नक्कली डाक्टरको बिगबिगी

विराटनगर, १३ वैशाख । विराटनगरमा नक्कली डाक्टरको धन्दा फस्टाएर गएको छ । बलियो कानुनी कारबाहीको आधार नहुँदा नक्कली डाक्टरले नाम चलेका अस्पतालमा आउने बिरामीलाई समेत आफ्नो क्लिनिकमा ल्याउन दलाल परिचालन गरेर ठगी धन्दा चलाएका छन् ।

झापा धुलाबारीकी पम्फा घतानी कोसी अञ्चल अस्पताल विराटनगर आएकी थिइन् । तर, उनलाई दलालहरुले पुर्‍याए विराटनगर रंगेलीरोडस्थित डा पिके शर्माको क्लिनिकमा । छालाको उपचारका लागि आएकी घतानीले भनिन्, ‘रगतलगायत सबै परीक्षण गराएर पाँच हजार रुपियाँको औषधि दिए ।’
प्रफुल्लकुमार नामले चिनिएका डाक्टरले नाम फेरेर ठगी धन्दा सुरु गरेका हुन् । उनले डा पिके शर्मा लेखेर उपचार सुरु गरेका छन् । ठगी आरोपमा बदनाम भएपछि उनले अहिले पिके शर्मा लेखेर पुन: ठगी सुरु गरेका छन् । उजुरी परेपछि उनी फरार भएका छन् । उनी ६ महिनाअघि पनि उपचारमा ठगी गरेको आरोपमा सार्वजनिक मुद्दा खेपेर रिहा भएका थिए । ठग डाक्टरले आफ्नो प्रेस्क्रिप्सनमा क्लिनिकको नाम, औषधि र जाँचको विवरण पनि लेख्दैनन् । हस्ताक्षर पनि गर्दैनन् । बिरामीलाई विनापुर्जी र विनालेवलको औषधि दिन्छन् ।
नक्कली सर्टिफिकेटधारी डाक्टरका कारण सर्वसाधारण स्वास्थ्यमा ठगिएका छन् । होमियोपेथिकका डाक्टरले दलाल नै परिचालन गरेर अस्पताल आएकालाई आफ्नो मेडिकलमा ल्याउने र अनावश्यक परीक्षण तथा औषधि दिने क्रम बढेको छ ।
नेपाल होमियोपेथिक चिकित्सक संघका केन्द्रीय अध्यक्ष जीवनप्रकाश शर्मा भन्छन्, ‘होमियोपेथिक चिकित्सकको काउन्सिल नहुँदा ठग ठाक्टरहरुको विराटनगरमा बिगबिगी बढेको छ र सर्वसाधारण ठगिएका छन् ।’
बिरामीले आफू ठगिएको महसुस
गरेर प्रहरी र सिडिओ कार्यालयमा उजुरी गरे पनि डाक्टरले सजिलै उन्मुक्ति पाउने गरेका छन् । सामान्य तारेख र धरौटीमा छुट्नासाथ उनीहरु फेरि सर्वसाधारण ठग्न सुरु गर्छन् । होमियोपेथिक चिकित्सक संघका अध्यक्ष शर्मा भन्छन्, ‘कारबाहीबाट जोगिन यस्तो गरिएको हो ।’
विराटनगरमा  उपचारमा ठगी आरोपमा सबैभन्दा बढी अभयकुमार ठाकुर नामका डाक्टर पक्राउ परेका छन् । ६ महिनाअघि प्रहरीले उनलाई ठगी आरोपमा २५ दिन हिरासतमा लिएको थियो । जिल्ला प्रशासनले पुन: क्लिनिक खोलेर बिरामीको उपचार गर्न नपाउने सर्तमा छाडेको थियो । तर, उनले विराटनगरमै डाक्टर एके ठाकुरको नाममा बिरामीलाई उपचारका नाममा ठगिरहेका छन् । विराटनगरका ठग र नक्कली डाक्टरले नाम चलेका डक्टरकोमा आएका बिरामीलाई आफू नै त्यो डाक्टर भएको बताउन लगाएरसमेत ठगी गरेका छन् । उनीहरुले अस्पताल र नाम चलेका डाक्टरको क्लिनिक र नर्सिङ होम अगाडि दलाल पठाउँछन् । बसबाट ओर्लिएका बिरामीलाई रिक्सा चालकलाई कमिसन दिएर झुक्याई आफूकहाँ ल्याउन लगाउने गरेको समेत पाइएको छ ।
‘ठग र नक्कली डक्टरलाई निरुत्साहन गर्न डाक्टर, कमिसन खाने  रिक्सावाला र दलाललाई कारबाही पनि चलाइएको छ । जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका इन्स्पेक्टर शिव श्रेष्ठ भन्छन्, ‘तर सर्वसाधारण ठगिन छाडेका छैनन् ।’ उनले डाक्टरको ठगीमा प्रहरीलाई मुद्दा चलाउने अधिकार नभएकाले पक्राउ गरेर साधारण ठगी र सार्वजनिक अपराधमा मुद्दा चलाउनुपर्ने बाध्यता रहेको बताए ।
यस्ता ठगी गर्ने डाक्टरलाई अनुगमन गर्ने निकाय नहुँदा ठगी बढेको छ । औषधि व्यवस्था विभागले औषधिको अनुगमन गर्छ भने जनस्वास्थ्य कार्यालय डाक्टर र अस्पतालको अनुगमन गर्नु आफनो दायित्व नभएको जनाएको छ । जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज सुब्बा ठोस नीति नहुँदा नक्कली र ठग डाक्टरलाई कारबाही गर्न नसकिएको बताउँछन् ।
उपभोक्तावादी संगठन पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल स्वास्थ्य उपचारमा भइरहेको ठगी नियन्त्रण गर्न प्रमाणपत्र दिने स्वास्थ्य व्यवसायी परिषद्कै छानबिन आवश्यक भएको बताउँछन् । विराटनगरमा चादसी दबाखाना, होमियोपेथिकदेखि एलोपेथिक नक्कली र ठग डाक्टर बग्रेल्ती छन् । उनीहरुले आफूलाई पुरानो रोग विशेषज्ञ भन्दै भारतका राजस्थान, दिल्ली, कलकत्ता, पटनाको डिग्री लेख्दै आएका छन् ।

 

प्रतिक्रिया