बलबहादुर तामाङ- अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
बलबहादुर तामाङ वैदेशिक रोजगार क्षेत्रमा एक सफल युवा उद्यमीका रूपमा परिचित छन् । जीवनयात्रामा आइपर्ने हरेक असहज परिस्थितिलाई सहजरूपमा स्विकार्न सक्ने र संघर्षमा विश्वास गर्ने व्यक्ति नै सफताको हकदार हुन्छ भन्ने उदाहरणका पात्र पनि हुन् उनी । हरेक मानिसका लक्ष्य हुन्छ तर आत्मविश्वास, मिहिनेत र परिश्रमले मात्र लक्ष्य प्राप्ति हुन्छ भन्ने उनको भोगाइ छ ।
०२८ सालमा ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेहुर्केका उनी यो पेसामा लागेको करिब १७ वर्ष भइसकेको छ । अध्ययनकै क्रममा वैदेशिक रोजागर व्यवसायमा हात हालेका उनले आफ्नो यात्रामा धेरै चुनौती र कठिनाइहरू पार गरेका छन् । हरेक मानिसले आआफ्नो रुचि र क्षमताअनुसार पेसाव्यवसाय गर्दछ तर उनीभने यो पेसामा लाग्नुको कारण भिन्न छ । स्कुले उमेरदेखि नै अरूभन्दा भिन्न काम गर्न रुचाउने तामाङ सामाजिक भावनाले नै यो क्षेत्रमा लागेका रहेछन् ।
ढुंगेसाँघुबाटै एसएलसी पास गरेपछि उनले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह अध्ययन सुरु गरे । तर पढाइलाई तीव्रता दिन उनलाई त्यति सहज भने थिएन । सानैदेखि आफंै केही गरेर उच्च शिक्षा अध्ययन गर्ने उनको लक्ष्य रहेछ । त्यसैले त्यहाँको दुई वर्षे पढाइपछि उनले ब्यापारी बन्ने सोचले झापाको दमकमा फेन्सी पसल सुरु गर्नपुगे । तर, पसलबाट पनि सन्तुष्ट नभएपछि उच्च शिक्षा अध्ययनकै लागि काठमाडौं हानिन पुगे यी गाउँले युवक ।
दुर्गम गाउँमा निम्नवर्गीय परिवारमा जन्मेहुर्केको मन्छे, उनलाई यहाँको वातावरणसँग घुलमिल हुन समस्या त छँदै थियो, त्यसमा पनि विद्यार्थी जीवन आफंैमा कडा संघर्ष गर्नुपर्ने । उनलाई मुलुकको राजधानी काठमाडौंको बसाइका सुरुका वर्ष कठिन भए । ‘आफ्नै कुनै नोकरी थिएन, न त कसैले भन्नेबित्तिकै जागिर दिन्थ्यो, हरेक दिन समस्या नै अघि आइरहन्थ्यो,’ विगतलाई सम्झन्छन् उनी । जतासुकै समस्या नै समस्या देखेपछि आफ्नो उच्चशिक्षा हासिल गर्ने लक्ष्य अधुरै रहने त होइन भन्ने चिन्तासमेत उनलाई लाग्यो । तर, समस्यासँग जुध्ने मान्छे लक्ष्यमा कहिले पछि पर्दैन भन्ने आत्मविश्वासका साथ फेरि केही नयाँ कामको थालनी गर्ने सोच लिए ।
मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेको र गाउँका युवा वैदेशिक रोजगारीमा जाने क्रम तीव्ररूपमा बढेको देखेपछि उनले पनि यही व्यवसाय गर्ने सोचले परिवारको सल्लाह मागे तर सिंगापुर पठाउने भन्दै गाउँका थुप्रै युवा एजेन्टबाट ठगिएको तत्कालीन अवस्थाले गर्दा उनले यो व्यवसायमा लाग्ने सल्लाह भने पाएनन् । जसोतसो बुबालाई सम्झाइबुझाइ गरेपछि सहमति पाएका उनी मुन्ड्रप्स मेनपावरमा काम गर्न सुरु गरे । करिब तीन वर्ष त्यहाँ काम गरिसकेपछि चार जनाको सामूहिक लगानीमा नयाँ म्यानपावर खोल्न सुरले स्काई ओभरसिज सर्भिसेज प्रालि दर्ता गरेछन् ।
नयाँ म्यानवापर सुरु गरे पनि सुरुका केही वर्ष नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउन भने उनलाई त्यती सहज भएन । ‘ठूलो लगानी गरेर म्यानपावर कम्पनी सुरु गरे पनि भन्नेबित्तिकै भिसा नआउने, रोजगारदाताले विश्वास नगर्नेजस्ता समस्या आउँथ्यो,’ उनी भन्छन् । समस्याले नै सफताको पाठ सिकाउँछ भन्नेझैं तामाङले समयसँग जुध्दै जाँदा करिब तीन वर्षमै आफ्नो कम्पनी मुलुककै एक नम्बर म्यानपावर बनाउन सफल भए । द्वन्द्वले आक्रान्त बनेको त्यो समयमा जोखिमको व्यवसाय सुरु गरेका उनलाई फेरि चुनौती आयो कम्पनीका सहकर्मीले अर्कै नयाँ म्यानपावर सुरु गरेपछि । तर, पनि उनले हरेस खाएनन् र आफ्नो काममा विश्वास जित्न लागिपरिरहे ।
अध्ययनकै लागि काठमाडौं आएका तामाङ अहिले वैदेशिक रोजगार व्यवसायमा लागेका आठ सय व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष छन् भने स्काई ओभरसिज सर्भिसेज प्रालि र जेरी भर्घिज ग्लोबल रिक्रुमेन्टका सञ्चालक हुन् । मुलुकका थुप्रै रोजगार व्यवसायी र म्यानपावर कम्पनीका बीच उनको स्थान अग्रपंक्तिमा छ । उच्चशिक्षा हासिल गरेर थुप्रैलाई शिक्षाको ज्योति छर्ने लक्ष्य बोकेको त्योबेलाको तामाङ पट्ठो अहिले हजारौँलाई वैदेशिक रोजगारीको अवसर दिलाइरहेको छ ।
स्थापनाको यो अवधिसम्म उनले आफ्नो कम्पनीबाट मात्र ३५ हजारलाई वैदेशिक रोजगारीमा पठाएका छन् । वैदेशिक रोजगारीबाट दुर्गम गाउँको जनाताको जीवनस्तर उकासिएको, बर्सेनि अबौर्ं रेमिट्यान्स भित्रने गरेको भए पनि नीति निर्माण तहको र सरकारी महत्त्व कम पाएकाले यो क्षेत्र अलमलमा परेको उनको भनाइ छ । सरकारले कानुन निर्माण गर्ने तर व्यवसाय व्यवस्थापनमा चासो नदिने गर्नाले पनि थुप्रै समस्या रहेको तामाङको बुझाइ छ ।
बिदेसिने कामदारको पक्षमा सरकारले गम्भीर बन्नुपर्ने तथा पेसा व्यवस्थित गर्न समयअनुसारको नीति निर्माण गर्नुपर्ने उनको सुझाव छ । बर्सेनि चार लाख युवालाई वैदेशिक रोजगारीमा पठाउन सक्षम व्यवसायीलाई पारदर्शीरूपमा व्यवसाय गर्न तथा उनीहरूको हक-अधिकारका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने उनी बताउँछन् ।
प्रस्तुतिः किरण ढकाल
प्रतिक्रिया