शरणार्थी महिला अनशनमा

झापा, १३ वैशाख । संयुक्त प्रमाणीकरणमा छुटेका र सहायताबाट वञ्चित बेलडाँगीका भुटानी शरणार्थी महिला अनशनमा बसेका छन् । राहत र परिचयपत्र मागसहित उनीहरु आन्दोलित भएका हुन् । राहतबाट वञ्चित पीडित शरणार्थी महिला समूहकी संयोजक दुर्गादेवी विष्टको अगुवाइमा ६ महिलाले शरणार्थी शिविरमा अनशन सुरु गरेका हुन् ।

उनीहरु २९ कात्तिकदेखि १० मंसिरसम्म पनि अनसन बसेका थिए । त्यतिखेर पाँच महिनाभित्र माग पूरा गर्न पहल गर्ने सहमतिपछि अनशन तोडिएको थियो । विष्टले भनिन्, ‘पाँच महिनामा पूरा गर्ने आश्वासन दिइए पनि पूरा नभएपछि पुन: आन्दोलित भएका छौँ ।’
तत्कालीन सहायक सिडिओ योगेन्द्र दुलालले पाँच महिनाभित्र माग पूरा गराउने सहमति गराएका थिए । झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीमध्ये परिचयपत्र सहायता संस्थाबाट पाउने राहत नपाउने तीन हजार सात सय ४९ छ । राहत वञ्चित शरणार्थी समूहका अध्यक्ष नन्दु पौडेलले विगतमा विभिन्न आश्वासन दिइए पनि वास्तविक शरणार्थीले परिचयपत्र र राहत नपाएको बताए । उनले भने, ‘राहत माग्दै कैयौँपटक आन्दोलनसमेत गर्‍यौं तर आश्वासनबाहेक केही पाइएन ।’ संयुक्त प्रमाणीकरणका समयमा कतिपय रोजगारीका लागि शिविर बाहिर गएका कारण परिचयपत्र पाएका छैनन् । विष्टले परिचयपत्रको अभावमा शरणार्थीले पाउँदै आएको सुविधा नपाएको बताइन् ।

प्रतिक्रिया