जेठ १४ मा संविधान आउँछ ढुक्क हुनुस्

काठमाडौं, १७ चैत । प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेताहरुले तोकिएकै समयमा नयाँ संविधान बन्ने आश्वासन दिएका छन् ।

रिपोर्टर्स क्लव नेपालको बार्षिकउत्सवका अबसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सहभागी शीर्ष नेताहरुले शान्ति प्रक्रियाका केही महत्वपूर्ण  बिषयमा निर्णयहरु भएकाले संविधान तोकिएकै समयमा जारी हुने दाबी गरे । उनीहरुले शान्ति प्रक्रियाका बिषय अन्तर्गत लडाकु समायोजमा बिशेष समितिमा आजै दलहरुले महत्वपूर्ण तीन निर्णय गरेको बताएका छन् ।

प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया अन्तर्गत लडाकुको समायोजनका बिषयमा तीन वटा निर्णय भएको बताए । उनले चैत मसान्त सम्म कन्टेनरका हतियार सरकारलाई बुझाउने तथा चत्रै मसान्त भित्रै बाँकी रहेका लडाकुलाई स्वयच्छिक अवकाशमा जान रोज्न दिने बताए ।

भट्टराईले लडाकुलाई स्वयच्छिक अवकाश रोज्न दिएपछि बाँकी रहने ६ हजार ५ सयलाई नेपाली सेनाको जिम्मेवारी लगाएर समायोजन गर्ने बताए ।

शान्ति प्रक्रिया अन्तर्गतका महत्वपूर्ण निर्णय हुँदै आएकाले संविधानका बिवादित बिषयमा पनि सहमति निष्कने भट्टराईको भनाई थियो ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि तोकिएकै समयमा नयाँ संविधान बन्ने बताए । उनले शान्ति र संविधानको काम संगसंगै अगाडि बढ्ने बताएका छन् । दाहालले संघीयता सहितको संविधान जारी हुने बताए ।

कांग्रेस सभापति सुशील कोइरालाले पनि नयाँ संविधान जेठ १४ गते भित्रै ल्याउने बताए । उनले सेना समायोजनको काम सक्कियो भने संविधानमा खासै समस्या नरहेको बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने नयाँ संविधान जेठ १४ गते भित्र कदापि बन्न नसक्ने दाबी गरे । उनले शान्ति प्रक्रियालाई टुङगाएर जेठ १४ गते भित्र नयाँ संविधान जारी गर्न प्रमुख दलहरुलाई चुनौति दिएका छन् ।

प्रतिक्रिया