विद्यालयमा नौ लाख भ्रष्टाचार

दाङ, १२ बैशाख । दाङको काभ्रे स्थित महेन्द्र माध्यमिक विद्यालय श्रीवारीका निमित्त प्रधानाध्यापक र लेखा शिक्षकले विद्यालयको ठुलो रकम हिनामिना गरेको खुल्न आएको छ ।
विद्यालयका निमित्त प्रधानाध्यापक हिराबहादुर मल्ल र लेखाशिक्षक शोभाराम विकले पदीय जिम्मेवारीको दुरुपयोग गरी विद्यालयको रकम हिनामिना गरेको अभिभावकहरुले आरोप लगाएका छन् । विद्यालयको नौ लाख भन्दाबढी रकम हिनामिना गर्ने प्रधानाध्यापक र लेखा शिक्षकलाई अभिभावकहरुले कारवाहीको माग समेत गरेका छन ।
निमित्त प्रधानाध्यापक मल्ल र लेखा शिक्षक बिकको मिलेमतोमा विद्यालयको नौ लाख  ३७ हजार ६ सय ६० रुपैया हिनामिना भएको भन्दै उनीहरुले आवश्यक थप छानविन गरी कारवाही गर्न माग गरेका छन । गत माघ १२ गते बसेको संयुक्त बैठकले विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष भिमबहादुर केसीको संयोजकत्वमा छानविन समिति समेत गठन गरिएको थियो ।
छानविन समितिले निमित्त प्रधानाध्यापक मल्ल र लेखा शिक्षक बिकको मिलेमतोमा आर्थिक हिनामिना भएको ठहर गरी कारवाहीका लागि विद्यालय व्यवस्थापन समितिलाई सिफारिस गरेको एक महिना बितिसक्दा समेत कारवाही नभएको स्थानीय आभिभावकहरुले गुनासो गरेका छन । “विद्यालयमा भ्रष्टाचार भएको छ ।” समितिका अध्यक्ष भिमबहादुर केसीले भने”तर पनि विद्यालयले कारवाही गर्न सकेको छैन ।”
घटनाबारे अध्ययन गर्न गठित समितिले विद्यालयमा आर्थिक अनिमितता भएको ठहर गरी सात बंुदे सुझाव समेत दिएको छ । प्रतिवेदनमा पदीय जिम्मेवारीको दुरुपयोग गर्ने दुवै शिक्षकलाई तत्काल कारवाही थाल्न माग गरिएको छ । प्रतिवेदनमा छात्रवृत्तिको रकम पुरा नवांडेको, आर्थिक बर्ष सकिदा समेत बचत रकमलाई आम्दानीमा नदेखाएको,सामान खरिद पारदर्शी रुपमा नराखिएको,आम्दानी, खर्चको विल भरपाइ क्रमवद्ध रुपमा नराखिएको उल्लेख गरिएको छ ।
स्थानिय अभिभावक केदारनाथ पौडेल भन्छन्”विद्यालयमा भ्रष्टाचार भएको छ ।” उनीहरुलाई कारवाहिको लागि हामी कराउने मात्रै भएको छ कसै वास्ता गरेका छैनन् ।”

प्रतिक्रिया