जथाभाबी स्टिचिङले नोट चाँडै झुत्रो

विराटनगर, २ वैशाख । नोटको प्याकेट र बन्डलमा जथाभाबी गरिने स्टिचिङ र लेबलिङले नोट चाँडै झुत्रो बन्ने गरेको छ ।    तर, राष्ट्र बैंकले बैंक र वित्तीय संस्था सबैलाई जथाभाबी लेबलिङ र स्टिचिङ नगर्न निर्देशन गरे पनि कारबाही नहँदा नियम पालना भएको पाइँदैन ।झुत्रा नोट संकलन गरी समयमै नयाँ नोट सबैतिर पुर्‍याउन राष्ट्र बंकले आर्थिक वर्ष
०६७ /६८ मा मौदि्रक नीति परिवर्तन गरेर सफा नोट नीति लागू गरेको थियो । उक्त नीतिअनुसार लेबलिङ र स्टिचिङले नोट झुत्रो बन्ने भएकाले स्टिचिङ, लेबलिङ र नोटमा जथाभावी लेख्नेलाई जरीबाना गर्नसक्ने समेत उल्लेख छ ।
राष्ट्र बैंक मुद्रण विभागका कार्यकारी निर्देशक आश्विनीकुमार ठाकुर जथाभाबी नोटमा लेबलिङ र स्टिचिङ भइरहेकाले अनुगमन गरी राष्ट्र बैंक शाखाहरूले आवश्यक कारबाही गर्नसक्ने बताए । राष्ट्र बैंकले पूर्वराजा अंकित, राता र सगरमाथा अंकित पुराना नोट हरियो र सगरमाथा अंकित नयाँ नोट सेतो लेबलिङ गर्ने गरेको र अरूले पनि सोहीअनुसार गर्नुपर्ने जानकारी उनले दिए ।
तर, निजी बंैक र वित्तीय संस्थाहरूले राष्ट्र बंक नीतिको ठाडो उल्लंघन गरिरहेको भए पनि राष्ट्रबैंकले अनुगमन भने नगरेको विराटनगरका मनीचेन्जर व्यवसायी उमेश पोख्रेलले बताए । बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, मनीचेन्जरदेखि सुनपसलहरूले समेत नोटको प्याकेटमा आफ्नो मार्काको लेबलिङ गरेर स्टिचिङ गरिरहेका छन् । मुद्रण व्यावासायीका अनुसार जथाभाबी लेबलिङ भएको नोटको प्याकेट र बन्डलले गर्दा कारोबार गर्न हैरानी हुने गरेको छ । साथै नोट खोल्नु र गन्नुपर्ने भएकाले चाँडै झुत्रो हुने गर्दछ ।
राष्ट्रबैंक मुद्रण विभागका निर्देशक वसन्तबहादुर शाक्यले एकभन्दा बढी स्टिचिङ र लेबलिङ गरिएको पाइएमा भुक्तानी नदिन प्रस्ट निर्देशन दिएको बताए ।
उनले नोटलाई लेटर प्याड मानेर जथाभावी लेख्ने प्रचलनसमेत रहेकाले त्यस्ता नोटसमेत बंकले संकलन गरेर राष्ट्र बैंकलाई बुझाउनु पर्ने नीति रहेको बताए ।
राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र केही ‘क’ वर्गका निजी बंकहरूलाई नोटकोष सेवा सञ्चालनका लागि अनुमति दिएको छ । पूर्वमा राष्ट्रिय वाणिज्य बैंकले सुनसरी, झापा, सप्तरी, सिरहा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, उदयपुरलगायतका १० जिल्ला शाखाहरूमा नोटकोष सेवा सञ्चालनको अनुमति लिएको छ । देशभर वाणिज्य बैंकले ४३ नेपाल बैंकले २४ स्थानमा नोटकोष सेवा सञ्चालनमा छन् । यसबाहेक ‘क’ वर्गका निजी बंकहरू किस्ट, एभरेस्ट, नबिल आदिले पनि नोटकोषको अनुमति पाएका छन् ।

प्रतिक्रिया