पूर्व राजा शाह पूजापाठमा व्यस्त

कैलाली, १८ चैत । धार्मीक भ्रमणका क्रममा तीन दिनदेखि कैलालीको धनगढीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज धनगढीका दुई मन्दिरमा पुजापाठ गरेका छन् । उनले धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिर र नैनादेवी मन्दिरमा पुजापाठ गरेका हुन् ।

होटेल रुवमा बसेका पूर्व राजा शाहले पुजापाठका लागि नैनादेवी मन्दिर पुग्न करिब आधा घण्टा बढि लगाएका थिए । नैनादेवी मन्दिरमा उनले करिब पौने घण्टा पुजाआजामा बिताए ।

नैनादेवी मन्दिर परिसरमा रहेको गणेश मन्दिर, नैनादेवी भगवती र महायज्ञमा समेत उनले पुजापाठ गरेका थिए ।

पूर्वराजा शाहले नैनादेवी मन्दिरमा संचालन भइरहेको महायज्ञको पूर्णाहुती समेत गरेका छन् । पुजाका लागि निस्किएका उनलाई सडकमा रहेका शुभेच्छुक र अन्य सर्वसाधारणले स्वागत गरेका थिए ।

स्वागतका लागि जम्मा भएका समर्थकहरुले राजा र राजतन्त्रको पक्षमा समेत नारावाजी गरेका थिए । समर्थहरुले उनलाई सक्रिय हुन आग्रह गरेका थिए । तर उनी केही नबोलेरै समर्थकहरुमाझ हास्दै हात र टाउँको हल्लाएर अभिभावद गर्दै अगाडि बढेका थिए ।

नैनादेवी मन्दिरमा पुजापाठपछि उनी सिधै एलएनचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पुजापाठ गर्न गएका थिए । लक्ष्मीनारायण मन्दिरमा करिब ६/७ मिनेट पुजापाठ गरि पूर्व राजा शाह होटेल फर्केका थिए । दुई मन्दिरमा पुजापाठका गरेका पूर्वराजाले धेरै गर्मी र थकान भएको भन्दै शनिबार कुनैपनि औपचारिक भेटघाट कार्यक्रम नगरेको नागरिक मुल सरोकार समितिका सचिव तथा राप्रपा नेपालका नेता छत्र साउँदले जानकारी दिए ।

शुक्रबार आफै सवारी सधान चलाएर महेन्द्रनगर गएका उनले शनिबार भने गाडी चलाएनन् । राजासंगै उनका स्वकीय सचिव सागर तिमिल्सीना र फणिन्द्रराज पाठकपनि छन् ।

राप्रपा नेपालका उपाध्यक्ष धवलसमशेर जबरा, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायतका राजावादी नेताहरु पनि पूर्व राजासँग रहेका छन् ।

पूर्वराजा शाह चढ्नका लागि उनकै गाडी सहित अन्य तीन वटा सवारी सधान लगिएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाका मेजर १२ जना र सशस्त्रका निरीक्षकको कमान्डमा त्यति नै संख्यामा प्रहरीहरु खट्टिएका छन् ।

पूर्वराजा शाह तीन दिनदेखि होटेल रुवसको चौथो तलाको स्वीट रुममा बसेका छन् । आइतबार उनले घोडाघोडी मन्दिरमा पुजाआजा र तालको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया