काबुल भिडन्तमा ५१ को मृत्यु

काबुल, ४ वैशाख । अफगानिस्तानको राजधानी काबुलस्थित सरकारी कार्यालय, विदेश मन्त्रालय, विदेशी दूतावास, नेटो मुख्यालय आदिलाई लक्ष्य गरी तालिबान चरमपन्थीले आक्रमण गर्दा भएको भिडन्तमा ३६ चरमपन्थीलगायत ५१ जनाको मृत्यु भएको छ । अफगान गृहमन्त्री विस्मिल्लाह मोहम्मादीले सोमबार भिडन्तमा भएको हताहतीको विवरण दिएका हुन् ।
आक्रमणमा संलग्न सबै चरमपन्थीको मृत्यु भएको उनले जानकारी दिए । ‘अफगान सेनाको हिम्मत, कोसिस र बलिदानका कारण सबै चरमपन्थीको सफाया भएको छ,’ उनले भने । काबुललगायत तीन छिमेकी प्रान्तमा चरमपन्थीले आइतबार एकसाथ आक्रमण थालेका थिए । भिडन्त १८ घन्टासम्म चलेको थियो । काबुल सहर मोर्टार, गि्रनेट, रकेट र मेसिनगन प्रहारका आवाजले गुन्जिएको थियो । भिडन्तमा अफगान सुरक्षाबलका ११ सदस्य र चार सर्वसाधारणले समेत ज्यान गुमाएका छन् । अफगान सुरक्षाबलका करिब ४० सदस्य र २५ सर्वसाधारण घाइते भएको जनाइएको छ ।
चरमपन्थीहरूले राजधानीस्थित कूटनीतिक क्षेत्रमा विष्फोट गराउनुका साथै विभिन्न होटललाई नियन्त्रणमा लिई त्यहाँबाट आक्रमण गरेका थिए । उनीहरूले संसद् भवनमा प्रवेश गर्ने प्रयास पनि गरेका थिए । भिडन्तकै क्रममा दुई संदिग्ध आत्मघाती आक्रमणकारीलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूले उपराष्ट्रपति मोहम्मद कारिम खलिलीको हत्या गर्न खोजेको अधिकारीहरूको भनाइ छ । एजेन्सी

प्रतिक्रिया