अधिकांश पेट्रोल पम्प बन्द

विराटनगर, १२ वैशाख । पेट्रोलियम पदार्थको अभावका कारण पूर्वाञ्चलमा सञ्चालित अधिकांश पेट्रोल पम्प बन्द भएका छन् ।

नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर डिपोले डिजेल उपलब्ध नगराउँदा उपभोक्ता र पम्प दुवै समस्यामा परेका हुन् । पूर्वाञ्चलमा करिब दुई सय ५० भन्दा बढी पेट्रोलियम पदार्थअन्तर्गत डिजेलको बिक्री वितरण गर्ने पम्प रहेको र तिनीहरुमा डिजेलको मौज्दात उपलब्ध नहुँदा पम्प बन्द गर्नुपरेको गुनासो छ ।
इन्डियन आयल कर्पोरेसनलाई नेपाल सरकारले बक्यौता रकम नतिरेको र थप बाँकी रकम पनि बढ्दै गएकाले भारतले पेट्रोलियम पदार्थ आयातमा कटौती गरेपछि पूर्वाञ्चलमा डिजेललगायत पेट्रोलियम पदार्थको अभाव रहेको निगमका पूर्वाञ्चल प्रमुख दीपक बरालले बताए । डिजेल मौज्दात रहेका पम्पमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ भने डिजेल कालाबजारी पनि बढेको गुनासो बढ्न थालेको छ । ८८ रुपियाँ प्रतिलिटर बिक्री हुने डिजेल लुकिछिपी एक सय रुपियाँभन्दा बढीमा प्रतिलिटर बिक्री वितरण हुने गरेको छ ।
अर्कातिर लोडसेडिङका कारण मारमा परेका उद्योगलाई आयल निगमले डिजेल उपलब्ध नगराउँदा उद्योग पनि बन्द हुने अवस्थामा रहेको व्यवसायीले बताएका छन् । पूर्वाञ्चलमा दैनिक दुई लाख लिटर डिजेलको आवश्यकता छ । पूर्वाञ्चलमा विहारको बरौनी रिफाइनरीबाट पेट्रोलियम पदार्थ आयात गरिन्छ ।

प्रतिक्रिया