बिक्री हुनबाट बचे दुई बालिका

काठमाडौं, १४ चैत । भारत तर्फ बेच्न लैजादै गरिएका दुई बालिकालाई प्रहरीले काठमाडौंको बालाजुबाट उद्धार गर्नुका साथै आरोपित चार जनालाई पक्राउ गरेको छ ।

नुवाकोट जिल्ला शिखरबेसी घर भएका २ बालिकालाई ललाई फकाई बेच्न लैजाने क्रममा बालाजुमा रहेको गण्डकी धौलागिरी गेष्टहाउसबाट चार जना पक्राउ परेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । बालिकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ पर्नेमा रुकुम जिल्ला घर भएका २५ बर्षीय फ्युजन थापा, नुवाकोट जिल्ला घर भएका ३६ बर्षीय सोनाम लामा, २७ बर्षीया सोमा लामा र २९ बर्षीय मोइविन्दु तामाङ रहेका छन् ।

प्रहरीले माइविन्दु तामाङको साथबाट १ लाख ४० हजार रुपैयाँ समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका चार युवाहरुले २ बालिकालाई बिभिन्न प्रलोभन देखाएर आफूहरुसँग राखेका थिए ।

प्रतिक्रिया