हजार वर्षपछि जन्मिन चाहने लेखक

म्रामा प्रकाशित लेखक बन्नका निम्ति धेरैलाई चटारो हुन्छ । मानौँ उनीहरू दौड जित्ने प्रतियोगितामा भाग लिइरहेका होऊन् । तथापि, हाम्रामै यस्ता लेखक पनि थिए, जो आफू जीवनकालभरि नै समयभन्दा पहिल्यै जन्मिन आइपुगेकामा खिन्नता व्यक्त गरिरहे । उनले भनिरहे, ‘म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ ।’ त्यस्ता लेखक हुन्, निबन्धकार शंकर लामिछाने । उनमा पर्याप्त लेखकीय इमानदारी थियो । किन्तु, त्यति इमानदार हुँदाहँुदै पनि माइकल कर्बीको लेखमा आधारित भनिएको ‘आभा गार्देको सौन्दर्यशास्त्र’ नामक लेखउपर ‘प्लेजियारिज्म्’ अर्थात् साहित्यिक चोरीको आरोप लगाएर कुमुदिनी ‘नामकी’ पाठकले लामिछानेको लेखकीय जीवनमा फलामे बान्डो ठडाइन् । वैचारिक काँडे तारको ‘सेन्ट्री’ पनि खडा गरिन् । त्यही ‘सेन्ट्री’ले उनलाई एउटा साँघुरो घेरामा खुम्चाइदियो, जसले लामिछानेको लेखन यात्राको मैजारो गरिदियो ।
त्यसो त लामिछनेले’प्लेजियारिज्म्’ -साहित्यिक चोरी)को आरोप सजिलै ‘कन्फेस’ पनि गरे । यसलाई उनको इमानदारिताको दृष्टान्तका रूपमा व्याख्या गर्न सकिन्छ । आखिर कुमुदिनी को हुन् त ? यो एउटा जटिल प्रश्न हुन सक्छ, जुन प्रश्नको अहिलेसम्म कसैले पनि सही उत्तर दिन सकेका छैनन् । किन्तु, १० माघ, २०६० शनिबारको कान्तिपुर -कोसेली)मा प्रकाशित ‘रचनादेखि रचनासम्म’ शीर्षक लेखमा रोचक घिमिरेले एक प्रसंगमा भनेका छन्- ‘कुमुदिनी पाल्पाको सिद्धिपानी, सालघारीका माधवप्रसाद शर्मा पन्थी हुन् ।’ तर, औपचारिक रूपमा कुमुदिनी को हुन् भन्ने यथार्थ अनावरण भएको छैन ।
शंकर लामिछानेको लेखन यात्रामा फलामे गजबार लगाइदिने आरोपको उक्त पत्रमा ‘उनले’ लेखेकी थिइन्- ‘शंकर लामिछानेको भनिएको त्यस लेखमा एउटा आश्चर्यपूर्ण मनोवैज्ञानिक रहस्य तथा जटिलताको अर्को उपलब्धि पनि छ । उनले प्रस्तुत गरेको ‘उनको लेख’लाई माइकल कर्बीको ‘लेख’ सोह्रैआना अनूदित भन्ने अप्ठ्यारोचाहिँ केमा पर्‍यो हँ, उनलाई ? भन्नोस्, शंकर ज्यू ! मलाई उपदेश दिनोस् ! म यही ‘चालबाजी’ अपनाएर आफ्नो ‘प्लेगिएरिज्म्’ लुकाउन सक्छु ? हो, भने मलाई पनि अर्को माइकल कर्बी खोज्न विवश हुनुपर्नेछ…।’
जुन पात्रले उनको जीवनमाथि एउटा निर्मम आक्रमण गर्‍यो र एउटा महान् लेखकको युगको विसर्जन गरिदियो । शंकरले प्रतिक्रिया लेखेर स्विकारे- ‘शंकर लामिछाने स्वयंलाई लेखक ठान्दैन । यस पाँच वर्षभित्र उसले चार, पाँचवटा विश्वको महान् इतिहास र लेखन शैलीसमेत चोरेको छ । यो उसले गर्नुपरेको कारण हो- उसको जागिर थिएन र उसलाई बाँच्नु थियो । तपाईंले एउटा मात्र पाउनु भयो, बाँच्नका निमित्त मैले त त्यस्ता पाँच/छवटा बदमासी गरेको छु । तपाईंले पिकासोको जीवन हेर्नुभयो भने पनि त्यस्तो अवस्था आउँदो रहेछ भन्ने थाहा पाउनुहुनेछ । बाँच्नुजस्तो ठूलो कुरा जीवनमा अरू केही रहेनछ । मैले कसैलाई मारिनँ, त्यो मेरो भाग्य हो । म सायद साहित्यिक क्षेत्रबाट सन्न्यास लिँदैछु र अब म लेख्ने पनि छैन होला…।’
पछिल्लो समय हाम्रोमा पनि बौद्धिक चोरीबारे अलिक बढी चासो व्यक्त गरिएको छ । बौद्धिक चोरीका केही घटना पनि घट्न पुगे । कसैले जानेर नै चोरी गर्छन् भने कसैलाई अर्काको सिर्जना साभार वा प्रयोग गर्दा श्रेय दिनुपर्छ भन्नेसम्म पनि थाहा हुँदैन । हालको परिप्रेक्ष्यमा शंकरसँग जोडिएका यस प्रकारका घटनाले अलि बेग्लै महत्त्व पनि राख्न सक्छन् तर उनलाई समयले चिन्न सकेन । न त तत्कालीन सरकारले नै चिन्न सक्यो । उनी भन्छन्, ‘पेटको निम्ति मैले साहित्यिक चोरी गरँे । म भ्रममा परेको थिएँ…, लेखेर खाने देश नै कहाँ हो र यो ? लेखेर आउँछ नै कति र ? लेखेर खाने अठोट कसले गर्न सक्छ यहाँ ?’
