१२ भारतीयलाई नागरिकता

महेन्द्रनगर, १५ चैत । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले १२ भारतीयलाई नागरिकता वितरण गरेको रहस्य खुलेको छ । तीन महिनामा १२ गैरनेपालीलाई जन्मका आधारमा नागरिकता दिइएको हो ।
१५ माघदेखि २ चैतसम्म प्रशासनले नागरिकता वितरण गरेका व्यक्ति भारतीय हुन् । थप केहीलाई नागरिकता दिने तयारीमा प्रशासन लागेको छ । लामो समयदेखि नेपालमा बसोबास गरेका र जन्मका आधारमा उनीहरूलाई ऐनबमोजिम नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ ।
‘आवेदन परेका सबैको प्रक्रिया पुर्‍याएर ऐनबमोजिम नागरिकता दिएका हौ’ सिडिओ वासुदेव दाहालले भने, ‘अन्य आवेदकका बारेमा छानबिन गर्दैछौ ।’ सिडिओ दाहालले ऐनबमोजिम जन्मका आधारमा नागरिकता वितरण गरेको बताए पनि उक्त ऐन सर्वोच्च अदालतले एक महिनाअघि कार्यान्वयनमा रोक लगाइसकेको छ ।
प्रशासनले माघ महिनामा दुई, फागुनमा नौ र चैतमा एकसहित १२ जनालाई नागरिकता वितरण गरेको हो । १५ माघमा तरुण लखेरालाई ७५१००१, १४७११ नम्बरको, २६ माघमा हिमांशु लखेरालाई ७५१००१, १४७७३ नम्बरको, ५ फागुनमा विजय जसवाललाई ७५१००१, १४८३६ नम्बरको नागरिकता दिइएको हो ।
यस्तै, ९ फागुनमा सचिन लखेरालाई ७५१००१, १४७४० नम्बरको, ११ फागुनमा दीपक गुप्तालाई ७५१००१, १४७४२ नम्बरको, १२ फागुनमा अनिल हरिजनलाई ७५१००१, १४८१५ नम्बरको नागरिकता प्रशसनले दिएको हो ।
यसैगरी, १६ फागुनमा रुपकिशोर गुप्तालाई ७५१००१, १४८८४ नम्बरको र अश्विनकुमार लखेरालाई ७५१००१, १४८८६ नम्बरको, १८ फागुनमा महेन्द्र ठाकुरलाई ७५१००१, १४८९९ नम्बरको, २३ फागुनमा विपीनकुमार देवललाई ७५१००१, १४९९२ नम्बरको र २४ फागुनमा रामेश्वरदयाल गुप्तालाई ७५१००१, १४९३० नागरिकता दिइएको थियो । त्यस्तै २ चैतमा कृष्णऔतार देवललाई ७५१००१, १४९८२ नम्बरको नागरिकता दिइएको थियो ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सरकारले लामो समयदेखि नेपालमा बसोबास गरेका र जन्मेका व्यक्तिका हकमा १० मंसिर ०६३ देखि दुई वर्षभित्र नागरिकता लिन वा आवेदन दिइसक्नुपर्ने प्रावधान बनाएको थियो । प्रावधानअनुरुप जिल्ला प्रशासन कार्यालयमा ४३ गैरनेपाली नागरिकको आवेदन परे पनि उनीहरूलाई हालसम्म नागरिकता वितरण गरिएको छैन ।
पाच वर्षको अवधिमा कञ्चनपुर आएका चार सिडिओलाई दबाब परे पनि उनीहरूले नागरिकता वितरण गरेका थिएनन् । ‘समयभित्र दर्ता भएका आवेदनको अड्डाले टुंगो लगाउनुपर्‍यो,’ प्रजिअ दाहालले भने, ‘त्यत्तिकै थन्क्याउनुभएन, ऐनअनुरुप दिनुपर्ने हो, अन्य सिडिओले किन दिएनन् ? मलाई थाहा भएन ।’
दाहालले ऐनअनुरुप तीन दलको रोहबर, स्थलगत सर्जमिन तथा सनाखत, नगरपालिकाको सिफारिस, बुवाआमाको मतदाता नामावलीमा नाम, आवश्यक कागजात र प्रक्रिया मिलाएर नागरिकता वितरण गरिएको बताए । नागरिकता लिएका प्रायः सबैको भारतीय नागरिकता र भारतमा घर छ । उनीहरूले दोहोरो नागरिकता लिएकाबारे सिडिओ दाहालले अनभिज्ञता व्यक्त गरे । ‘दोहोरो नागरिकताबारे जानकारी छैन’ उनले भने, ‘यही जन्मिएको आधार पेस गरेकाले दोहोरो नागरिकताबारे प्रमाण पेस गर्न आवश्यक पर्दैन ।’
०६३ सालमा दलकै विरोधका कारण नागरिकता वितरण रोकिएको थियो । अहिले ती दल नै रोहबर र साक्षी बसेका छन् । ‘लामो समयदेखि यहा बसोबास र कारोबार गरिरहेका व्यक्ति हुन्’ कञ्चनपुर कांग्रेसका सचिव भोजराज बोहराले भने, ‘पुस्तौ“पुस्तादेखि बसोबास गरेकालाई नागरिकताबाट वञ्चित गर्दा अन्याय हुन्छ ।’ चारदशकदेखि कञ्चनपुरमा बसोबास गरेका व्यक्ति र उनका आफन्तलाई नागरिकताका लागि दलहरूले सिफारिस गरेको उनले बताए । नागरिकता पाएका व्यक्ति महेन्द्रनगर बजारमा विभिन्न व्यवसाय गर्ने व्यापारी हुन् ।
नागरिकता दिएपछि निर्णय
नागरिकता वितरण गरिएकामध्ये तरुण लखेरालाई अनौठो निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको छ । नागरिकता दिने निर्णय नागरिकता लिएको दुई दिनपछि गरिएको छ । लखेराले १५ माघमा नागरिकता लिएका छन् । नागरिकता पुस्तिकामा १७ माघको निर्णयबमोजिम नागरिकता प्रदान गरिएको उल्लेख छ ।
सिडिओ दाहालले यसबारे जानकारी नभएको बताए । ‘त्यस्तो नहुनु पर्ने हो,’ सिडिओ दाहालले भने, ‘कर्मचारीले लेख्नमा त्रुटि गरे होलान् ।’ लखेराबाहेक अन्य सबैलाई निर्णय भएकै दिन वा त्यसको अर्को दिन नागरिकता दिइएको छ ।

प्रतिक्रिया