देउवा समूहका विद्यार्थी सभापति बिरुद्ध खनिदै

काठमाडौं, १८ चैत । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा समूहका विद्यार्थीले सभापति सुशील कोइराला सहभागी हुने सबै कार्यक्रममा कालो झण्डा सहित बिरोध गर्ने घोषणा गरेका छन् ।

देउवा समूहका विद्यार्थीले राजधानीमा आज पत्रकार सम्मेलन गरेर आफूहरुको राजीनामा सम्बोधन नभएसम्म कालो झण्डा सहित कोइरालाको बिरुद्ध बिरोध प्रदर्शन गर्ने जनाएका हुन् । उनीहरुले नेविसंघको नाममा हुने सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने समेत बताएका छन् ।

नेविसंघका नेता ऋषिकेशजंग शाहले आफूहरुका मागमा सम्बोधन नभए समानान्तर समिति गठन गर्ने चेतावनी दिए ।

शुक्रवार केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने क्रममा भएको झडपको घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरुले सो घटना पार्टी सभापति कोइरालाको निर्देशनमा भएको आरोप लगाए । अहिलेको पार्टी नेतृत्वबाट घोषणा गरिएको एक सय एक सदस्सीय नेविसंघ केन्द्रीय कार्यसमिति तत्काल भङग गरी छिटोछरितो खालको समिति बनाउन देउवा समूहका विद्यार्थी नेताहरुको माग छ ।

अहिलेको जम्बो कार्यसमितिले नेविसंघको महाधिवेशन गर्न नसक्ने देउवा समूहका विद्यार्थीको दाबी छ । अब बन्ने कार्यसमितिमा समाबेशी, मर्यादाक्रमका आधारमा गरिनुपर्ने, छात्रा, शहीद परिवार, बिभिन्न विश्व विद्यालय एवं महत्व पूर्ण जिल्लाहरुको न्यायोचित प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ ।

पाँच चैतमा नेविसंघको १ सय १ सदस्सीय कार्यसमिति बनाएपछि देउवा समूहका विद्यार्थी नेताहरु असन्तुष्ट भएका थिए । देउवा समूहका २८ जना केन्द्रीय सदस्यले पदबाट सामूहिक राजीनामा दिएपछि नेविसंघको बिवाद चुलिदै गएको छ ।

प्रतिक्रिया