‘सहमति नभए प्रत्यक्ष निर्वाचन’

काठमाडौं, १५ चैत । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मिति तोक्न माग गर्दै आज त्रिभुवन विश्व विद्यालयका उपकुलपति र रेक्टरलाई दबाव दिएको छ ।

त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर पुगेका नेविसंघको प्रतिनिधि मण्डलले छिटो निर्वाचनको मिति तोक्न माग गरेपछि उपकुलपति हिरा मर्हजन र रेक्टरगुणनिधि न्यौपानेले अन्य संगठनहरुसँग छलफल गरेर स्ववियु निर्वाचनको मिति घोषणा गर्ने आश्वासन दिएका हुन् ।

त्यसका लागि भोली उपकुलपति महर्जन र रेक्टर न्यौपानेले तीन ठूला विद्यार्थी संगठनका अध्यक्षसँग परामर्श गर्ने बताएको नेविसंघ केन्द्रीय सदस्य युपी लामिछानेले जानकारी दिए ।

स्ववियु निर्वाचन प्रणालीका बिषयमा सहमति हुन नसके पुरानै प्रत्यक्ष निर्वाचन प्रणालीबाट गराउने उपकलपति महर्जनले बताए । उनले जेठको पहिला साता भित्रै स्ववियु निर्वाचन गराउने पक्षमा आफू रहेको बताएका छन् । उपकलपति महर्जनले भने, ‘जेठको १ देखि ३ गते भित्रै निर्वाचन गराउने पक्षमा छु ।’

नेविसंघ अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा दलबल सहित पुगेका विद्यार्थी नेता, कार्यकर्ताले त्रिवि उपकुलपति र रेक्टरलाई केही समय घेराउपनि गरेका थिए ।   स्ववियु निर्वाचन कुन पद्धतिबाट गराउने भन्ने बिषयमा विद्यार्थी संगठनहरुका बीच बिवाद छ ।

प्रतिक्रिया