सुदूर र मध्यपश्चिममा झन् खाद्यान्न कमी

काठमाडौं, ७ वैशाख । खाद्य असुरक्षा बढ्दो अवस्थामा रहेको छ । गत वर्ष नेपालको खाद्यान्न उत्पादनमा वृद्धि भए पनि समग्र मुलुक असुरक्षाबाट अछुतो रहन सकेको छैन । सन् २०१०।११ मा नेपालको खाद्यान्न उत्पादन अघिल्लो वर्षको तुलनामा १० दशमलव ९ प्रतिशतले वृद्धि भए पनि नेपालका सुदूर पश्चिम क्षेत्रमा ४२ प्रतिशत र मध्यपश्चिम क्षेत्रमा २२ प्रतिशतले कुल खाद्यान्न कमी रहेको विश्व खाद्य कार्यक्रम -डब्ल्युएफपी) नेपालका आवासीय प्रतिनिधि निकोल मिनाजले बताए ।
विश्व खाद्य कार्यक्रमको अनुमानमा नेपालका ३५ लाख जनसंख्यामा  खाद्य असुरक्षा विद्यमान रहेको छ । नेपालमा जनसंख्याको वृद्धिदर र खाद्यान्न उत्पादनको वृद्धिदरबीच सामञ्जस्यता हुन नसक्दा खाद्य असुरक्षा बढ्दै गएको मिनाजले जानकारी दिए । कुनै समय धान निर्यात गर्ने मुलुकमा कहलिएको नेपालले सन् २००५।०६ देखि खाद्यान्न अभावको संकट झेल्न सुरु गरेको हो । सन् २००९।१० सम्म पुग्दा खाद्यान्न संकट झनै अकासिएको थियो । सन् २००९।१० मा नेपाललाई तीन लाख १६ हजार मेटि्रक टन अभाव सिर्जना हुन पुगेको थियो तर सन् २०१०।११ मा भने अन्न उत्पादनमा वृद्धि भएका कारण चार लाख ४३ हजार मेटि्रक टन अतिरिक्त खाद्यान्न बचत थियो ।
नेपालको खाद्यान्न उत्पादन पाँच प्रतिशत रहेकामा पाँच प्रतिशतले मात्र वृद्धि भएको छ भने मुलुकको खाद्यान्न माग २० प्रतिशतले वृद्धि भएको छ । माओवादी सशस्त्र द्वन्द्वले पनि खाद्यान्न अपुग हुनमा सघाउ पुगेको डब्ल्युएफपीले जनाएको छ । द्वन्द्वका समयमा सिंचाइका आयोजना र ग्रामीण कृषि सेवा केन्द्रका संरचनासमेत ध्वस्त भएकाले पनि कृषि उत्पादनमा वृद्धि हुन नसकेको डब्ल्युएफपीको ठहर रहेको छ । छिमेकी मुलुकको तुलनामा विगत तीन वर्षयता नेपालमा चिन्ताजनक रुपमा खाद्य असुरक्षा बढेको बताइएको छ ।
तीव्र सहरीकरणका कारण विश्वमा नै कृषियोग्य जमिन कम भइरहेको परिप्रेक्ष्यमा बढी खाद्यान्न उत्पादन गर्ने राष्ट्रले पनि आफ्नो देशको खाद्यान्न माग पूरा गरेपछि मात्र खाद्यान्न निर्यात गर्ने हुँदा नेपालले पनि बेलैमा खाद्य असुरक्षाबाट पार पाउन नीतिनियम तर्जुमा गरिहाल्नुपर्ने आवश्यकता रहेको अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए ।
विश्व खाद्य कार्यक्रम नेपालको तथ्यांकअनुसार सामान्य अवस्थामा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका पहाडी र हिमाली जिल्लाका किसान परिवारलाई तिनीहरुको उत्पादनले तीनदेखि ६ महिनासम्म मात्र धान्ने अवस्था रहेको देखाएको छ । यातायातको पहँुच नभएका यस्ता दुर्गम जिल्लाका किसानलाई नगदे बाली लगाउन प्रोत्साहन गर्न सकिएमा केही हदसम्म त्यस क्षेत्रको खाद्य असुरक्षामा गिरावट आउने  मिनाजले जानकारी दिए ।
इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्िटच्युटले गरेको एक सर्वेक्षणअनुसार नेपाल ५६ आँैं भोकमरीग्रस्त मुलुक हो । यसअघि सन् २००८ मा गरिएको विश्व भोकमरी परिसूचकमा नेपाल ५७ औंँ स्थानमा थियो । कृषि तथा सहकारी मन्त्रालयका एक अधिकारीले खाद्य असुरक्षा बढ्नामा सरकारको उदास्नता पनि एक कारण रहेको बताए । ‘कुल गार्हस्थ उत्पादनको ३१ प्रतिशत योगदान रहेको कृषि क्षेत्रलाई कुल बजेटको तीन प्रतिशतभन्दा कम बजेट मात्र विनियोजन गरिएको छ ।’
बाढी, अत्यधिक वषर्ा, पहिरो र रोगव्याधिजस्ता प्राकृतिक प्रकोपका कारणले पनि खाद्य असुरक्षालाई बढावा दिएको मिनाजले बताए । केन्द्रीय तथ्यांक विभागले गरेको तेस्रो राष्ट्रिय जीवनस्तर सर्भेमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र विशेष रुपमा विषम गरिबीका कारण खाद्य असुरक्षामा रहेको भेटिएको उल्लेख छ । स्थानीयस्तरमा कृषि उत्पादनमा बढावा दिन लगानी बढाउनुपर्ने, कृषि प्रणालीलाई आधुनिकीकरण गरी कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने र  वैकल्पिक बालीको पहिचान गरी अतिरिक्त नगद आम्दानी गर्न सक्ने वातावरण बनाएर ग्रामीण क्षेत्रमा व्याप्त उच्च खाद्य असुरक्षा हटाउन सकिने मिनाजको तर्क छ ।

प्रतिक्रिया