प्रत्यारोपणनिम्ति थुनुवाको अंग नलिइने

बेइजिङ, ११ चैत । चीन सरकारले बिरामीहरूमा प्रत्यारोपण गर्न सकिने मृत्युदन्ड प्राप्त थुनुवाहरूको अंग प्रयोग गर्दै आएकोमा आगामी पाँच वर्षपछि यो प्रथा समाप्त पार्ने जनाएको छ । त्यसको सट्टा बरु स्वेच्छाले अंग दान गर्नेहरूमा भर परिने अधिकारीहरू बताएका छन् ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार, मृत्युदन्ड पाएका कैदीहरूबाट प्राप्त अंग चीनभरि प्रत्यारोपण गरिने कुल अंगहरूको दुई तिहाइ हुने गरेको छ । मानवअधिकारकर्मीहरूले पछिल्लो लामो समयदेखि चीनमाथि थुनुवाहरूलाई आफ्नो अंग दान गर्नका लागि बाध्य पार्ने गरेको आरोप लगाउँदै आएका छन् । तर चिनिया सरकारले सधै यसलाई अस्वीकार गर्दै आएको छ ।
सिन्ह्वाले उपस्वास्थ्यमन्त्री के हुआङ जिफुलाई उल्लेख गर्दै जनाएअनुसार, चीनका केही क्षेत्रमा ‘अंग दान गरौं’ भन्ने किसिमको अभियान नै चलाउन थालिएको छ । जिफुका अनुसार, सरकार थुनुवाहरूबाट अंग दान नलिने कुराप्रति सचेत छ । उपस्वास्थ्यमन्त्री जिफुका अनुसार, थुनुवाहरूबाट प्राप्त अंग अक्सर राम्रो र स्वस्थ हुँदैन । धेरैजसो कैदीका त्यस्ता अंग संक्रमित हुन्छन् जसले गर्दा ती अंग प्रत्यारोपण भएका मानिसहरू धेरै लामो समय बाँच्न सक्दैनन् ।
सरकारी तथ्याङ्कअनुसार, चीनमा वर्षेनी १५ लाख मानिसलाई अंग प्रत्यारोपणको आवश्यकता पर्दछ तर केवल दस हजारले मात्र त्यसरी अंग पाउन सकेका हुन्छन् । तर चीनमा यसरी अंगहरूको कमी हुनुपछाडि अर्कै कारण छ- आममानिसमा के धारणा छ भने शव गाड्दा त्यसका सबै अंग पूर्ण र सुरक्षित हुनुपर्छ । यसले गर्दा चीनमा मानव अंगहरूको कालोबजार निकै ठूलो र व्यापक छ ।

प्रतिक्रिया