निषेधित प्रवेश गर्ने मुस्लिम अगुवा पक्राउ

काठमाडौं, १२ वैशाख । नयाँ संविधानमा आफ्ना माग समेटिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय, बबरमहलमा धर्ना दिन पुगेका मुस्लिम समुदायका अगुवासहित दुई दर्जन नेता तथा सभासदलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई पूर्व राज्य मन्त्री र सभासद सहित २६ जना रहेको प्रचारप्रसार समितिका प्रमुख जुनैद अन्सारीले जनाए । मुस्लिम अगुवा सदरुल मियाँ अन्सारी, मोहम्मद रिजवान अन्सारी लगायत पक्राउ परेका हुन् ।

राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका पदाधिकारीले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ ।

नयाँ सविधानमा मुलुकका मुस्लिम समुदायका माग समेट्नुपर्ने भन्दै शान्तिपूर्णरुपमा धर्नासहित ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रहरी हस्तक्षेप हुनु मुस्लिमप्रतिको दुव्र्यवहार भएको गठवन्धनका प्रचारप्रसार समितिका प्रमुख अन्सारीले आराप लगाएका छन् ।

संविधानमा मुसलमान समुदायको पृथक पहिचान सुनिश्चित गर्न, संवैधानिक मुसलमान आयोग गठन गर्न, मौलिक हक अन्तर्गत महिला र दलित अधिकारसँगै मुसलमान अधिकार उल्लेख गर्न तथा राज्य पुनःसंरचनामा मुसलमानको पहिचानसहितको सङ्घीयताको व्यवस्था मिलाउन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया