एमाओवादी र कांग्रेस जिम्मेवार हुन सकेनन

पोखरा, ८ वैशाख । एमाले शीर्ष नेताहरुले संविधानका लागि एमाओवादी र कांग्रेस जिम्मेवार हुन नसकेको आरोप लगाउदै अब एमालेकै अग्रसरतमा नयाँ संविधान जारी हुने दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघको छैटौं राष्ट्रिय अधिवेशनको पोखरामा उद्घाटन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले तोकिएकै मितिमा एमालेको पहलमा नयाँ संबिधान जारी हुने दाबी गरेका छन् । उनले एमाओवादी र कांग्रेसलाई मिलाएर लैजाने प्रयासमा एमाले रहेको बताए ।

एमालेले अलि बढी जिम्मेवारी महशुस गर्दै संबिधान निमार्णमा केन्द्रित भएको जनाएका खनालले एमाओवादी र कांग्रेसलाई जिम्मेवार हुन आग्रह समेत गरेका छन् ।

अध्यक्ष खनालले अहिलको परिस्थितलाई मुल्याङ्कन गर्दै जनताको भावना अनुरुप एमालेले काम गरिरहेको जानकारी दिए ।

एमाले अध्यक्ष खनालले जेठ १० गते भित्र अन्तिम सहमतिमा पुग्नुको विकल्प नरहेको दावी समेत गरेका छन् । उनले संबिधान निमार्णका क्रममा विवादित बिषयहरुमा दलहरु छलफलमा व्यस्त रहेको र सहमति नजिक पुगिएको दावी समेत गरे ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सबै राजनीतिक दलको लचकताबाट नै जेठ १४ मा संबिधान जारी हुने बताए । संबिधान निमार्णमा आफ्नो केही अनुभव समेत सुनाउदै नेता नेपालले अब नेपालमा संबिधान जारी गर्नका लागि कुनैपनि शक्तिले अबरोध गर्न नसक्ने दावी गरे ।

एमाओवादी र कांग्रेस अझै जिम्मेवार हुनुपर्ने उनको कथन छ । नेता नेपालले पनि अध्यक्ष खनालले जस्तै अन्य पार्टी भन्दा एमाले नै बढी जिम्मेवार पार्टी भएको र नेपाली जनताको चाहना अनुरुप नै संबिधान जारी गर्नका लागि लागेको उल्लेख गरे ।

वरिष्ठ नेता केपी ओलीले सबै पार्टी गम्भीर नभएमा संबिधान जारी गर्न कठिनाई उत्पन्न हुन सक्ने भन्दै त्यसका लागि सर्तकता अपनाउनुपर्ने उल्लेख गरेका छन् । एमाओवादी र कांग्रेसप्रति कटाक्ष गर्दै दुवै पार्टीलाई केटाकेटीको जस्तो हठ त्याग्न आग्रह गरेका छन् ।

उनले भने अहिले आफ्नो पक्षका कुरा गर्ने बेला होइन नेपाली जनताको भावना अनुरुप काम गर्ने बेला हो ।

एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष विद्यादेवी भण्डारीले एमालेको जिम्मेवारी पनकै कारण मुलुकमा नयाँ आशाको किरण देखा पारेको उल्लेख गरेकी छन् । उनले सबै पार्टीलाई मिलाएर लैजानका लागि संबिधान जारी गर्ने अन्तिम समय सम्म प्रयास एमालेले जारी राख्ने दावी गरेकी हुन् ।

प्रतिक्रिया