संकटा क्लवका २ खेलाडी पक्राउ

काठमाडौं, २ वैशाख । प्रहरीलाई दुरव्यवहार गर्ने संकटा क्लवमा आवद्ध दुई बिदेशी खेलाडीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमा आजदेखि सुरु भएको ब्रिटिस गोर्खा कप फुटवल प्रतियोगतामा संकटा क्लवका तर्फबाट सहभागी अफ्रिकन मुलका खेलाडी २८ वर्षीय लिमिडामी र १८ वर्षीय पाभिसलाई पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुरव्यवहार गरेपछि पक्राउ गरेको प्रहरी भनाई छ । उनीहरुलाई प्रहरीले करिव सवा तीन वजे पक्राउ गरेको जनाएको छ । यस विषयमा संकटा क्लवले केही बताएको छैन ।

मादक पदार्थ सेवन गरेर जथाभावी गरेका संकटा क्लवका ती दुई खेलाडीलाई सम्झाउने प्रयास गर्दा समेत नमानेको प्रहरीले उल्लेख गरेको छ ।

यसैवीच, प्रहरीले कोटेश्वरमा बन्दको प्रचार प्रसार गर्दै हिडेका केही व्यक्ति र सवारी सधानलाई पनि नियन्त्रणमा लिएको छ । संयुक्त जनमुक्ती पार्टीका नाममा बन्दको प्रचार गर्दै हिडेका सो पार्टीका केन्द्रीय सदस्य रमेश पहरी सहित ५ जनालाई प्रक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट बा १ ज ५८३ नम्बरको ट्याक्सी र प्रचार प्रसारका लागि राखिएका अन्य सामान समेत बरामद गरेको छ ।

प्रतिक्रिया