फोरम गणतान्त्रिकमा कुटाकुट

काठमाडौं, १३ चैत । ‘तपाईं सभासद् नै होइन किन बैठकमा आउनुभयो ?’ मधेसी जनअधिकार फोरम गणतान्त्रिक संसदीय दलका उपनेता नन्दन दत्तले बिपी यादवलाई भने । रातो पासपोर्ट दुरुपयोग अभियोगमा सभासद् पदबाट निलम्बित बिपीले आक्रामक हुदै जवाफ फर्काए, ‘मलाई रोक्ने को हो ? कसले रोक्न सक्छ ?’
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान नौ बजे बसेको दलको बैठकमा सुरु भएको आक्रामक संवाद हो, यो । त्यसपछि बैठकस्थलको स्थिति तनाबग्रस्त बन्दै गयो । विनाविभागीयमन्त्री रहेका राजलाल यादवले कड्किदै भने, ‘म रोक्छु तिमीलाई, तिमी यहा किन आउने ?’ मन्त्री यादवले यति भनेपछि बिपी झन् आक्रोशित बने । बिपीले भने, ‘मलाई रोक्ने त,  तलाई अब ठीक गर्छु ।’
त्यसपछि बैठकमा हात हालाहाल नै हुन थाल्यो । बिपी मन्त्री यादवमाथि जाइलागे । बिपीले उनको कठालो समाते । मन्त्रीले लगाएको लुगाको दुइटा बटम खुस्काइदिए । यतिले पनि नपुगेर बिपीले उनको छातीमै समात्न खोजे र मुक्का प्रहार गर्न लाग्दा कृषि राज्यमन्त्री ओमप्रकाश यादव र सन्ध्या देवले रोक्ने प्रयास गरे । त्यसपछि बिपीले आफू बसेकै कुर्सी उचालेर मन्त्री यादवमाथि प्रहार गर्न खोजे । त्यसलाई सभासद्हरूले रोके ।
मन्त्रीमाथि नै आक्रमण भएपछि मन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी बैठकस्थलमा प्रवेश गरे । त्यसपछि वातावरण केही साम्य भयो अनि बैठक स्थगित भयो ।
‘बैठक चलिरहेका बेला मलाई बिपी यादवले कुटे । मैले लगाएको लुगाको दुइटा बटम झारिदिए । अझै प्रहार गर्न खोजेका थिए, साथीहरूले रोके,’ बैठकपछि सौर्यसग विनाविभागीयमन्त्री यादवले भने, ‘बैठकमा मेरो बेइज्जत भयो, बिपीले मलाई तथानाम गाली गरे ।’
उनका अनुसार दलका नेता जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कारागार चलान भएपछि रिक्त पदमा चुनाव गर्ने प्रक्रियामा छलफल भइरहेका बेला विवाद भएको थियो । दलका उपनेता दत्त र कार्यवाहक अध्यक्ष राजकिशोर यादवले दलको नेता हुन लबिङ थालेका छन् । बिपीले राजकिशोरलाई र मन्त्री यादवले दत्तलाई साथ दिएका छन् । बैठकमा बिपीले राजकिशोरलाई साथ दिएपछि दत्त पक्षधरले सभासद्बाट निलम्बित बिपीलाई बैठकबाट बाहिरिन आग्रह गरेका थिए । बिपीले आफू नबाहिरिने अडान लिएपछि विवाद बढेको थियो ।
बिपीले भने मन्त्री यादवलाई नकुटेको दाबी गरे । ‘उनका सुरक्षाकर्मी छन्, मन्त्रीजस्तो मान्छेलाई कसरी कुट्न मिल्छ ?’ उनले भने, ‘मैले राजलाललाई राम्रोस“ग सम्झाउन खोजेको थिए“ । उनी आक्रामक भए, म पनि आक्रोशमा आए । भएको त्यत्ति हो ।’
सूचना तथा सञ्चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि बैठकमा चर्काचर्की भएको थियो । महासचिव आत्माराम साह, विनाविभागीयमन्त्री यादव, कृषि तथा सहकारीमन्त्री दत्त र सञ्चार राज्यमन्त्री सुरिता साहले सञ्चारमा दाबी गरेका छन् । बैठक सुरु भएको केही बेरमै कुटाकुट चलेको थियो । ‘बैठकमा जे भयो, त्यो दुःखद् भयो । यसले पार्टीलाई फाइदा गर्दैन,’ सभासद् चन्द्रिका यादवले भनिन् ।

गुप्तालाई जेलमै खबर
बैठकमा कुटाकुट भएको खबर दुवै पक्षले सदरखोर डिल्लीबजारमा कैदी जीवन बिताइरहेका पार्टी अध्यक्ष एवं दलका नेता गुप्तालाई पुर्‍याएका थिए । ‘मैले पनि त्यहाको घटनाबारे सुने । साथीहरूले सुनाए । तर, सबै कुरा बुझ्न पाएको छैन,’ गुप्ताले सौर्यसग भने, ‘फोरम गणतान्त्रिकलाई सभासद्को पार्टीबाट कार्यकर्ताको पार्टी बनाउने प्रयास भइरहदा म जेलमा आए । यसले पार्टीमा केही रिक्तता उत्पन्न भएको छ ।’

प्रतिक्रिया