कृषिमन्त्री बर्खास्त

काठमाडौं, १३ चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृषिमन्त्री नन्दनकुमार दत्तलाई सोमबार साझ पदबाट बर्खास्त गरेका छन् । दत्त मधेसी जनअधिकार फोरम गण्ँतान्त्रिकबाट सरकारमा सहभागी थिए ।
दत्तलाई हटाउन पार्टीका १० सभासद्को हस्ताक्षर बोकेर कार्यवाहक अध्यक्ष राजकिशोर यादवसहित आठ सभासद् प्रधानमन्त्री भट्टराईलाई भेट्न बालुवाटार गएका थिए । बहुमत सभासद्को लिखित पत्र आएपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गरेका हुन् । यसअघि प्रधानमन्त्री डा. भट्टराईले दिउसो दत्तलाई फोन गरी उनको पार्टीभित्र लफडा रहेको र मन्त्री स्वयं मल अनियमितता प्रकरणमा मुछिएको उल्लेख गर्दै ‘राजीनामा दिएर सहयोग गर्न’ भनेका थिए ।
मन्त्री दत्तले पार्टीभित्रको विवाद आन्तरिक भएको भन्दै आफूले राजीनामा नदिने अडान लिएका थिए । तर, बेलुकी फोरम गणतान्त्रिकका सभासद्हरूको लिखित दबाब परेपछि प्रधानमन्त्रीले उनलाई हटाएका हुन् । उनलाई हटाइएको पत्र राष्ट्रपति कार्यालयमा बेलुकी नै पठाइएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार पार्टीको सिफारिसमा मन्त्रीलाई बर्खास्त गरिसकेको भए पनि मंगलबार बिहान मात्र यसको औपचारिक जानकारी गराइनेछ । पार्टीको पत्रपछि कृषि राज्यमन्त्री ओमप्रकाश यादवले नै मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।
पार्टी अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार अभियोगमा जेल परेपछि संसदीय दलको नेता र सञ्चारमन्त्री कसलाई बनाउने भन्ने विवादमा फोरम गणतान्त्रिकको बैठकमा सोमबार दिउसो कुटाकुटसमेत भएको थियो । मन्त्री दत्त, विनाविभागीय मन्त्री राजलाल यादव र कार्यवाहक अध्यक्ष राजकिशोर यादवसहित तीनजना पदका आकांक्षी रहदै आएका थिए । सोमबार भएको संसदीय दलको बैठकमा निलम्बित सभासद् बिपी यादव र राजलाल यादवबीच कुटाकुट भएको हो ।

प्रतिक्रिया