जेठ पहिलो साता स्ववियु चुनाव गर्ने सहमति

काठमाडौं, १६ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव प्रणालीबारे विवादमै अल्झिएका विद्यार्थी संगठनहरूले ‘सबैलाई मान्य हुने’ गरी चुनाव घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई जिम्मा दिएका छन् । विद्यार्थी संगठनका माउपार्टीले भने स्ववियु चुनावभन्दा १४ जेठको स्थितिलाई प्राथमिकता दिएका छन् ।
त्रिविका पदाधिकारीसग बिहीबार भएको बैठकमा तीन ठूला संगठनका अध्यक्षसहित अन्य विद्यार्थी संगठनका प्रतिनिधि जेठ पहिलो साताका लागि चुनाव घोषणा गर्न सहमत भएका हुन् । उनीहरूले कसैलाई पनि बेवास्ता नगरी चुनाव घोषणा गर्न सहमति जनाएका छन् । ‘कसैलाई इग्नोर नगरी’ चुनाव घोषणा गर्न सहमति जनाएकाले त्रिविले घोषणा गर्ने प्रणालीमा ‘बखेडा’ झिक्न सक्ने बाटो भने खुला राखिएको छ ।
अनेरास्ववियु क्रान्तिकारीलगायत संगठन, समानुपातिक र नेपाल विद्यार्थी संघलगायतले प्रत्यक्ष प्रणालीबाट चुनाव गर्नुपर्ने अडान राख्दै आएका छन् । उनीहरूले बिहीबारको बैठकमा सबैलाई मान्य हुनेगरी स्ववियु चुनावको तालिका घोषणा गर्न त्रिविलाई जिम्मा दिएका हुन् । ‘विधिको विषयमा कसैलाई इग्नोर नगर्नेगरी एक साताभित्र प्रक्रिया पुर्‍याएर चुनाव घोषणा गर्न सबै सहमत भएका छौ,’ अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले भने, ‘देशको राष्ट्रियता नै खतरामा पर्ने त्यस्तो परिस्थिति आए मात्र चुनाव रोकिएला नभए यो चुनाव कसैले रोक्न सक्दैन ।’
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले विद्यार्थीले चुनाव चाहेकाले जेठ पहिलो साता चुनाव हुने दाबी गरे । ‘जेठको पहिलो साता चुनाव गर्न सहमत भएका छौ,’ अध्यक्ष शर्माले भने, ‘अबको चुनाव नया मोडालिटीमा हुन्छ ।’ प्रत्यक्ष प्रणाली स्वीकार्य नहुने उनको अडान छ ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले पनि विधि पुर्‍याएर चुनाव गर्न सहमत भएको बताए ।
त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख गंगा थापाले जेठ पहिलो साताभित्र चुनाव गर्न सकिने बताए । विश्वविद्यालयले कहिले र कसरी चुनाव गर्ने भन्ने विषयमा छलफल गरिने थापाले जानकारी दिए ।
विद्यार्थी संघसंगठनका नेता जेठ पहिलो साताभित्र चुनाव गर्न सहमत भए पनि माउपार्टीले भने त्यसलाई प्राथमिकता दिएका छैनन् । दलहरूले स्ववियु चुनावलाई प्राथमिकता नदिएको विद्यार्थी नेताको आरोप छ । ‘पार्टीहरूले चुनाव चाहेका छैनन्,’ एक नेताले भने, ‘चुनाव नगर किन भन्नुपर्‍यो ? सके सहयोग, नसके चुप लागेर बसे राम्रो हुन्छ ।’ १४ जेठमा संविधानसभाको समयावधि सकिदै छ । पार्टीका शीर्ष नेताहरूले १४ जेठपछि मात्र स्ववियु चुनाव गर्न सुझाब दिएको ती विद्यार्थी नेताले बताए ।

प्रतिक्रिया