अखिल र नेविसंघबीच झडप

काठमाडौं, ७ वैशाख । चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका कार्यकर्ताबीच भएको झडपमा दुवै पक्षका गरी १० जनाभन्दा बढी घाइते भएका छन् । बिहीबार दिउसो चार बजेपछि क्याम्पस परिसरमै दुई विद्यँर्थी संगठनका विद्यार्थीबीच झडप भएको हो ।
संघका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाका अनुसार झडपमा नेविसंघका क्याम्पस एकाइ अनुशासन विभाग प्रमुख रमेश खड्का, एकाइ सदस्यहरु अर्जुन भण्डारी, सञ्जय भण्डारी, रोशन श्रेष्ठ, जगन्नाथ दुलाल, महेश काङ्खले, रामकुमार सिग्देल र गोपी सिवाकोटी घाइते भएका छन् । उनका अनुसार घाइतेको उपचार ओम नर्सिङ अस्पतालमा भइरहेको छ । खड्कालाई आइसियुमा राखेर उपचार भइरहेको उनले बताए ।
यस्तै, अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले झडपमा सुरेश पराजुली र क्याम्पस एकाइ कमिटी सदस्य डेकेन्द्र कठायत घाइते भएको बताए । उनले  कठायतको काठमाडौं मोडेल अस्पतालमा आइसियुमा उपचार भइरहेको जनाए ।  पराजुली लैनचौरस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार गराई घर फर्केका छन् ।
प्रहरीले भने झडपमा चारजना मात्रै घाइते भएको बताएको छ । घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक रहेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धीरजप्रताप सिंहले भने, ‘घाइतेको उपचार भइरहेको छ ।’
तिमल्सिनाले अनेरास्ववियुका सचिवालय सदस्य ऐनसिंह महरको नेतृत्वमा  खुकुरीलगायतका हतियारसहित आएको टोलीले आक्रमण गरेको थियो । उनले भने, ‘महरले क्याम्पसभित्रै तीन राउन्ड गोली चलाए ।’ उनका अनुसार डेढ वर्षअघि त्रिचन्द्र क्याम्पसमा भएको गोलीकाण्डको रिसइबीका कारण संघका कार्यकर्तामाथि आक्रमण भएको हो ।
मल्लका अनुसार भने संघका कार्यकर्ताले बुधबार साझ साढे ६ बजे अनेरास्वयवियुका किशोर राईलाई कुटेका थिए । त्यसैको विरोधमा बिहीबार कार्यक्रम सुरु गरेलगत्तै संघका कार्यकर्ताले तरबारसहितका हतियार लिएर आक्रमण गरेका हुन् । अखिलका विद्यार्थीबाट गोली प्रहार नभएको दाबी गर्दै उनले भने, ‘गोली नेविसंघबाटै प्रहार भएको हो ।’ उनका अनुसार बुधबार घाइते भएका राईको उपचार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।
उनले भने, ‘स्ववियु सभापति मनोज वैद्य नेतृत्वको टोलीले परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र आउट गर्‍यो, त्यसैको विरोध गर्ने क्रममा राईमाथि आक्रमण भयो ।’ क्याम्पसमा केही दिनदेखि बिबिएस पहिलो वर्षको परीक्षा चलिरहेको छ । अनेरास्ववियुले २६ चैतदेखि गर्दै आएको आन्दोलन भाड्न संघका कार्यकर्ताले आक्रमण गरेको मल्लले बताए । आक्रमणको विरोधमा संघले भने बिहीबारदेखि नै अन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
घटनामा संलग्न अखिल समर्थित विजय बुढालाई प्रहरीले रडसहित पक्राउ गरेको छ । दुई विद्यार्थी संगठनले एकार्कालाई गोली चलाएको आरोप लगाए पनि प्रहरीले गोली प्रहार नभएको बताएको छ । खुकुरी, खुडा प्रहार भएको देखिए पनि गोली भने नचलेको डिएसपी सिंहले बताए ।

प्रतिक्रिया