छापामारलाई पत्रकारको बयान

साँझ छिप्पिँदै गयो, त्यसरी नै गोधुलि साँझ ढल्दै गयो, बाटो अँधेरीले छोप्दै थियो । यही कारण २०६० साल कात्तिक अन्तिम साताको एक साँझ पाँचथरको रवि बजार पुगेपछि घर पुग्ने हतारो निक्कै बढेको थियो । तर, देउराली उकालो -रवि बजार नाघेपछि भेटिने उकालो)ले थकाइ लगाएरै छाड्यो । इलामदेखि पाँचथरको सीमावर्ती क्षेत्र राँके, घुर्पिसे पञ्चमी, सप्तमी, रवि हुँदै घर -बाँझो-६, नागी) जाँदा अन्तिम-अन्तिममा पर्ने यही उकालोले पटकपटक थकाउने गर्छ । नभन्दै देउराली डाँडा पुग्न मलाई यसपटक हम्मेहम्मे नै पर्‍यो । देउराली डाँडा नाघ्न त नाघियो तर एक खुड्किलो तल्तिर पर्ने हुलाक झरेपछि झमक्कै रात पर्‍यो । तब बाटैमा भेट भएका भान्जा राजेन्द्र नेम्बाङको आग्रहमा उनको घर इभाङको खाम्नुवातर्फ लागियो ।

हुलाकबाट घर पुग्न डेढ घन्टाजति मात्र लाग्ने भए पनि त्यसबेलाको अर्थात् द्वन्द्वकालीन अवस्थालाई मध्यनजर गर्दै रातको समयमा यात्रा अघि नबढाउने निधोमा पुगेको थिएँ । तर, जुन सम्भावित दुर्घटनाबाट बच्न खोजेको थिएँ उस्तै विपत् नै पो आइलाग्यो । संयोग पनि कस्तो-कस्तो जुर्छ ! भान्जाको घर पुगेको मात्रै के थिएँ । तत्कालीन नेकपा -माओवादी) का कार्यकर्ता त्यो गाउँमा आएको थाहा पाएँ । म त्यहाँ पुगेको ‘गन्ध’ पाएछन्, तत्कालै मेरो सोधीखोजीमा आए उनीहरू । मेरो सोधीखोजीमा आएका ती माओवादी कार्यकर्तासँग पहिलो चरणमा सामान्य गफ भयो । औपचारिकताका कुरा भए । मसँग गफ गर्न दुईजना कोठाभित्र आएका थिए । माओवादी कार्यकर्ता बाहिर कति थिए थाह पाइनँ । हतार-हतार बाहिर निस्किएर गन्ने कुरा पनि भएन । हल्लाचाहिँ निक्कै आइरहेको थियो ।

ती दुईजना बाहिरिएको केही बेरपछि नै हतियारले सुसज्जित दुईजना लडाकू आए । तर, पछिल्लोपटक आएका दुईजना भने ‘गडगडाहट’ का साथ आए । गडगडाहट यसर्थमा कि— उनीहरूले बाहिरै भन्दै थिए, ‘यहाँ को पत्रकार छ रे !’ अन्ततः उनीहरू ‘त्यसरी नै’ म बसेको कोठामै आए । उनीहरूले मलाई अपराधीलाई झैँ केरकार गर्न थाले । म पहिलोपटक बन्दीझैँ बन्न थालेँ ।

माओवादीले सशस्त्र संघर्ष चलाएपछि उसका लडाकूहरूसँग पहिलोपटक नै हो यसरी जम्काभेट भएको । सामान्य तवरबाट भेट हुने गरेको भए पनि उनीहरू यसअघि धम्कीपूर्ण तवरबाट मसँग प्रस्तुत भएका थिएनन् । त्यसबेलासम्म इलाम जिल्लामै समाचारको विषयमा पत्रकारहरू खासै ‘दबाब’मा परेका थिएनन् । मैले पनि त्यस्तो अवस्था भोग्नुपरेको थिएन । यसपटक भने जीवन-मरणको दोसाँधमै परेको महसुस हुन थाल्यो । अन्ततः म घेरिइसकेको रहेछु । त्यो घेराबन्दीबीच म ‘बयान’ दिनबाहेक के नै गर्न सक्थेँ र ! ती दुई लडाकाले मलाई धम्क्याउने र बयान लिने क्रम जारी रह्यो ।
मसँग भएको पावनभूमि साप्ताहिकको प्रेस पासले काम गरेन । मसँग इसारा हवाई मासिक पत्रिकाको परिचयपत्र पनि थियो, त्यसले पनि भएन । यस्ता परिचयपत्र त जति बनाए पनि भइहाल्छ नि भन्दै उनीहरूले उछितो काढ्न थाले । उनीहरू मलाई तत्कालीन अवस्थामा मारिएका पत्रकारको अवस्था भोग्नुपर्ने धम्की दिन पनि पछि परेनन् । यसको स्पष्ट संकेत म मारिन पनि सक्ने भन्ने थियो । यद्यपि, म उनीहरूको केरकारबाट निर्दोष भने साबित हुँदै गएको थिएँ । उनीहरू भने दोषी बनाउन खोज्दै थिए । मलाई इलाम जिल्लाकै पत्रकारिताको बयान बकाइँदै थियो । मेरो बयान माओवादीविरुद्धका समाचारका विषयमा केन्दि्रत थियो ।

