एक साता पछि पुनः वर्गिकरण र विदाई

कैलाली, २ वैशाख । जनमुक्ति सेनाको कैलालीस्थित सातौ डिभिजनमा सेना समायोजन तथा रेखदेख विशेष समितिको टोली आएको एक साता पछि मात्रै लडाकु पुनः वर्गिकरण र अवकाश रोज्न लडाकुको बिदाई सुरु भएको छ ।

टोली संयोजक गोपालसिंह बोहराले सातौं डिभिजनको सहायक शिबिर लोकेशस्मृति ब्रिगेड गोरंगेमा आज बिहान ९ बजेदेखि लडाकुहरुलाई पुनः वर्गिकरण गरी अवकाश रोज्नेलाई चेक दिएर बिदाई दिन थालेको बताए ।

सेना समायोजन तथा रेखदेख विशेष समितिका सचिवालय सदस्य बोहराको संयोजकत्वमा १२ सदस्यीय टोली गत शनिवार शिविरहरुमा पुगेको थियो ।

गोरंगेमा सकिएपछि अर्को सहायक शिविर लिस्नेगाम स्मृति ब्रिगेड बडैपुरमा पुनः वर्गिकरण गरी अवकाश रोज्नेलाई अवकाश रकमको चेक वितरण गरिने बोहराले बताए ।

मुख्य शिविर तालबन्दमा काम सुरु गरिने पनि उनको भनाई छ । सातौं डिभिजनमा कुल १७ सय ६२ जना लडाकु रहेका छन् । दुई सहायक शिविरमा ५ सय ४० लडाकु छन् भने मुख्य शिविरमा तालबन्दमा १२ सय २२ लडाकु छन् ।

सातौ डिभिजनमा रहेका जम्मा ३ हजार १ सय ३१ लडाकु मध्ये पहिलो पुनः वर्गिकरणमा १३ सय ६६ जना लडाकुले अवकाश रोजेका थिए ।

३ जनाले पुनःस्थापना राजेका छन् । आज देखि उनीहरुलाई पुनः अवकाश रोज्ने मौका दिईने छ ।

यता, सुर्खेतको दशरथपुरस्थित माओवादी लडाकुको छैटौ डिभिजनबाट आज अवकाश रोज्ने २ सय ४९ जना लडाकुहरुलाई विदाई गरिएको छ ।

अवकाश बापत पाउने कुल रकमको आधा रकम दिएर उनीहरुको विदाई गरिएको सेना समायोजन विशेष समितिका सदस्य एवं टोली प्रमुख दीपकप्रकाश भट्टले जानकारी दिए । एक हजार ५ सय ५१ जना लडाकु रहेका छैटौ डिभिजनबाट हालसम्म ४ सय लडाकुले स्वैच्छिक अवकाश रोजेको उनले जनाए ।

गत मंगलबार ३९ जनाको विदाई गरिएपछि रोकिएको पुनवर्गीकरण र विदाईको काम शुक्रबारदेखि पुनःशुरु भएको थियो । अवकाश रोज्ने अन्य लडाकुहरुको विदाई आइतबार पनि जारी रहने टोली प्रमुख भट्टले जानकारी दिए ।

चितवनमा, माओवादी लडाकुको तेस्रो डिभिजन शक्तिखोरमा लडाकुको पुनः वर्गिकरण अन्तरगत आज पनि चेक वितरण जारी छ ।

सार्वजनिक बिदाका दिनपनि सचिवालयमा चेक बुझ्न आउने लडाकुलाई रकम हस्तान्तरण गरिएको सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिए ।

उनका अनुसार अपरान्ह तीन बजेसम्म तीन सय लडाकुले चेक बुझेका छन् । साँझसम्म चार सयसम्मलाई चेक हस्तान्तरण गर्ने योजना रहेको उनले बताए ।

शक्तिखोरको तेस्रो डिभिजनमा शुक्रबारदेखि पुनः वर्गिकरण अन्तरर्गत स्वेच्छिक अवकाश रोज्ने लडाकुलाई रकम हस्तान्तरण सुरु भएको हो । शुक्रबार तीन सय ८३ जना लडाकुले चेक लिएका थिए ।

शक्तिखोरमा यसअघिको वर्गिकरणमा दुई हजार दुई सय १४ जनाले समायोजन रोजेका थिए ।

प्रतिक्रिया