लामिछानेमा विचारको गहिराइ कति थियो भनेर हामी अनुमान मात्र गर्न सक्छौँ । ‘हाँस्न जान्नु पनि ठूलो कला हो ! कुन मानिससँग कसरी हाँस्नुपर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ ।’ उनका रचना यस्ता विभिन्न वैचारिक स्वाद र चेतना लपेटिएका छन् । पातला बोक्रै भएका रचनाको बौद्धिक गुदी अथाह छन् । पारिजात भन्छिन्, ‘काव्यप्रेमी शंकर लामिछानेले मेरो उपन्यासलाई अति काव्यमय पाउनुभयो । उपन्यास नभनेर काव्यन्यास भनिदिनुभयो । बौद्धिक लेखकले मेरो शून्यताको व्याख्या गरिदिनुभयो । भाषा र शैली साथसाथै उहाँको बौद्धिकताको अघि नेपाली साहित्यिक संसार कायम छन् ।’
विसं. १९८४ चैतमा जन्मेका अब्बल तथा प्रयोगात्मक लेखन लामिछाने लेखकीय रूपमा भने आफू जन्मेको घोषणा कहिल्यै गरेनन् । उनको संघर्षमय जीवन आम मानिसका निम्ति एउटा उदाहरणीय लाग्छ । विभिन्न समकालीन तथा अनुज लेखक पनि लामिछानेको खुला प्रशंसा गर्छन् । लामिछनेले कहिल्यै कसैको पनि मन दुखाएनन् । मदन पुस्तकालयका सञ्चालक कमल दीक्षित भन्छन्, ‘शंकर लामिछानेसँग मेरो भेट वासुदेव लुइँटेलमार्फत भएको  हो । उहाँ -शंकर लामिछाने)चाहिँ अत्यन्तै टिपटप भएर हिँड्ने गजबको स्टाइलिस्ट मान्छे हुनुहुन्थ्यो । एकदम सोफिस्टिकेटेड, स्टडिअस ।’
अनि शंकर लामिछानेले गरेको भनिएको साहित्यिक चोरीको सवालमा दीक्षित अगाडि भन्छन्, ‘उहाँ त माहुरीजस्तो मान्छे नि ! मिहिनेती । माहुरीले यताउति फूलको रस खोजेर ल्याउँछ र मह बनाउँछ, उहाँले पनि त्यसै गर्नुहुन्थ्यो । त्यसो भए माहुरीले बनाएको महलाई उसको नभन्ने त ? कसरी उच्चकोटी साहित्य बनाउन सकिन्छ भन्नेमा उहाँ सधैँ तल्लीन रहनुहुन्थ्यो । त्यो साहित्यिक चोरी होइन । उहाँले स्विकार्नुभयो कारण अत्यन्तै संवेदनशील मान्छे हुनुहुन्थ्यो ।’
त्यसैगरी, गीतकार रत्नशमशेर थापा  लामिछानेसँगको अनुभव यसरी बाँड्छन्- ‘शंकर लामिछानेसँग धेरैजसो अमेरिकन लाइबे्ररीमा भेट हुन्थ्यो । उहाँ अत्यन्तै रसिक, मीठो बोल्ने, हसमुख, विद्वत् हुनुहुन्थ्यो । हामीहरू शंकर दाइ भन्थ्यौँ । देवकोटापछिको अद्वितीय पहिचान भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँसँग छोटो समय बस्दा पनि अनेक कुरा सिकिन्थ्यो । उहाँका कुरा एकदम खँदिला र गहकिला हुन्थे । उहाँजस्तो मिलनसार व्यक्ति मैले कमै भेटेको छु । आफ्ना अग्रजलाई एकदम सम्मान गर्ने र अनुजहरूलाई उस्तै माया गर्नुहुन्थ्यो । मैले उहाँ रिसाएको कहिल्यै पनि देखिनँ । शंकर दाइ पिउने र म नपिउने भएको हुँदा त्यति धेरै घनिष्टताचाहिँ हुन पाएन हामीबीच ।’
