ललितपुरमा फेरि बर्डफ्लु

काठमाडौं, १२ चैत । ललितपुरको भैसेपाटीस्थित धीरेन गुरुङको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको चार दिनपछि फेरि आइतबार सोही फार्मनजिकै रहेको अर्को कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ ।
पशु स्वास्थ्य निर्देशनालयले चार दिनअघि गुरुङको फार्ममा बर्डफ्लु पुष्टि भएपछि सो फार्म वरपरका सबै कुखुरा फार्मलाई उच्च निगरानीमा राखेको थियो । निगरानीकै क्रममा निर्देशनालयको टोलीले आइतबार गुरुङको फार्मबाट ५० मिटर पर रहेको कमल घिमिरेको कुखुरा फार्ममा बर्डफ्लु फेला पारेको हो ।
घिमिरेको फार्ममा रहेका कुखुरामा बर्डफ्लु रहेको पुष्टि भएपछि निर्देशनालयको टोलीले फार्ममा रहेका दुई हजार पाच सय ७४ वटा कुखुरा नष्ट गरेको छ । यसैगरी, टोलीले फार्ममा राखेका तीन सय ५० बोरा कुखुराको दानासमेत वैज्ञानिक ढंगले नष्ट गरेको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले भैसेपाटीको सैबु क्षेत्रलाई बर्डफ्लु संकटग्रस्त क्षेत्रर घोषणागरी कुखुरा र दाना नष्ट गरेको हो ।
बर्डङ्खलु रोग नियन्त्रण आदेश ०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर आसपासलाई संकटग्रस्त घोषणा गरिन्छ । यसका लागि कुखुरा मार्न ‘यापिड रेस्पोन्स टिम’लाई तयारी अवस्थामा राखिन्छ । आइतबार सोही टिमले कुखुरा र दाना नष्ट गरेको हो ।
गत बुधबार गुरुङको फार्ममा रहेका कुखुरा र अन्डा नष्ट गरिए पनि टोलीले सो फार्ममा कुखुराको सुली नष्ट नगरेकाले नजिकै रहेको अर्को फार्ममा बर्डफ्लु संक्रमण भएको आशंका गरिएको छ । आइतबार टोलीले गुरुङको फार्ममा रहेको सुली नष्ट गर्न खोज्दा गुरुङले क्षतिपूर्तिको माग गर्दै नष्ट गर्न रोकेको टोलीका एक सदस्यले सौर्यलाई बताए । उनका अनुसार बर्डफ्लु देखिएको फार्ममा दाना, कुखुरा, अन्डादेखि सुलीलगायत सबै कुरालाई वैज्ञानिक ढंगले नष्ट गरी सफा गर्नुपर्छ ।
सरकारले नेपाललाई गत असारमा बर्डफ्लु (एच ५ एन १) मुक्त राष्ट्र घोषणा गरे पनि त्यसयता उपत्यकामा मात्र लगातार चारपटक बर्डफ्लु देखिएको छ ।

प्रतिक्रिया