राजनीतिकै सेरोफेरो

राजनीतिज्ञ पितासँग बाल्यकाल बिताएकी डा. अञ्जना केसीको दाम्पत्यकाल पनि राजनीतिकर्मीसँगै बितिरहेको छ । उनकै शब्दमा ‘सायद यो सन्जोग होला ।’  ४ साउन ०३४ मा जन्मिएकी अञ्जना श्रीमतीको भूमिका नाम चलेका राजनीतिकर्मी गगन थापासंग बिताउँदै छिन् । उनको बाल्यकालचाहिँ राजनीतिज्ञ पिता अर्जुननरसिंह केसीसँग बितेको हो ।
‘एउटा राजनीतिज्ञको अभिभावकत्वमा हुर्किएँ । अर्को राजनीतिज्ञसँग जीवन साटेकी छु’, डा. अञ्जनाले भनिन्,’यसमा मलाई खुसी छ किनकि मैले राजनीतिज्ञको जीवन राम्ररी बुझेकी छु ।’ कन्या स्कुल, महेन्द्र भवन हुँदै दार्जिलिङको डेजिजबाट कक्षा ४ पास गरेकी अञ्जनाले सानो छँदा पढाइकै कारण बुबासँग धेरै समय बिताउन पाइनन् । चार कक्षापछिको शिक्षा भारतको देहरादुनमा रहेको केम्ब्रेनहल स्कुलमा लिन गइन् । त्यहाँबाट १० कक्षा पास गरिन् । भारतीय दूतावासभित्रको केन्द्रीय विद्यालयबाट प्लस टु पास गरेकी उनले एमबिबिएस भने मणिपाल कलेज पोखराबाट गरेकी हुन् ।
डाक्टर भइसकेपछिको जीवन समयको चापाचापमै बित्ने गरेको उनले सुनाइन् । यो भनिरहँदा उनले राजनीतिज्ञ बुवाबाट राजनीतिकर्मी पतिसम्म जोडिँदाको पल स्मरण गरिन् । ‘एकदिन बुवाले नयाँ मोबाइल    लिनुभयो । पुरानो सेट हामी दिदीबहिनी चलाउँदै थियाँै । त्यसमा गगनको नम्बर रहेछ । नम्बरसँग जिस्किँदै गर्दा असम्बन्धित म्यासेज गएछ’, अञ्जनाले भनिन्, ‘तपाईंको म्यासेज गलत ठाउँमा गयो भनेर गगनले तुरुन्त रिप्लाई गरे ।’
बिहेअघि गगनसँंग जोडिएको घटना स्मरण गर्दै छिन् उनी- ‘आन्दोलनको बीचमा गोङ्गबु घटनामा अश्रुग्यास र फायरिङ भयो । म डाक्टर भैसकेकी थिएँ । मैले गगन जस्तोसुकै हुलदंगामा पनि अगाडि जान्छन् भन्ने सुनेकी थिएँ र अर्को म्यासेज गरेंँ ।’ उनले टेक्स्ट म्यासेजमा लेखेकी रहिछन्- ‘यस्तो समय छ, यो देशलाई तपाइर्ंहरू कसरी सम्हाल्नुहुन्छ ?’ यही सिलसिलाले डा. अञ्जना र नेता गगनलाई जीवनसाथी बनाउन मद्दत गरेछ ।
एमबिबिएस पास गरेपछि अञ्जनाले अढाई वर्ष टिचिङ अस्पताल अनि विभिन्न निजी नर्सिङ होममा बिमारीको उपचार गरिन् । झन्डै एक वर्षअघि उनी ‘आमा’ भइन् । ‘सन्तानका लागि आमाको माया महत्त्वपूर्ण हुने’ बुझेकी अञ्जनाले डाक्टरी पेसाबाट बिदा लिइन् । अहिले सेभ द चिल्ड्रेनको हेल्थ डिपार्टमेन्टमा सिनियर कोअर्डिनेटरको जागिर गर्दै छिन् । अञ्जनाको काँधमा अहिले पत्नी, बुहारी, छोरी र आमाको भूमिका छ । उनले भनिन्, ‘मेरा सासू-ससुरा असाध्यै बुझक्कड हुनुहुन्छ । मैले भान्सामा पस्नैपर्छ भन्ने सोच राख्नुहुन्न ।’ तैपनि श्रीमान्, सासूआमा र ससुराबुवालाई आफूले बनाएको मीठो लाग्ने हुँदा समय पाएका दिन भान्सामा पस्ने गरेको सुनाइन् ।