लेखक तथा नाटककार अभि सुवेदी भने लामिछनेलाई यसरी सम्झन्छन्, ‘शंकर दाइका लेखहरू हरेक शनिबार गोरखापत्रमा छापिन्थे । म उहाँको भाषाको ‘फ्यान’ भइसकेको थिएँ । मलाई पनि ‘यस्तै लेख्न पाए’ भन्नेजस्तो हुन्थ्यो । पछि त्यस्तै ०२० सालतिरको कुरा ः म फुच्चे थिएँ तर रूपरेखामा समालोचना छापिन थालिसकेको थियो । शंकर दाइसँग पहिलोपटक भेट हुँदा उहाँले भन्नुभो, ‘ए ! भाइलाई त मैले ठूलै मान्छे भन्ने ठानेको थिएँ तर लेखन भनेको उमेरले हुँदैन चिन्तन कताबाट आएको छ, त्यसमा भरपर्छ ।’ पछि म नजिकिँदै गएँ । ‘भाइ यसरी लेख्नुपर्छ’ भनेर सिकाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘विम्बहरू छान्दा अत्यन्तै सूक्ष्म रूपमा जानुपर्छ र यसलाई बलियो गरी खेलाउनुपर्छ ।’
चिन्तक सोरेन किर्केगार्ड, चेस्तोभ, जेस्पर तथा अल्बर्ट कामु आदिको दर्शनको गहकिलो स्वाद मिसिएको लामिछानेको नेपाली लेखनको गुदी आजसम्म सम्भवतः सायद कमैले खोतल्न भ्याए होलान् । उनी कुनै एक वैचारिक आवेष्टनमा मात्र गुजुल्टिएनन्, जसले उनी ‘भर्सटाएल’ लेखक हुन् भन्ने सम्पुष्टि गर्छ । अनि, लामिछानेले जीवनको यथार्थ पनि स्विकारेका थिए । सम्भवतः त्यो नस्विकारेको भए उनले ‘साहित्यिक चोरी’को आरोप लाग्नेबित्तिकै आत्महत्या गर्ने थिए ! त्यसो त, लियोटार्ड र बौडिलार्डले प्रचलनमा ल्याएको भनिएको ‘उत्तरआधुनिकता’वादको गन्ध पनि पर्याप्त पाइन्छ, लामिछानेको लेखनमा ।
पारिजातको उपन्यास ‘शिरीषको फूल’ र पिटर जे कार्थकको उपन्यास ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’मा भूमिका लेखेर भूमिका लेखनको प्रभावको परीक्षण पनि गरे, जुन परीक्षणको परिणाम सही पनि निस्कियो । नेपाली साहित्यको जग मजबुत पार्ने किताबमध्ये शंकर लामिछानेका कृति ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’लगायतका हुन् भन्नेमा कसैको विमति छैन । त्यसो त उनका अन्य निबन्धसंग्रह ‘गोधूली संसार’, ‘विम्ब-प्रतिविम्ब’, ‘शंकर लामिछानेका निबन्धहरू’ र कथासंग्रह ‘गौंथलीको गुँण’ पनि उही कोटीका किताब हुन् । संगीतमा गहिरो अभिरुचि भएका लामिछानेको दख्खल विज्ञापन लेखनमा पनि थियो । परिमार्जन र सम्पादनलाई लेखनको महत्त्वपूर्ण हतियार ठानेका लामिछाने अनुजका निम्ति पनि लेखनमा मार्गदर्शकको काम गरे ।
२०२४ सालको मदन पुरस्कार प्राप्त निबन्धसंग्रह ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ ले निबन्ध लेखनको ‘स्पेस’लाई मजबुत बनाएको पाइन्छ । ‘गोधूली संसार’, ‘विम्ब-प्रतिविम्ब’, ‘शंकर लामिछानेका निबन्धहरू’ आएपछि निबन्धको धरातललाई थप बलियो पारेे । कारण उनको लेखाइमा नौलो शैली/अभिव्यञ्जना पाइन्छ । त्यसो त अनुभूतिको खरो प्रवाह उनको अर्को लेखकीय गुण हो, इमानदारिताबाहेक । बोहेमियन लेखक तथा समालोचक प|mान्ज काफ्काका वैचारिक तुलीमा मज्जाले चाकाचुली खेलेका लामिछाने बहुआयामिक लेखक हुन् । उनको ज्ञानको मझेरी फराकिलो थियो । फुटबल खेल्ने मैदानजत्तिकै !
