कांग्रेसले ‘मधेसी कार्यक्रम’ ल्याउने

काठमाडौं, १३ चैत । नेपाली कांग्रेस मधेसका समस्या सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने तयारीमा छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले विभिन्न व्यक्तिको सुझाब संकलन गरी त्यस्तो कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
पौडेलले विभिन्न शक्तिले कांग्रेसलाई मधेसबाट अलग्याउने प्रयास गरेको आरोपसमेत लगाए । राजधानीमा सोमबार भएको एक कार्यक्रममा पौडेलले कांग्रेसबाट मधेसलाई अलग्याउने प्रयास सफल नहुने दाबी गरे । विभिन्न कारणले मधेससग कांग्रेसको सम्बन्धमा शिथिलता आएको स्विकार्दै उनले सम्बन्ध पुरानै अवस्थामा फर्काउन लागिपरेको बताए । भने, ‘मधेसका मुद्दा बुझेर पार्टीले मधेसकेन्द्रित नीति ल्याउने तयारी गरेको छ ।’
उनले स्वाभिमान, आत्मसम्मान, शासनमा पहुच, संघीयता, समानता मधेसको प्रमुख माग रहेको उल्लेख गर्दै भने, ‘मधेसको भावना समेटेर अघि बढ्न कांग्रेस गृहकार्यमा जुटेको छ ।’
कार्यक्रममा विभिन्न पेसागत संघसंस्थाका मधेसी प्रतिनिधिले कांग्रेसले मधेसबाट वर्षौंदेखि लाभ लिए पनि मधेसका लागि भने केही नगरेको आरोप लगाएका थिए । कांग्रेसनिकट पेसाकर्मीले मधेसका मुद्दालाई सम्बोधन गरे मधेसी जनता कांग्रेसलाई अहिले पनि स्वागत गर्न आतुर रहेको बताएका थिए ।

पार्टीमा फर्काउन गृहकार्य
संविधानसभा निर्वाचनअघि कांग्रेसबाट विभिन्न दलमा गएका नेता तथा कार्यकर्तालाई कांग्रेसले फर्काउन गृहकार्य थालेको छ । केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षण कार्यक्रम सकेपछि बस्ने केन्द्रीय समिति बैठकबाट तीन नेतालाई फर्कन आह्वान गर्ने तयारी गरेको हो । मधेसी दलमा बढेको ‘सत्तालिप्सा’ र विभाजनबाट कांग्रेस छाडेर अन्य दलमा गएका नेता फर्कन आतुर रहेको कांग्रेसको निष्कर्ष छ । कांग्रेस छाडेर मधेसी दलकोमहत्वपूर्ण जिम्मेवारीमा रहेका नेतालाई कांग्रेसमा फर्कंदा कस्तो जिम्मेवारी दिने भन्ने विषयमा कांग्रेसमा मतभेद रहेको भने स्रोतको दाबी छ ।
कांग्रेस केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले कांग्रेस छाडेर अन्य पार्टीमा गएकालाई फर्कन आह्वान गर्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘पार्टीभित्र मधेस विभाग बनाएर परिचालन गर्नुपर्छ ।’

प्रतिक्रिया