बैंक ठगीका फरार अपराधी पक्राउ

काठमाडौं, ३ वैशाख । विशेष अदालतले बैंक ठगी गरेको ठहर गरी साढे दुई करोड रुपियाँ जरिवाना फैसला गरेका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बखरी-८ का भरतराज कोइरालालाई अदालतले १३ कात्तिक ०६२ मा बैंक ठगेको ठहर गर्दै दुई करोड ४६ लाख १५ हजार रुपियाँ असुलउपर गर्ने फैसला गरेको थियो । अदालतको फैसलालगत्तै कोइराला फरार थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले आइतबार घट्टेकुलोबाट ५४ वषर्ीय कोइरालालाई पक्राउ गरी अदालतमा बुझाएको छ ।
कोइराला ‘लक्ष्मी आचार्य समूह’अन्तर्गतको बाग्मती ऊनी धागो कताइ उद्योग, अप्पी नप्पा कार्पेट र मेची ह्यान्डिक्राफ्टका सञ्चालक हुन् । प्रहरीका अनुसार उनले उद्योग चलाउने नाममा नेपाल बैंकबाट विभिन्न मितिमा ऋण लिएका थिए । उनले बैंकबाट बाग्मती ऊनी धागो कताइ उद्योगको नाममा पाँच करोड ६७ लाख ६२ हजार, अप्पी नप्पा कार्पेटको नाममा १६ लाख दुई हजार र मेची ह्यान्डिक्राफ्टको नाममा ९७ लाख ८६ हजार रुपियाँ लिएका थिए । उनले नेपाल बंगलादेश बैंकबाट एक करोड ९१ लाख ९३ हजार रुपियाँ ऋण लिएका थिए ।

प्रतिक्रिया