प्रेमपत्र लेखेर साहित्य लेखनको यात्रा थालेका निबन्धकार लामिछानेले ऐतिहासिक उपन्यास लेखनमा समेत हात हालेका थिए । तत्कालीन राजा त्रिभुवनको जीवनमा भएका विभिन्न परिघटनालाई केन्द्रमा राखेर उपन्यास लेख्न थालेका थिए तर उक्त सपनाले विभिन्न परिस्थितिका कारण पूर्णरूप पाउन सकेन । त्यसो त नेपाली कथा लेखनमा वैज्ञानिक कथाको अभाव न्यूनीकरण गर्न ‘माया नं. ६५३’ र ‘ऊ कसको हो ?’ शीर्षकका कथा पनि लेखे । त्यसैगरी, नेपाली साहित्यमा भविष्यत्कालको व्याकरणमा कथा लेख्ने पनि उनी नै पहिलो व्यक्ति हुन् । मलाई जहाँसम्म ज्ञात छ । ‘म भोलि जन्मने छु’ भन्ने कथाले तहल्का पनि मच्चायो । पछि, ‘राजा मिदास’को गीति नाटक अनुवाद गर्दागर्दै उनी यो संसारबाट अलप भए । त्यसपछि उनका असंख्य ‘फ्यान’ले एउटा अब्बल लेखक गुमाए ।
‘मानिस आस्था वा विश्वासमा बाँचेको छ ।’ विश्वासको भरोसामा यो सिंगो संसार अडिएको भाव पनि उनको लेखनमा पाइन्छ । उनी भन्छन्- ‘हामी बाँचेको युग द्वन्द्वात्मकताका सर्तहरू स्वीकार गर्नु नै एक ठूलो अस्वीकृति हो ।’ लामिछानेले ‘जरोन्जन राम्भो’ तथा ‘दोस्तोएभ्स्की’जस्ता लेखकका समयका थुप्रै भोगाइलाई निबन्धका माध्यमबाट प्रतिविम्बित गरेका छन् । तर पनि शंकरले आफूलाई कहिल्यै लेखकको पंक्तिमा उभ्याउन चाहेनन् । कटुवालझैँ फलाकिरहे- ‘मैले आफूलाई लेखक कहिल्यै ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो । लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण लेखक मेरो नजरमा देवता हो, देवकोटा हो । …पाठकले मेरो ठट्टालाई साँच्चै मानिदियो ।’
हाम्रामा अब्बल सिर्जनामा विश्वास गर्ने लेखक अति नै कम छन् । नेपाली लेखकीय जगत्उपर लाग्न सक्ने यस्तो गाल टार्नका निम्ति लामिछाने एक्लैको छवि पनि काफी हुन सक्छ ! लेखकीय पाटो छाडेर अलि पर जाँदा उनको पारिवारिक जीवन भने उति सौहार्द्धपूर्ण हुन सकेन । तर पनि उनी परिवारका सदस्यप्रति अति नै जिम्मेवार भएको कुरा शंकरपत्नी रत्ना लामिछाने बताउँछिन् । केटाकेटीसँग खेल्न रुचाउने लामिछाने अरूलाई लेख्न, पढ्न पनि प्रोत्साहन गर्थे । एक असल बाबु र एक असल पतिका रूपमा उनले आफ्नो भूमिका पनि निर्वाह गरे । लामिछानेले जीवनप्रति कहिल्यै पनि घुर्की वैरभाव देखाएनन्् । सदैव जीवन र लेखनलाई उत्तिकै महत्त्व दिएर लेखिरहे । अन्ततः त्यही लेखनको बहानाले उनको जीवनको मूलबाटो भत्काइदियो । मानौँ उनको भौतिक जीवनको बलियो खम्बालाई लेखकीय चर्को हुरीले केराको थाम ढालेझैँ निमेषभरमै ढालिदियो र एउटा महान् लेखकको युगको अन्त्य भयो ।

प्रतिक्रिया