जीप दुर्घटनामा ६ को मृत्यु

कैलाली, १३ चैत । बझाङको सिमखेतबाट झोतातर्फ गइरहेको जीप आज रिठापाटा गाविसको देवलमा दुर्घटना हुँदा एक नाबालक सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना गम्भिर घाइते भएका छन् ।

जयपृथ्वीबहादुर सिंह राजमार्ग अन्तर्गत देवलमा से १ च ३५१ नम्बरको जीप पल्टिएपछि सैनपसेला–६ डाँडा गाउँकी ३५ वर्षीय केशरी रोकाया, ५० वर्षीय कमलादेवी जप्रेल, ४० वर्षीय दमन जप्रेल, भैरवनाथ–१ का ६० वर्षीय मेघराज गिरी, ४० वर्षीय गोरख गिरी र रिठापाटा–६ का ६ महिनाका नावालक जेनिस खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले गम्भिर घाइतेहरुको उपचार जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको बताए ।

यसैबीच, घाइतेको उपचारका लागि बाहिर लैजान हेलिकप्टरको व्यवस्था नभएको भन्दै आक्रोसित सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय बझाङमा नारावाजी सहित ढुंगामुडा तथा आगजनी गरेका छन् । आगजनीबाट कार्यालयको गोलघर तथा मुख्य गेटमा क्षती पुगेको छ ।

प्रतिक्रिया