‘शीर्ष बैठकमा आरोप प्रत्यारोप’

काठमाडौं, ९ वैशाख । संविधानका बिवादित बिषयमा सहमति खोज्न बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक आजपनि निष्कर्ष बिहिन सक्किएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बेलुका अबेलासम्म बसेको बैठकमा नागरिकता र न्यायप्रणालीका बिषयमा छलफल भएको कांग्रेस नेता अजुर्ननरसिंह केसीले जानकारी दिए । उनले छलफल भएपनि ठोस सहमति हुन नसकेको बताए ।
पुनः बस्ने बैठकले बिवादित बिषयमा सहमति खोज्ने केसीको भनाई छ ।
बैठक पछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता केसीले भने, ‘बिवाद समाधान उपसमितिमा भएका निर्णय र सहमतिका बारेमा पनि छलफल भएको छ ।’
एमाओवादी नेता खिमलाल देबकोटाले कांग्रेस र एमालेले बिवाद साधान उपसमितिका निर्णयबाट पछि हटेपछि समस्या आएको बताए । उनले भने, ‘बिवाद समाधान उपसमितिमा भईसकेको निर्णय र सहमतिकाबाट कांग्रेस र एमाले पछि हटेका छन्, यसबाट संविधान कस्का कारण बन्दैन भन्ने आशंका उब्जिएको छ ।’
उता, कांग्रेस नेता केसीले उपसमितिमा एमाओवादीका कारण बिभिन्न निर्णय पनि उल्टिएको भन्दै अहिले संविधान बनाउने समय भएकाले आरोप प्रत्यारोपमा लाग्न नहुने बताए ।
बैठकमा माओवादीले संवैधानिक अदालत बनाउन प्रस्ताव गरेपछि कांग्रेस र एमालेले संवैधानिक बेन्च मात्रै बनाउन सकिने जनाएका थिए । नागरिकताका बिषयमा भने धेरै मतभेद नरहेको नेताहरुले बताएका छन् ।
यस अघि दलहरुका बीच दिउसो बिभिन्न चरणमा अलग अलग बार्ता र छलफल भएका थिए ।

प्रतिक्रिया