जनआन्दोलन चर्किंदै गर्दा अनायासै झाँगिएको कांग्रेस युवा नेता  थापासंँगको सम्बन्ध श्रीमान्-श्रीमतीमा परिणत भए पनि उनले त्यति धेरै रमाउने समय पाएकी छैनन् । भनिन्, ‘श्रीमान्सँंग भान्सामा सँगै हुने क्षण त हाम्रा लागि अलौकिक नै हुन्छ । उहाँ पनि व्यस्त । म पनि व्यस्त ।’ तैपनि डा. अञ्जना यसो फुर्सद पाउँदा हप्तामा माइती जाने, कहिलेकाहीँ खाना बनाउने र श्रीमान्लाई लिएर घुम्न निस्कने गर्दिरहिछन् ।
छोराछोरीका लागि आमाबुवाको स्नेह र माया जिन्दगीभरका लागि प्रभावकारी हुने बुझेकी अञ्जना छोरीलाई भने विशेष ध्यान दिन्छिन् । सकेसम्म श्रीमान्सँंग मिलेर हप्ताहप्तामा घुमाउन लग्छिन् । त्यसमा गगनले पनि युवा नेताको भूमिका छाडेर असल बुवाको भूमिका निर्वाह गर्दा रहेछन्, उनले प्रशंसा गरिन् । शृङ्गारपटारमा सानैदेखि त्यति आकर्षण नभए पनि विवाह, भोज आदिमा जाँदा भने डा. अञ्जनालाई ‘चिटिक्क’ बन्न मन लाग्दो रहेछ । उनले भनिन्, ‘यसो कोरीबाटी गर्ने, मेकअप गर्ने, सारी लगाएर राम्री देखिने रहर त भैहाल्छ नि ।’ समय म्यानेज गर्न नसक्दाको असन्तुष्टि पोख्दै उनले भनिन्, ‘त्योभन्दा पनि समय पाएदेखि म दैनिक दुई घन्टा जिम जाने थिएँ । कसैले तिमी शृङ्गार र जिम के रोज्छ्यौ भने म जिम नै रोज्ने थिएँ ।’
श्रीमान्को घरमा आउँदा सुरुका दिनमा अञ्जनाको चित्त पनि दुखेको रहेछ । जब उनी आफँै डाक्टरको भूमिकाबाट छोरी, बुहारी हुँदै आमाको भूमिकामा पुगिन्, अब भने सामान्य रूपमा लिने गर्छिन् । एउटा चिन्ताचाहिँ अञ्जनाको मनमा गडेर बसेको छ, ‘व्यस्तताले कहिलेकाहीँ भविष्यका बारेमा कहिले सोच्ने होला भन्नेचाहिँ लाग्छ ।’ अञ्जना आफ्नोजस्तै मुलुकका विद्यार्थीको भविष्यप्रति पनि त्यत्तिकै चिन्तित रहिछन् । भनिन्, ‘नेपालको राजनीतिमा विद्यार्थीलाई प्रयोग गर्ने प्रवृत्ति राम्रो छैन ।’ देहरादुनको विद्यालयमा त्यो दृश्य नदेखेकाले पनि होला, उनको धारणा छ, ‘विद्यार्थीलाई कसैले हतियार नबनाउने र समान शिक्षाको व्यवस्था गर्ने हो भने देशको भविष्य समुज्ज्वल हुन समय लाग्दैन ।’

प्रतिक्रिया