त्यो काली !

नेपाली चलचित्रमा चिनाइरहनुपर्ने नाम होइनन्, निर्माता–निर्देशक नरेश पौडेल । थुप्रै चलचित्रमार्फत नयाँ कलाकारलाई प्रवेश गराएर नायक–नायिका बनाएका छन् उनले । नायिका तुलसा सिलवाल, लक्ष्मी बोहोरा, पूजना प्रधान, नवीन श्रेष्ठ, अरुणिमा लम्साल, ममता प्रधान, रेखा थापा उनकै चलचित्रबाट डेब्यु भए । धेरै जना सफल पनि भए । नरेश यतिखेर आफ्नो निर्देशनमा बनेको चलचित्र हिरोका प्रसंगहरू सम्झँदै छन्, जसले उनलाई एउटा गज्जबको अनुभूति गराउँछ :
२०५६ वैशाख । हिरोको छायांकन तयारी हुँदै थियो । त्यसैमा जुटिरहेको थिएँ । निर्माणमा छवि ओझा पार्टनर थिए । सम्पूर्ण तयारी गरेर कलाकार छनोटका क्रममा थिएँ । कलाकार अलि बढी नै चाहिन्थे । नायकमा राजेश हमाल र हिरोनीकी आमाको रोलमा गौरी मल्ललाई छानिसकेको थिएँ । एक नायक र तीन नायिका छान्न बाँकी नै थियो । तीमध्ये नायिका सुशीला रायमाझीकी छोरी प्रसिद्धिका छानिइन् । दुई नायिका अझै बाँकी थिए । बानेश्वरमा निर्देशक सागर ढुंगेलको अफिस थियो । गोपालराज मैनालीकी छोरी सज्जा र नवीन श्रेष्ठलाई हेर्न म त्यहाँ पुगेँ । त्यहीँ रहेछन् पूर्वका एक चलचित्रकर्मी गणेश थापा । उनले ‘तपाईंलाई हिरोनी चाहिएको रहेछ, मेरी बहिनी पर्ने एउटी केटी छ, ल्याऊँ त’ भने । मैले भनेँ, ‘भोलि अफिसमा ल्याऊ न त ।’
भोलिपल्ट मभन्दा पहिल्यै उनी अफिस पुगिसकेका रहेछन् । उनका साथमा एउटी पातली, पुड्की, गाला ठूलो भएकी, असुहाउँदो ड्रेसमा कपाल रंगाएकी केटी थिई । गणेशले परिचय गराए । त्यो केटीलाई निकै नियालेँ, कुनै पनि एंगलबाट हिरोनीजस्ती देखिनँ । उसको आँखा घुमाउने शैली भने मलाई मन पर्‍यो । उसलाई भनेँ, ‘के लाग्छ, नायिका बन्न कपाल रंगाउनैपर्छ, जिन्स पाइन्ट लाउनैपर्छ ?’ मेरो कुरा सुनेर ऊ लजाई । भोलिपल्ट कपाल कालो पारेर सिम्पल ड्रेसमा आउनू भन्दै फर्काइदिएँ ।
भोलिपल्ट मैले भनेजस्तै गरेर आइपुगी, तर मलाई किनकिन चित्तै बुझेन । तैपनि छायांकनमा जान हतार भएकाले उसलाई कुसुम भन्ने पात्रमा अभिनय गराउने निधो गरेँ । उसलाई अफिसमै एक्टिङ पनि सिकाएँ । निरुता सिंहसहित तीन नायिका नयाँ लिएको हल्लाले चलचित्रको सुटिङ हेर्न थुप्रै सिनेकर्मी आइपुग्थे । ती कसैले पनि त्यो केटीप्रति राम्रो कमेन्ट गर्दैनथे ।
एक त साथीहरूको राम्रो कमेन्ट नहुनु, अर्कोतर्फ सुरुमै उसको लुगा र कपाल देखेर दिक्क लाग्नु । यही कारणले ६० लाखको लगानी खतरामा त पर्ने हैन † सोचेँ, ‘हैन, यसलाई पहिला गीत गराउँछु । राम्रो गरे चलचित्रमा राख्छु, नत्र पठाइदिन्छु ।’
गीत थियो– तिम्रो मन त चक्कु छुरी यो मन सारंगी । नायक राजेश हमाल थिए । त्यो केटीले पहिलो दिनको ५–७ सट सोचेभन्दा राम्रो पो गरी, पुरानो आर्टिस्टले जस्तै । प्रदीप श्रेष्ठलाई नृत्यनिर्देशनको जिम्मा लगाएर छेवैमा हेरेर बसेँ । केही समयपछि त्यो केटी मेरो छेउमा आएर केही भन्न खोजेझैँ गरी । सोधँे, ‘के भयो ?’ उसले भनी, ‘मलाई राजेश हमालको बुइ चढ्न मन लागेको छ ।’ सोचेँ, ‘नयाँ केटी, एउटा सट खिचाइदिऊँ क्यारे । राम्रै गरी भने ठीकै छ नि त †’ नृत्यनिर्देशकलाई बोलाएर त्यो सट खिच्न भनेँ र म अन्तै लागेँ ।
फर्केर आउँदा सुटिङ प्याकअप गर्ने बेला भएको थियो । सबै जना चिया खानतर्फ लागेका थियौँ । ऊ फेरि डराउँदै आएर भनी, ‘सर त्यो सिन त खिचिएन त †’ मैले नृत्यनिर्देशकलाई बोलाएर ‘त्यो सिन खिचाउनू, काम लागे लाग्छ, नलागे सेफ्टी सट हुन्छ’ भनेँ । नभन्दै केटीले त्यो सिन सोचेभन्दा राम्रो गरी ।
गानाको सुटिङ सकाएपछि पनि भिजुअलमा राम्रो देखिए उसलाई राख्छु, नभए दुई दिनको सुटिङ खेरै जाओस् अर्को आर्टिस्ट खोजौँला भन्ने सुरमा पुगेँ । म गीतको एडिटिङतर्फ लागेँ । गाना तयार हुँदा उसैले भनेर खिचिएको त्यो सिन राम्रो लाग्यो, ऊ पनि राम्री लागी, गाना पनि धेरै राम्रो पो बनेछ । मैले उसलाई तुरुन्तै फोन गरेँ र भनेँ– ‘तँ तीन वर्षमै नम्बर वान हिरोइन बन्छेस् काली †’
चलचित्रको प्रमोसनमा मैले त्यही गीत मिडियामा पठाएँ । गीत हिट भयो, गीतका माध्यमले चलचित्र हिट भयो । त्यो केटी हिट भई । तीन वर्षपछि नभन्दै ऊ नम्बर वान हिरोइन भई । मैले उसलाई फोन गरेर भनेका ती शब्द सम्झिएँ ।
त्यस बेलादेखि मलाई लाग्यो– कलाकार दुईथरीका हुन्छन् । एउटा जन्मजात, अर्काे कृत्रिम । त्यो काली जन्मजातै नायिका बन्ने खालकी रहिछ । पछि उसको चर्चा देखेर मलाई भगवान्ले नै उसलाई कलाकार बनेर खा भनेर पठाएजस्तो लाग्यो । त्यसपछिका चलचित्रमा उससँग जति पनि काम गरेँ, मैले उसलाई केही सिकाउनुपरेन । त्यो कालीसँग भेट भएको त्यो दिन, उसको प्रतिभा अनि उसको आजको स्ट्याटस सम्झँदा अचम्म लाग्छ । त्यो काली अर्थात् रेखा थापा ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया