‘पुँजी र उद्योगपति पलायन’

राजेन्द्र खेतान चर्चित उद्योगपति त हँदै हुन्, साथै सभासद् पनि । खेतान ग्रुप अफ कम्पनीअन्तर्गत गोर्खा ब्रुअरी, हिमालयन स्न्याक्स एन्ड नुडल्स, लक्ष्मी बैंक, एभरेस्ट इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, म्युचियल ट्रडिङ कम्पनी, हिमालयन पेट्रोकेमिकल्स, हिमालयन एग्रिकल्चर प्रालिलगायत कम्पनी रहेका छन् । त्यसैगरी बोट्लर्स नेपाल र हिमालयन बैंकको मुख्य सेयरधनीको रूपमा खेतान ग्रुप रहेको छ ।
सो समूहका अध्यक्ष खेतान उद्योग व्यवसायमा पहिलेका तुलानमा अहिले केही निराशावादी देखिएका छन् । उद्योग व्यवसाय सञ्चालनको अवस्था दयनीय रहेको उनको बुझाइ छ । संक्रमणकाल र विभिन्न व्यक्तिले शक्तिको दुरुपयोग गरेका कारण यस्तो अवस्था देखिएको उनी बताउँछन् । अहिले बन्द–हडतालले जन्माएको स्थिति छ भने श्रम, करप्रशासन, प्रशासनिक हस्तक्षेप, राजनीतिक तहको समस्याजस्ता कारणले उद्योग–व्यवसाय सञ्चालनमा समस्या देखिएको उनको भनाइ छ ।
आपैँm सभासद्समेत भएको हँदा उनले सरकारलाई निजी क्षेत्रका तर्फबाट विभिन्न सुझाव दिए पनि सो सुझाव कार्यान्वयनमा आउन नसकेको गुनासो पनि उनको छ । तर पनि उनी यसमा सरकारलाई मात्रै दोष दिँदैनन् । यो सबैको कारक सामाजिक परिवेश पनि रहेको उनको तर्क छ ।
अहिलेको सरकारले नै उद्योगी–व्यवसायीलाई आतंकित बनाइरहेको हो भन्ने सवालमा भने उनी असहमति जनाउँछन् । यो सरकारले नभई सरकारमा सहभागी केही व्यक्तिका कारण यस्तो भएको उनको तर्क छ । निजी क्षेत्रलाई कमजोर बनाउनमा दुई समूह देखिएका छन् । एउटा समूह आयात फस्टाउनेतर्फ लागेको छ । सो समूह हात धोएरै सरकारको पछि लागेको अवस्था छ । त्यही समूह नेपालमा उद्योग–व्यवसाय बन्द होस् भन्ने चाहना राख्छ ।
अर्को भनेको प्रशासनिक झमेला उत्पन्न गराएर उद्योगलाई दु:ख दिने समूह हो । अनावश्यक कागजी प्रक्रियाका कारण उद्योग–व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था क्रमश: हराउँदै गएको छ । आफूजस्तै केही व्यवसायी लगभग जेनतेन टिकिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘वीरगन्ज, विराटनगरलगायत क्षेत्रका उद्योग धमाधम बन्द हुन थालेका छन् । यो क्रम त्यो क्षेत्रमा मात्रै नभई अन्य क्षेत्रका उद्योगको पनि बन्द हुने क्रम जारी छ । यो भनेको उद्योग, उद्योगपति र पुँजी तीनैथोकको पलायन हुनु हो ।’ केही समय अघिदेखि सुरु भएको यो प्रकरणको गति अहिले बढ्दो अवस्थामा छ । ६/७ वर्षदेखि अहिलेसम्मको अवस्थालाई मूल्यांकन गर्ने हो भने एक तिहाइ उद्योग पलायन भइसकेका छन् ।