‘म सुराकी हुँ कि’ भन्ने शंका उनीहरूको रहेछ भन्ने कुरा प्रत्येक गतिविधिबाट झल्कन्थ्यो । उनीहरू मलाई ‘अपहरण’ गर्ने धम्की दिइरहेका थिए । म उनीहरूसँगै हिँड्नुपर्ने दबाब आइरहेको थियो । म प्रतिकार गरिरहन्थेँ— ‘म किन तपाइँहरूसँग हिँड्नुपर्ने ?’ अन्ततः उनीहरूले मेरो दोष देखेनन् होला, ‘माओवादीको पक्षमा समाचार लेख्ने’ र ‘इसारा हवाई मासिक पत्रिकामा माओवादी कविता छाप्नुपर्ने’ दबाब आयो । मैले ‘साहित्यिक मूल्यका रचना भए आफ्नो पत्रिकामा छाप्ने’ स्पष्ट पारेँ । उनीहरूले आफूहरू ‘माओको विद्यार्थी’ भएको भन्दै दबाबकै संकेत गरे । यही दबाबसँगै बिहान उनीहरूलाई नभेटी खाम्नुवा गाउँ नछाड्न उर्दी जारी गरियो ।

सायद मध्यरात थियो होला, म निक्कै हतोत्साही भएको र डराएको अवस्थामा थिएँ । उनीहरूले करिब पाँच घन्टा केरकार गरेपछि मलाई निगरानीमै छाडेका थिए । अर्थात्, मलाई भोलि बिहानसम्म बिनाअनुमति गाउँ छाड्न निषेधाज्ञा जारी गरिएको थियो । मलाई त्यो रात खाना पनि रुचेन । सायद थोरै खाएँ हुँला । मनमा ‘डरको बाजा’ बजिरहेको थियो । घरगाउँले पनि निक्कै आत्तिएका रहेछन् । मलाई ‘केही हुने हो कि !’ भन्ने पीर परेछ उनीहरूलाई । नहुन् पनि कसरी ! म माओवादी लडाकुको केरकारबाट मुक्त भए पनि नियन्त्रणबाट मुक्त भइसकेको थिइनँ । रात छटपटी र हुटहुटीमै बित्यो । इलाम सदरमुकामदेखि पैदल हिँड्नुको थकान त कता हरायो कता !

भोलि बिहान उठीवरी नित्यकर्म गरेँ । बिहानको ८-९ बज्दा पनि उनीहरू आएनन् । मैले यसो भन्दा उनीहरूले गाउँ नै छाडेका भने होइनन् । उनीहरूका सेन्ट्रीहरू गौडागौडामा बसेका थिए । म अझै निर्धक्क बन्न सकिरहेको थिइनँ । ‘हिलो परेको ठाउँमा छिटा पर्छ’ भनेझैँ म एकप्रकारले आत्तिएकै अवस्थामा थिएँ । बिहानको अन्तिमतिर उनीहरूका कमान्डर भनिएका व्यक्ति एकजना महिला कार्यकर्ता लिएर आए । तर, उनीहरू मसँग बोलेनन् ! हिजो रातिको जस्तो मलाई केरकार गर्नतिर पनि लागेनन् । मैले यसको आशय बुझिनँ । त्यसपछि मैले खाम्नुवा गाउँबाट घरतर्फ लाग्ने निधो गरेँ । हिँड्ने बेला ‘लागियो’ है भनेँ । उनीहरूबाट खास प्रतिक्रिया आएन । तब भान्जा र इलामबाट सँगै आएकी भतिजी हिमालसँग बाटो लाग्यौँ ।

त्यस क्षेत्रको कमान्डर भनिएका व्यक्तिलाई केही दिनपछि स्थानीय माङ्मालुङ बजारमा भेटेको थिएँ । उनी निर्माणाधीन फाल्गुनन्द मार्गको माङ्मालुङ जंगलमा ट्याक्सी दुर्घटनाको विवरण लिन आएका रहेछन् । म पनि दुर्घटनाको समाचार बनाउनका लागि त्यतै गएको थिएँ । उनलाई मैले सोधेँ, ‘मलाई चिन्नुभयो ?’ उनीबाट ‘चिनेको’ जवाफ आयो । कुराकानी लम्बिएन । त्यसपछि उनीसँग मात्र होइन, त्यो टोलीसँग नै जम्काभेट भएन । पछि थाहा भयो- मलाई केरकार गर्नेमध्येका कमान्डर भनिएका ती व्यक्ति त इलामको महमाई -उनकै गाउँ)मा सुरक्षाकर्मीबाट मारिएछन् । दुःख लाग्यो । उनी मारिएको खबर थाहा पाएपछि साथीहरूले मलाई जिस्क्याउन थाले, ‘भाले काटेर खाइयो होला नि !’

प्रतिक्रिया