विज्ञापनका हिटलरले हंगामा

इस्तानबुल : टर्कीको एउटा स्याम्पु कम्पनीले बजार प्रवर्द्धनका लागि बनाएको विज्ञापनमा जर्मनीका नाजी नेता हिटलरलाई देखाइएपछि हंगामा मच्चिएको छ । बायोम्यान ब्रान्डको स्याम्पुले टेलिभिजन र इन्टरनेटमार्फत प्रसारित हुने १२ सेकेन्ड लामो भिडियो विज्ञापनमा हिटलरलाई देखाएपछि यहुदीले यसको विरोध गरेका छन् ।
स्मरण रहोस्, दोस्रो विश्वयुद्धताका जर्मनीको सर्वोच्च पदमा आसीन हिटलरले यहुदीको नरसंहार गरेका थिए । शक्तिमा रहँदा उनले ६० लाख यहुदीको हत्या गरेको इतिहासकारको कथन छ । यहुदीको पक्षमा वकालत गर्ने अभियान्ताले बायोम्यानको विज्ञापन ‘बजार प्रवर्द्धन गर्ने भत्र्सनायोग्य चाल’ भएको आरोप लगाएका छन् । विज्ञापनमा हिटलरले असीम उत्साहका साथ जर्मनी भाषामा गरेको भाषणको भिडियो फुटेज राखिएको छ । श्रोतामा उत्साह भर्न हिटलरले हाउभाउसहित ‘यदि तपाईंहरू फरिया लगाउनुहुन्न भने आइमाईको स्याम्पु पनि नलगाउनुस्’ भनेको ‘सबटाइटल’मा देखाइएको छ । लगत्तै ‘अब प्रस्तुत छ, लोग्ने मानिसको स्याम्पु, बायोम्यान’ भनेर विज्ञापन टुङ्गिएको छ ।
विज्ञापनप्रति रोष व्यक्त गर्दै यहुदीको हकहितका पक्षमा वकालत गर्ने संगठनहरूले यसमाथि रोक लगाउन बायोम्यानसँग माग गरेका छन् । टर्कीका यहुदी समुदायले विज्ञप्ती जारी गरी ‘निर्दयीपना र बर्बरताका खतरनाक नमुनालाई उपयोग गर्ने कार्य अस्वीकार्य’ भएको जनाएका छन् । तर, यहुदीबाट भएको चौतर्फी विरोधपछि पनि बायोम्यानले विज्ञापन फिर्ता लिन मानेको छैन । टर्कीमा १८ हजारदेखि २० हजार यहुदी बसोबास गर्छन् । त्यहाँ हिटलरप्रति चासो राख्ने मानिसको संख्या उल्लेख्य छ । सन् २००५ मा हिटलरको आत्मवृत्तान्त ‘माइन क्याम्फ’ टर्कीको ‘बेस्ट सेलर’ किताब बन्न सफल भएको थियो ।

प्रतिक्रिया