‘उद्योग र उद्योगी पलायन हुनुको मुख्य कारण भनेको लामो संक्रमणकालीन अवस्था, असुरक्षाको अनुभूति, प्रशासनिक झमेला र अन्य राष्ट्रिय समस्या रहेका छन् ।’ यससँगै उद्योगी–व्यवसायीमा पनि प्रतिस्पर्धात्मक क्षमताको कमी रहेको दाबी खेतानको छ । यस्तो अवस्थाले प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको छ । क्षमतामा ह्रास आउनुको मुख्य कारण भारत र चीनका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु रहेको उनको भनाइ छ ।
यस्तै अवस्था जारी रहेमा औद्योगिक क्षेत्र तहस–नहस हुन सक्छ भन्ने तर्कसँग खेतान असहमति जनाउँछन् । उनको भनाइमा नेपालमा उद्योगधन्दाको अंश धेरै छैन । उद्योग क्षेत्रको देन भनेको केवल १२/१३ प्रतिशत मात्रै हो । यसमा ‘कोर’ उद्योगको देन ६ प्रतिशतको आसपासमा रहेको छ ।
यता सेयरबजार धराशयी हुनुमा भने उनी आपूर्ति बढी भएकै कारण अहिलेको अवस्था सिर्जना भएको बताउँछन् । नेपाली बजारको हैसियतभन्दा सेयर आपूर्ति बढेर अहिलेको अवस्था आएको उनको बुझाइ छ । कुनै समयमा २५ करोडको चुक्ता पुँजी भएका १२/१३ वटा बंैक थिए भने अहिले दुई अर्ब चुक्ता पुँजी भएका बैंकको संख्या ३० भन्दा बढी भइसकेका छन् । ‘यस्तो अवस्थामा सेयरको आपूर्ति कति बढ्यो भनेर आँकलन गर्ने ? यही कारणले गर्दा सेयरबजार माथि आउन नसकेको हो,’ उनी भन्छन् ।
यता भ्याटछलीमा ठूला व्यापारीको नाम जोडिने गरेको सरकारले बताउँदै आएको छ । सरकारले त्यस्ता व्यापारीसँग कर असुल्ने दाबी गरेको छ तर पनि यसमा सरकार र व्यवसायीको व्याख्या आ–आºनै हुन सक्छ । यसको अन्तिम निर्णय न्यायालयले मात्र गर्न सक्ने खेतान बताउँछन् । न्यायालयले निर्णय नगरेसम्म एक–अर्कोलाई दोष लगाउनुभन्दा पनि समस्याको समाधान खोज्नुपर्ने सुझाव उनको छ । ‘सरकारको काम माग्ने हो, निजी क्षेत्रको दिने हो । दिनेका आºनै सीमा हुन्छन् भने माग्नेको पनि आºनै सीमा हुन्छन् । तसर्थ यसको अन्तिम ढोका भनेकै न्यायालय हो,’ उनी तर्क गर्छन् ।
औद्योगिक क्षेत्रमा सबैभन्दा ठूलो समस्याका रूपमा रहेको ट्रेड युयिनन समस्यामा केही परिपक्वता देखिएको खेतान बताउँछन् । यी सबै कुराको दीर्घकालीन समस्या समाधानका लागि सामाजिक सुरक्षा लागू गराएर औद्योगिक शान्ति स्थापना गर्नुपर्ने हुन्छ । यी विभिन्न कारणलाई हेर्ने हो भने उद्योगपति आशावादीभन्दा बढी निराशावादी छन् । तुरुन्तै आशावादी बन्नसक्ने अवस्था नरहेको अनुभव उनको छ । अब उद्योगी–व्यवसायी पनि सेवामूलक व्यवसायमा लाग्नुपर्ने अवस्था आएको खेतानले बताए । ‘जस्तै, कृषि, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा व्यवसायी जानुपर्छ,’ उनी थप्छन् । यस्तो अवस्थमा सरकारले भन्दैमा आर्थिक वृद्धिदर बढ्न सक्दैन । तसर्थ आर्थिक वृद्धिदर बढाउन मध्यकालीन र दीर्घकालीन प्रतिस्पर्धात्मक क्षेत्रको विकास गर्न सक्नुपर्छ तर क्षणिक रूपमा भने केही हुनेवाला नरहेको उनले प्रस्ट पारे । उद्योगपतिको आँखाले हेर्दा देश यथास्थितिमा जाने आँकलन उनको छ ।
प्रस्तुति : उद्धव सिलवाल

प्रतिक्रिया