मधेसी दलहरू महाधिवेशनको चटारोमा

काठमाडौं, १६ चैत । मधेसी दलहरू चैत र वैशाखमा पार्टीको महाधिवेशन गर्ने तयारीमा जुटेका छन् । महाधिवेशनको मिति घोषणा गरिसकेका विभिन्न दलका नेता कार्यकर्ता आआङ्खनो पक्षमा पार्न दौडधुपमा छन् ।
सद्भावना पार्टी र संघीय सद्भावनाले वैशाखमा महाधिवेशनको मिति तोकेका छन् भने फोरम नेपालले यही चैतभित्र ‘मिनी महाधिवेशन’ राष्ट्रिय कार्यकर्ता सम्मेलन गर्र्दैछ । तमलोपाले पनि महाधिवेशनको तयारी गरिरहेको छ । उसले १४ जेठभित्रै महाधिवेशन गर्ने जनाएको छ ।
महाधिवेशनको घोषणा गरिसकेका दल महाधिवेशन प्रतिनिधि चयन गर्न व्यस्त छन् । त्यसका लागि जिल्लास्थित कार्यकर्तालाई आफूतिर ल्याउन ‘होडबाजी’ नै सुरु भएको छ । जिल्ला, क्षेत्रीय र गाउ एकाइको अधिवेशनलाई दलहरूले तीव्रता दिएका छन् ।
२२ वैशाखदेखि तीन दिन पाचौ महाधिवेशन गर्ने निर्णय गरेको सद्भावना पार्टीले महाधिवेशनको स्थान भने केही दिनमा तय गरिने जनाएको छ । ‘यतिखेर हामीले संगठन विस्तारलाई तीव्रता दिएका छौं,’ महामन्त्री मनीष सुमनले भने, ‘महाधिवेशन प्रतिनिधि छान्ने काम भइरहेको छ ।’
पछिल्लो समय सद्भावना पार्टी दुईपटक फुटिसकेको छ । सुरुमा अनिल झालगायतका नेताले संघीय सद्भावना र त्यसपछि रामनरेश यादवलगायतले राष्ट्रिय सद्भावना पार्टी गठन गरे । महामन्त्री सुमनले भने पार्टी विभाजनले संगठन विस्तारमा असर नपारेको दाबी गरे । संघीय सद्भावनाको पहिलो महाधिवेशन आगामी ८ वैशाखदेखि तीन दिन वीरगन्जमा हुने भएको छ । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष झाको संयोजकत्वमा २७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको पार्टीले जनाएको छ ।
तमलोपा महाधिवेशन भने दुईपटक घोषणा गरिए पनि दुईपटक नै स्थगन भएको छ । २०६७ कात्तिकमा महाधिवेशन गर्ने भनिए पनि तयारी पूरा नभएको भन्दै स्थगन भएको थियो । त्यसपछि वैशाखमा गर्ने भनिएको महाधिवेशन पनि स्थगन भएको छ । पार्टी प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले १४ जेठभित्रै जसरी भए पनि महाधिवेशन गर्ने बताए ।
शुक्लका अनुसार धनुषा, सर्लाहीलगायत जिल्लामा जिल्ला अधिवेशन भइसकेको र महोत्तरी, रुपन्देही, सप्तरी, मोरङलगायतमा अधिवेशनको मिति तय भइसकेको छ । महाधिवेशन प्रतिनिधि चयनको काम भइरहको उनले बताए ।
१३ पुस ०६४ मा स्थापित सो पार्टी पनि दुईपटक फुटिसकेको छ । सुरुमा विजयकुमार गच्छदार, शरत्सिंह भण्डारीलगायतले फोरम (लोकतान्त्रिक) र पछि जयप्रकाशप्रसाद गुप्ता, राजलाल यादवलगायतले फोरम (गणतान्त्रिक) गठन गरे । फोरम(लोकतान्त्रिक), फोरम (गणतान्त्रिक) र तमलोपा नेपालले भने महाधिवेशनको सोच बनाएका छैनन् ।

प्रतिक्रिया