अझै तयार भएन अवधारणापत्र

काठमाडौं, २ वैशाख । राष्ट्रिय महिला आयोगमा तामझामका साथ फरकफरक विषयलाई वर्ष अभियानका रूपमा घोषणा गर्ने अनि कार्यान्वयनको समयमा भने अलमलमा पर्ने नियति यस वर्ष पनि दोहोरिएको छ । चालु आर्थिक वर्ष सकिन अब तीन महिना मात्र बाँकी रहे पनि आयोगले ‘महिला र वातावरण’ अभियानको अवधारणापत्र अहिलेसम्म बनाउन सकेको छैन ।
तीन वर्षदेखि आयोगले विभिन्न विषयलाई महिलासँग जोडेर वर्ष अभियान चलाउँदै आएको छ । आव २०६६/६७ मा महिला र सञ्चार तथा ०६७/६८ मा महिला र स्वास्थ्यलाई वर्ष अभियान बनाएको थियो । कार्ययोजनाविना वर्ष अभियान घोषणा गर्ने र समीक्षाविना वाषिर्क प्रतिवेदन बनाउनाले अभियानका उपलब्धि संस्थागत हुन नसकेको आयोगका कर्मचारी स्वीकार गर्छन् । ‘अभियान घोषणा गर्दा बैठकमा न छलफल हुन्छ, न त कार्ययोजना बनाउँदा नै,’ एक कर्मचारीले भने, ‘प्रतिवेदन बनाउँदा सबै आयुक्तबीच छलफल पनि हुँदैन ।’ उनका अनुसार यसअघिका वर्ष अभियान दुई/चारवटा अन्तक्रिर्यामै सम्पन्न भएका थिए । यो वर्षको अभियान महिला र वातावरणमा पनि आयोगले एउटा मात्र छलफल चलाएको छ ।
अभियानबारे जिज्ञासा राख्दा आयोगका सचिव बद्री पोखरेलले अवधारणापत्र तयार भइरहेको बताए । ‘कस्तो काम गर्ने भन्नेबारे विज्ञहरुलाई अवधारणापत्र तयार गर्न लगाइएको छ,’ सचिव पोखरेलले सौर्यसँग भने ।
सन १९९५ मा चीनमा भएको महिलाहरूको चौथो विश्व सम्मेलनले महिला सशक्तीकरण तथा लैंगिक समानतासम्बन्धी १२ विषयको पहिचान गरेको थियो । सम्मेलनमा ती विषय समावेश गरी राष्ट्रिय कार्ययोजना बनाएर कार्यान्वयन गर्ने सहमति भएको थियो । ती मुद्दालाई एक/एक गरी आयोगले आफ्नो कार्ययोजना बनाएको छ ।
आफ्नो दसौं स्थापना दिवसका अवसरमा आयोगले राष्ट्रपतिबाट तामझामका साथ महिला र स्वास्थ्य वर्ष अभियान सुरु गरेको थियो । यसबारे आयोगले सुझाब संकलनसमेत गरेको थियो । आयोगको वाषिर्क प्रतिवेदनअनुसार ती सुझाब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको थियो ।
कार्यक्रम शाखामा अभियानमा गरिएका कार्यक्रम संग्रह गरिएको छैन, न एउटा अभियानको उपलब्धि  र समस्याका आधारमा अर्को अभियानको कार्यायोजना तय गरिन्छ । आयोगका प्रशासन प्रमुख मधु अर्यालका अनुसार वर्ष अभियानका कार्यक्रमले अर्को वर्षसम्म निरन्तरता पाउँदैनन् । महिला र स्वाथ्य वर्ष अभियानको जिम्मेवारीसमेत सम्हालेकी अर्यालले भनिन्, ‘वर्ष अभियानलाई बीचमै छाड्ने गर्दा कुनैले पूर्णता पाउँदैन ।’ सचिव पोखरेललेे अभियानहरु वर्ष दिनमा मात्रै सीमित नहुने बताए ।
आयोग अध्यक्ष शेष चाँदतारा अभियानबारे आफू अनभिज्ञ रहेको बताउँछिन् । चार महिनाअघि आफूले कार्यभार सम्हाल्दा यसबारे छलफल भएको उल्लेख उनले गरिन् ‘अहिले त मलाई केही पनि थाहा छैन ।’ उनका अनुसार छाया झा भन्ने व्यक्तिलाई अवधारणापत्र बनाउने जिम्मा दिइएको छ ।

प्रतिक्रिया