दहबन शिविरमा चेक र पैसा अपुग

दाङ, ४ वैशाख । रोल्पाको दहवनस्थित माओवादी लडाकुको पाँचौं डिभिजनमा स्वेच्छिक अवकाशमा निस्कने लडाकुहरुलाई दिइने चेक तथा पैसा अपुग भए पछि आज पुनःवर्गीकरण स्थगित गरिएको छ ।

चेक तथा पैसा सकिएकाले पुनःवर्गीकरण प्रक्रिया अघि बढाउन नसकिएको विशेष समिति सचिवालय टोलीका प्रमुख देवेन्द्र सुब्बाले जानकारी दिए । पैसा सकिएपछि आज नै सचिवालयमा सम्पर्क गरी पैसाको व्यवस्था गरिएको उनले बताए ।

‘अवकाशमा कमै निस्किन्छन् की भन्ने आँकलन गरेर चेक र पैसा थोरै ल्याएर आएका थियौं’, उनले भने, ‘अवकाशमा निस्किने धेरै भएपछि अपुग भएर एकदिन काम रोक्नुपर्ने भएको भयो, काम मंगलवार बिहानदेखि शुरु हुन्छ ।’

आइतवारसम्म रोल्पास्थित पाँचौं डिभिजनबाट पाँच सय १० लडाकु स्वेच्छिक अवकाश रोजेर शिविरबाट बाहिरिसकेका छन् । शिविरबाट निस्किएका अधिकांश लडाकुहरु उमेरको समस्याका कारण बाध्यात्मक रुपमा अवकाशमा जानुपरेको डिभिजन कार्यालयले जनाएको छ ।

रोल्पाको दहवनस्थित डिभिजन कार्यालय, दीर्घस्मृति व्रिगेड र सुनिलस्मृति व्रिगेडका ६ जना ५३ मध्ये २ सय ९७ जना अवकाशमा निस्किसकेका छन् । रोल्पाकै उँघामा रहेको ज्वारस्मृति व्रिगेड र मंगलसेन स्मृति व्रिगेडको अस्थायी शिविरमा रहेका ६ सय ३४ जना लडाकुमध्ये २ सय १३ जना लडाकु आइतबार चेक बुझेर शिविरबाट बाहिरिएका छन् ।

पाँचौं डिभिजन मातहत पहिलो चरणको पुनःवर्गीकरणबाट समायोजन रोजेका १ हजार २ सय ८७ जना लडाकु रहेका थिए ।
आज स्थगित गरिएको अवकाशमा जाने लडाकुहरुको विदाई मंगलबार बिहानदेखि शुरु गरिने र लडाकु झण्डै एक सयको हाराहारीमा अवकाशमा जाने अनुमान गरिएको टोली प्रमुख सुब्बाले बताए ।

छैटौ डिभिजनबाट ९ सय ८ लडाकु अवकाशमा

सुर्खेतको दशरथपुरस्थित छैटौ डिभिजनबाट आज सम्म नौँ सय ८ जना माओवादी लडाकुले स्वैच्छिक अवकाश लिएका छन् । सेना समायोजन विशेष समितिका सदस्य दीपक प्रकाश भट्टका अनुसार आज मात्रै एक सय ९४ जना लडाकुले स्वैच्छिक अवकाश लिएका हुन् ।

एक हजार पाँच सय ५९ लडाकु रहेको छैठौ डिभिजनमा अब छ सय ५१ लडाकु बाँकी रहेका छन् । अवकाश लिने क्रम जारी रहेकाले समायोजनमा जानेहरुको संख्या अझै घट्ने जनाइएको छ ।

प्रतिक्रिया