भूतले गायब पारेको हल्लापछि…

काठमाडौं, ४ वैशाख । सोमबार मध्याह्न । ‘भूतघर’को नामले चिनिएको न्युरोडको रञ्जना गल्लीस्थित पाँचतले घरको बन्द सटरअगाडि एक टेलिभिजनका क्यामेराम्यान क्यामेराको लेन्स मिलाउँदै गरेको देखिए । उनीसँगै अरू दुईजना पनि थिए । घरको बन्द सटर खोलियो । क्यामेरामा घरबाहिरको दृश्य कैद गरिँदै थियो । उक्त दृश्य हेर्न एक/दुईजना हुँदै भिड बढ्दै गयो । करिब १५ मिनेटपछि एकाएक क्यामेरासहितका तीनैजना गायब भए ! घरको सटर हेर्दा त्यो पनि बन्द ।
‘लौ के अनौठो भयो यो !’ भिडबाट कसैले आश्चर्य जनायो । भिडबाटै अर्का व्यक्ति पनि बोले, ‘ती पत्रकारलाई त भूतले सटरभित्रै बन्द गर्‍यो ।’ हल्ला फैलिँदै गयो, भिड पनि बढ्दै गयो । हुँदा-हुँदा भिडबाटै आवाज आयो, ‘पत्रकारलाई त भूतले गालामा थप्पडै हानेछ रे !’ अर्को आवाज पनि थपियो, ‘कहाँ त्यति मात्रै हो र ! पत्रकारलाई त भूतले घाँटीमा समातेर झ्यालबाटै मिल्काएछ रे नि !’
‘ओहो कस्तो आश्चर्य ! सहरमा पनि भूत आतंक ?’ हल्लैहल्लाका भरमा जम्मा भएका मानिसको भिडले अब रञ्जना गल्ली नै भरिन लाग्यो । भूतले मानिस बेपत्ता पारेको आशंकामा पत्रकार क्यामेरासहित उपस्थित भएपछि त भिड झन् उर्लियो । गल्लीमा खचाखच मानिस । भिड न्युरोडसम्मै पुग्यो । गाडी आवागमन रोकियो ।
घटनास्थलमा प्रहरी पनि पुगिसकेको थियो । मध्याह्नदेखि लागेको भिड साँझ ६ बजेसम्म उस्तै रह्यो । अब के गर्ने ? घटनाको यथार्थ पत्ता नलागेपछि प्रहरी पनि हेरेको हेर्‍यै भयो ।
पत्रकारबाटै खोजी सुरु भयो ‘भूतघर’मा बेपत्ता भएका भनिएका पत्रकारको । एक न्युज च्यानलका पत्रकार बेपत्ता भएको पुष्टि भएपछि उनको मोबाइल नम्बरमा डायल गरियो । घन्टी गएलगत्तै मोबाइल फोन उठ्यो । ‘हेलो तपाईं कहाँ ?’ पत्रकारको प्रश्नमा उनले भने, ‘म त अफिसमा हो ।’ ती पत्रकारले फेरि प्रश्न गरे, ‘तपाइर्लाई त भूतले बेपत्ता बनाएको होइन र !’ उनले जवाफ दिए, ‘कहाँ हुनु, म त ४ बजे नै घरको सटरबाट निस्केँ त !’ बल्ल ‘बेपत्ता पत्रकार’को रहस्य खुल्यो । तब भिड हट्दै गयो । भूतले बेपत्ता पार्‍यो भनिएका पत्रकार एभिन्युज टेलिभिजनका क्यामेरापर्सन वासु सत्याल थिए । सौर्यसँग उनले भूतले कुटेको हल्ला झुटो भएको प्रतिक्रिया दिए ।

यस्तो रहेछ रहस्य
सत्यालका अनुसार घरमा भूत बसेको हल्लाले घरबेटी दीपक मास्के दिक्क थिए । वास्तुशास्त्र नमिलेकाले यस्तो भएको जानकारी पाएपछि उनले वास्तुशास्त्री माधवमंगल जोशीलाई भने । जोशीले आफू टेलिभिजनको वास्त्रुशास्त्रसम्बन्धी कार्यक्रम सञ्चालक भएको हुँदा कार्यक्रमका लागि ‘भूतघर’ दह्रो मसला हुने देखे । त्यही भएर क्यामेराम्यानसहित उनी सोमबार मध्याह्न ‘भूतघर’ पुगे । अनि क्यामेराम्यानलाई दृश्य खिच्न लगाए । मानिसको भिड बढ्दै थियो । अवरोध पुग्ने देखेपछि उनीहरूले सुटुक्क घरको सटर बन्द गरे । अनि आफ्नो काम घरभित्रै खुरुखुर गर्न लागे । बाहिर के भइरहेको छ भन्ने केही पनि पत्तो भएन । काम सकेर करिब ४ बजे दुवै जना सटरबाटै घरबाहिर निस्किए । भिडबारे पत्तो नपाएका उनीहरूले अफिस पुगेपछि पो थाहा पाए आफूहरूलाई भूतले बेपत्ता पारेको हल्ला चलेपछि हेर्न पो जम्मा भएको रहेछ भिड त ।

प्रतिक्रिया