एकतर्फी सेना नफर्काइने

लाहोर, ९ वैशाख । पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले भारतसँगको विवादित सीमाक्षेत्र सियाचिनबाट एकतर्फी रुपमा पाकिस्तानी सेना नफर्काइने प्रस्ट पारेका छन् । सियाचिनमा तैनाथ आफ्ना सेना फर्काउन भारत तयार भए मात्रै पाकिस्तानी सेना फर्काइने उनले बताएका हुन् ।
पाकिस्तान अधीनस्थ पूर्वी काराकोरम पर्वतीय इलाकाको सियाचिन हिमनदीछेउ हिमस्खलनबाट एक सय ३८ पाकिस्तानी सैनिक पुरिएको केही सातापछि राष्ट्रपति जर्दारीले यस्तो बताएका हुन् । काश्मिरको सुदूर पर्वतीय पहाडी इलाकाको सियाचिन क्षेत्रमा भारत र पाकिस्तानका हजारौँ सैनिक तैनाथ छन् ।
सियाचिन ग्लेसियर विश्वकै सबैभन्दा उचाइमा रहेको युद्धभूमि हो । सो क्षेत्रमा भिडन्तमा परेर भन्दा खराब मौसमका कारण बढी सैनिकको  मृत्यु हुने गरेको छ ।
त्यस्तो कठिन ठाउँबाट सैनिक फर्काउनुपर्ने आवाज उठिरहेका बेला राष्ट्रपति जर्दारीले दुवै राष्ट्रले एकसाथ सेना फर्काउनुपर्ने धारणा राखेका हुन् । ‘सियाचिन विश्वकै सबैभन्दा अप्ठेरो युद्धभूमि हो । त्यहाँको कठिन भूगोल र हावापानीबारे हामी जानकार छौँ । तर, भारतले सेना फर्काउने निर्णय गरे मात्रै पाकिस्तानले यस्तो निर्णय गर्न सक्छ,’ उनले भने । वार्ताबाट सियाचिनलगायत सबै विवाद समाधान गर्न पाकिस्तान तयार रहेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया