बताए ।
प्रधानमन्त्री कार्यालयका एक सचिवले पनि पौड्याल प्रधानमन्त्री भट्टराईका सबैभन्दा विश्वासपात्रका रूपमा देखिएको भन्दै घुमाउरो असन्तुष्टि प्रकट गरे । ‘प्रधानमन्त्रीले उहाँ(सचिव पौड्याल)बाटै सबै काम गराउनुहुन्छ,’ ती सचिवले सौर्यसँग भने । पौड्यालले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनका लागि आफूखुसी अन्य सचिव तथा विभागीय प्रमुखहरूलाई फोनमार्फत मौखिक निर्देशनसमेत दिने गरेको ती सचिवको भनाइ छ ।
प्रधानमन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठ प्रधानमन्त्रीले मुख्यसचिवसँग मात्र नभएर कार्यालयका अन्य सचिवबाट पनि परामर्श लिन सक्ने बताउँछन् । ‘प्रधानमन्त्रीले आवश्यक ठानेमा जोसँग जतिखेर पनि छलफल गरेर सरकारको निर्णय लागू गराउन निर्देशन दिन सक्नुहुन्छ,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको निर्देशनअनुसार सचिवहरूले अन्य निकायमा सर्कुलर गर्न सक्छन् ।’ प्रधानमन्त्रीको स्वकीय तथा प्रशासनिक क्षेत्रका महत्त्वपूर्ण जिम्मेवारी सचिव पौड्याललाई दिइएकाले उनको भूमिका बढी देखिएको श्रेष्ठले बताए ।
मुख्यसचिव घिमिरेले भने यस विषयमा केही बोल्न चाहेनन् । सौर्य संवाददातासँगको फोन सम्पर्कमा उनले भने, ‘यस विषयमा मलाई केही जानकारी छैन । म निजामती सेवा र सरकारको नियम–कानुनअनुसार काम गरिरहेको छु । कसले के भन्छ, त्यतातिर लाग्दिनँ ।’
उता, सचिव पौड्यालले भने प्रधानमन्त्रीको निजी सचिवालय र प्रशासन आफूले हेर्ने भएकाले प्रधानमन्त्रीसँग दैनिक छलफलमा सहभागी हुने गरेको बताए । ‘प्रधानमन्त्रीले विभिन्न पक्षसँग गर्ने भेटघाटका क्रममा दिने निर्देशनमा म पनि सहभागी हुने भएकाले त्यस्तो निर्देशन कार्यान्वयन गर्न गराउन सम्बधित निकायलाई भन्ने गरेको छु,’ सचिव पौड्यालले भने, ‘म एकछिन पनि खाली भएर बस्ने मानिस होइन, कुनै न कुनै काम गरिरहेको हुन्छु, अरूलाई त्यो मन नपरेको हुन सक्छ ।’ क्याबिनेटबाट भएका निर्णय कार्यान्वयन गर्न लगाउने र क्याबिनेटमा प्रस्ताव तयार गर्ने काममा आफूले मुख्यसचिवलाई कतै हस्तक्षेप नगरेको उनले प्रस्ट्याए ।
यसअघि प्रधामन्त्री कार्यालयमा पुगेका सचिवहरू सक्रिय भएको आफूले नपाएको जिकिर गर्दै पौड्यालले भने, ‘प्रधानमन्त्री, मुख्यसचिव र मबीचको सम्बन्धप्रति ईष्र्या गर्नेहरूले अनेक हल्ला चलाएका होलान् ।’
स्रोतका अनुसार मुख्यसचिव घिमिरेले आफूलाई प्रधानमन्त्रीले बाइपास गरेको गुनासो निकट सचिवहरूसँग गर्ने गरेका छन् । मुख्यसचिवको भनाइ उद्धृत गर्दै एक सचिवले भने, ‘प्रधानमन्त्रीले निजामती सेवामा दोहोरो भूमिका खेल्नुभएकाले काम गर्न निकै अप्ठ्यारो परेको छ ।’ सचिव पौड्यालबाट प्रधानमन्त्रीले आफू र पार्टीको नीतिअनुकूलका निर्देशन सर्कुलर गरेको र त्यसले कर्मचारीतन्त्र तहसनहस बनाएको घिमिरेको आरोप छ ।
‘प्रधानमन्त्री कार्यालयबाट भएका कतिपय निर्णय अन्य सचिवबाट जानकारी पाउँछु,’ मुख्यसचिवको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री कार्यालयका एक सचिवले भने, ‘अहिले म नाम मात्रको मुख्यसचिव हुँ, पदमा म छु, काम गर्ने अरू नै छन् ।’
त्यसो त, एमालेनिकट मानिएका मुख्यसचिव घिमिरेलाई प्रधानमन्त्री नियुक्त भएको महिना दिनभित्रै भट्टराईले हटाउन खोजेका थिए । उनले घिमिरेलाई आफ्नै कार्यकक्षमा बोलाएर जिम्मेवारीबाट हटेर सहयोग गर्न भनेको स्रोतले बतायो । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मुख्यसचिव निकट एक सचिवले भने, ‘तपार्इं मुख्यसचिवबाट हट्नुस्, ममाथि ठूलो दबाब आएको छ । मुख्यसचिवबाट हटेमा म तपाईंले नै रोजेका अन्य निकायमा महत्त्वपूर्ण जिम्मेवारी दिन्छु ।’ स्रोतका अनुसार प्रधानमन्त्रीले घिमिरेलाई लगानी बोर्डको प्रमुख बनाउने वचन दिएका थिए । तर, घिमिरेले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ पनि मुख्यसचिव हटाउन विभिन्नखाले दबाब आएको बताउँछन् । ‘प्रधानमन्त्रीसँगको भेटमा विभिन्न व्यक्ति तथा सचिवले मुख्यसचिव हटाउन आग्रह गरेका थिए,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले चाहेमा मुख्यसचिवलाई कुनै पनि बेला हटाउन सक्नुहुन्छ ।’ मुख्यसचिव घिमिरेले आगामी २२ साउनमा अनिवार्य अवकाश लिँदै छन् ।

प्रतिक्रिया