रुवाए अनि हंसाए बद्रीले

काभ्रे, २ वैशाख । लाऊ चेली सिन्दूर लाऊ, निको पार हृदयको घाउ । गायक बद्री पंगेनीले यो गीत गाएका मात्रै थिए, सशस्त्र द्वन्द्वमा मारिएका व्यक्तिका आफन्तजन एकाएक भावुक हुन      पुगे । उनीहरूका आँखाबाट आँसु झरिरहेको थियो ।
काभ्रेको दक्षिणपश्चिमी क्षेत्र रयाले गाविसमा शनिबार आयोजित सांस्कृतिक कार्यक्रम तथा एमालेको गाउँ अधिवेशनमा गायक पंगेनीले यस्तै महिलावादी गीतमार्फत दर्शकश्रोताको मर्म पगालेका      थिए । त्यसो त गायक पंगेनीले गीतमार्फत नेताहरूलाई व्यंग्य गर्दै भावुकतामा डुबिरहेको माहोलमा हाँसोको सञ्चार पनि गराउन भ्याइहाले । उनले नेताहरूलाई जनताका सामु गरेको वाचा पूरा गर्न आग्रह गरे ।
दोहोरीको माहोल जमिरहेको कार्यक्रममा पंगेनीले स्थानीय दर्शकलाई ‘दोहोरी गाउन हिम्मत भए आउनुस्’ भनेर हौस्याउँदा दर्जन बढी महिलाले दोहोरीमार्फतै उनको गीतको जवाफ फर्काएका    थिए ।
त्यसो त स्थानीय वृद्ध कलाकारले जिल्लाबाटै लोप हुन लागेको पुरानो खैंजेडी भजन प्रस्तुत गर्दा लोकदोहोरीमा डुबिरहेका दर्शकले फरक स्वादको अनुभूति गरे । उनीहरूले भजनमार्फत ‘वृद्ध भइयो, स्वर खाइयो, पंगेनीजस्तो लोकपि्रयता कमाउने बेला खैंजेडी नै लोप भयो’ भन्दै गायक पंगेनीलाई दोहोरीमार्फत यसको जवाफ फर्काउन चुनौती दिएका थिए । भजनमा अहिलेको राजनीतिक प्रवृत्ति अनि सत्ताको खेलमा डुबिरहेका नेताहरूप्रति व्यंग्य पनि गरिएको थियो ।
रयाले, कुशादेवी, ललितपुरको लामाटार र भक्तपुरदेखि पुगेका दर्शकलाई लोकगायक डिबी कालिजले पनि सांगीतिक मनोरञ्जन गराएका थिए ।

प्रतिक्रिया