खोजखबर

फस्टायो हलो जुवा उद्योग

सौर्य अनलाइन २०६९ वैशाख ९ गते ३:२९ मा प्रकाशित

बाग्लुङ, ८ वैशाख । हलो जुवाको अभावमा खेत बाझै रहने अवस्था आएपछि म्याग्दीको घतानमा खोलिएको हलो जुवा उद्योग फस्टाएको छ ।
२०५८ सालमा स्थानीय घोर्लास सामुदायिक वन उपभोक्ता समितिको आकस्मिक कोषबाट १६ हजार रूपिया ऋण लिएर चार वृद्धले खोलिएको उद्योगले गाउको आवश्यकता सहज रूपमा पूर्ति गर्दै अन्य गाउमा समेत बजार पाउन थालेको छ ।
घतान तोरीपानीका ६० वर्षीय धर्मलाल विक, ७३ वर्षीय जितबहादुर बानिया, ७७ वर्षीय चन्द्रबहादुर बानिया र ५९ वर्षीय पूर्णबहादुर खत्रीले उद्योग सञ्चालन गरेका हुन् । उद्योगमा हलो, जुवा, मदानी, अनौ, डाडो–लगायतका काष्ठ–जन्य सामान बनाइन्छन् ।
उनीहरूले बनाएका सामान घतान, पुलाचौर, अर्थुङ्गे, पाखापानी, झि, पात्लेखेत, पिप्लेलगायत गाविसका कृषकले किनेर लैजाने गरेका छन् । पहाडी क्षेत्रमा भिरालो र अग्ला कान्ला भएको खेतबारीमा बाली लगाउनुपर्ने भएकाले ट्रयाक्टरलगायत आधुनिक उपकरणको प्रयोग कठिन र महगो छ । एउटा हलोलाई चार सय, डाडोलाई पाच सय, जुवालाई दुई सय र फालीलगायत सबै सेटलाई एक हजार चार सय रुपियाका दरले बेच्ने गरिएको छ । उत्पादकहरूले गत वर्ष १९ वटा हलो, चारवटा डा“डो, तीनवटा जुवा र तीनवटा हिलो सम्याउने मोही बिक्री गरेका थिए ।
खेतबारी जोत्नका लागि हलोजुवालगायतका सामान आवश्यक हुने तर अहिले धेरैले बनाउन नजान्ने भएकाले उनीहरूलाई सधैंजसो भ्याइनभ्याई छ । ‘बनाउन सक्नुपर्‍यो, बिक्री नहोला भन्ने छैन’ सञ्चालक खत्री भन्छन् ‘वर्षमा दुई सयको हाराहारीमा हलो बिक्री हुन्छ । असोज, फागुन र चैत खेतीबाली लगाउने सिजन भएकाले बढी बिक्री हुने गरेको छ ।
‘खेतबारी जोत्दा–जोत्दै हलो, जुवा भाचिए कामै छाडेर सामान खोज्न पल्लो गाउ जानुपथ्र्यो’ उद्योगका सञ्चालक  विकले भने, ‘त्यहा पनि नपाउदा हैरान भएपछि मिलेर उद्योग चलाएका हौ“ ।’
छिमेकी गाउमा पुग्दासमेत हलो जुवा नपाएर नारिएको गोरु फुकाउनुपर्ने र खेताला फिर्ता पठाउनुपर्ने समस्या आएपछि यस्तो काम सुरु गरिएको विकले बताए । स्थानीय बलबहादुर खत्रीले बूढापाकाले हलो जुवा बनाउन थालेपछि काम गर्दागर्दै हलो जुवा भाचिए मेला ठप्प हुने अवस्थाको अन्त्य भएको बताए । उद्योग सञ्चालकहरू युवापुस्ताले सीप सिक्न कुनै चासो नदिएकामा चिन्तित छन् । ‘हामीसग सीप थियो र बुढेसकालमा भए पनि यसरी काम गरेका छांै’ खत्रीले भने, ‘अहिले कसैले वास्ता गरेका छैनन्, हामी मरेर गएपछि कसरी खेतीबाली लगाउलान् भन्ने चिन्ता छ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय