सभापतिले बिवाद चर्काएः नेता देउवा

काठमाडौं, ६ वैशाख । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले विभिन्न भातृ संगठनभित्रको विवादलाई सभापति सुशील कोइरालाले मिलाउनुको साटो उल्टै चर्काउदै लगेको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघको ४२ औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित देउवा पक्षधर विद्यार्थीहरुको कार्यक्रममा उनले विवादलाई अन्त्य गर्नु भन्दापनि विवाद बढाउने तिर कोइराला लागेको दाबी गरे । उनले सभापति कोइरालाको कार्यशैली प्रति आपत्ती जनाएका छन् ।

‘नेतृत्वको काम भनेको विवाद मिलाउनु हो’, नेता देउवाले भने, ‘पार्टी सभापति आफै नै विवाद बढाउन क्रियाशील रहेका छन् ।’

नेविसंघका कार्यकर्ताको जायज मागलाई सम्बोधन गर्न नसक्दा राजीनामा समेत दिने परिस्थति आएको भन्दै देउवाले जायज मागलाई तत्काल सम्बोधन गरि सहज वातावरण बनाउन कोइरालालाई आग्रह गरे ।

उनले एकतर्फीरुपमा सभापति कोइरालाले भातृ संगठनहरु भित्र हस्तक्षेप गरेको आरोप लगाए ।

उता, महामन्त्री प्रकाशमान सिंहले कांग्रेसका कारण शान्ति प्रकृयामा प्रगाति भएको दाबी गरेका छन् । शान्ति प्रकृया पुरा नभएसम्म लोकतान्त्रिक संविधान निर्माण हुन नसक्ने अडानले अहिले शान्ति प्रकृया टुगिने मोडमा पुगेको उनको भनाई छ ।

संविधान निर्माणपनि तिब्र गतिमा अगाडी बढ्ने भन्दै महामन्त्री सिंहले दलहरुकाबीच संविधान निर्माणका विवादित बिषयमा सहमति अन्तिम चरणमा रहेको जानकारी दिए ।

प्रतिक्रिया