‘सहमतिका लागि बुधबार सम्मको सीमा’

काठमाडौं, ११ वैशाख । बिवाद समाधान उपसमितिले राज्य पुनर्संरचना र शासकीय स्वरुपमा राजनीतिक सहमति जुटाउन समय अपुग रहेको जनाएपछि संवैधानिक समितिले वैशाख–१३ गते बुधबारसम्मको समय उपलब्ध गराएको छ ।
संवैधानिक समितिको आज सिंहदरबारमा बसेको बैठकले राजनीतिक सहमतिका लागि बुधाबार अपरान्ह एक बजे सम्मको समय उपलब्ध गराएको हो । समिति बैठक बस्नु अघि उपसमितिको बैठक बसेर बुधबार सम्मको समय माग गर्ने निर्णय गरेको थियो ।
बिवाद समाधान उपसमिति संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति जुटाउन समय अभाव रहेको जनाएपछि समितिले बुधबारसम्मको समय उपलब्ध गराएको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।
उपसमिति संयोजक दाहालले संविधानका टुङगो लगाउन बाँकी आधारभुत विषयमध्ये न्याप्रणाली, निर्वाचन प्रणाली र नागरिकताको विषयमा राजनीतिक तहमा गम्भिर छलफल भई सहमति भईसकेको जानकारी समितिलाई गराएका थिए । दाहालले भने, ‘सहमति भएका विषयलाई केवल बिट मार्न मात्र बाँकी रहेको छ ।’
शासकीय स्वरुप र संघीय संरचनाको विषयमा अझै छलफल गर्न बाँकी रहेको भन्दै दाहालले भोली मंगलबार दिनभर राजनीतिक नेतृत्वका बीच छलफल हुने बताए । समितिको अर्को बैठक अब बुधबार एक वजे बस्ने छ । अन्तिम पटकलाई भन्दै प्रमुख दलहरुको दबावमा संवैधानिक समितिले राजनीतिक सहमति भन्दै समय दिदै आएको छ ।

प्रतिक्रिया