मोबाइलमा ५२ प्रतिशतको पहुंच


काठमाडौँ, ११ चैत । कुनैबेला बिलासिताका रूपमा लिइने मोबाइलमा अहिले प्रत्येक सयमध्ये ५२ जना नेपालीको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको प्रतिवेदनअनुसार मुलुकभर एक करोड ३८ लाख ४५ हजार चार सय ५० नेपालीसँग अहिले मोबाइल छ ।
दूरसञ्चार क्षेत्रमा निजी कम्पनीको आगमनसँगै बढेको प्रतिस्पर्धाले शुल्क घटेपछि मोबाइल प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा छ । यसमा मोबाइल सेटको मूल्यमा आएको उच्च गिरावटले सघाउ पुर्‍याएको छ । मोबाइल प्रयोगकर्ताको सङ्ख्यामा भएको वृद्धिले कुल टेलिफोन प्रयोगकर्ताको प्रतिशत पनि बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ५८ दशमलव ६६ प्रतिशतमा टेलिफोन सेवा पुगेको छ । यसअनुसार एक करोड ५६ लाख १६ हजार नो सय चार नेपालीको भ्वाइसटेलिफोन सेवामा पहुँच छ ।
पछिल्ला केही वर्षमा मोबाइल सेवाको विस्तार तीव्र गतिमा भइरहेको छ । कुल टेलिफोन प्रयोगकर्तामध्ये ५२ प्रतिशत मोबाइलका छन् । विभिन्न कम्पनीका गरी मुलुकभर एक करोड ३८ लाख ४५ हजार चार सय ५० मोबाइल ग्राहक रहेका छन् । यसमध्ये आठ लाख ५१ हजार दुई सय ८३ सिडिएमएका छन् भने बाँकी जिएसएम प्रविधिका ग्राहक छन् । सेवा प्रदायकहरूले एक महिनाको अवधिमा दुई लाख ८० हजार मोबाइल उपभोक्ता थपेका छन् ।
मोबाइल सेवामा सरकारी कम्पनी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कुल टेलिफोन प्रयोगकर्ता नेपाल टेलिकमका भए पनि मोबाइलमा एनसेल अगाडि छ । गत माघ मसान्तसम्म टेलिकमका मोबाइल ग्राहक ६६ लाख ६७ हजार चार सय ४२ रहेकामा एनसेलका ७१ लाख ७८ हजार पुगेका छन् । टेलिकमले जिएसएम र सिडिएमए दुवै प्रविधिमा सेवा प्रदान गरिरहेको छ भने एनसेलले जिएसएममा मात्र सेवा सञ्चालन गरिरहेको छ । टेलिकमका सिडिएमए ग्राहक आठ लाख ५१ हजार दुई सय २३ छन् । सबै प्रविधिका गरी टेलिकमका ग्राहक ७४ लाख ३५ हजार नौ सय २९ पुगेका छन् ।
मोबाइल विस्तार तीव्र गतिमा भए पनि ल्यान्डलाइनको विस्तार भने निकै सुस्त देखिएको छ । एक महिनामा एक हजार सात सय ५५ मात्र ल्यान्डलाइनका उपभोक्ता थपिएका छन् । नेपाल टेलिकम, एसटिएम र स्मार्ट टेलिकमले यो सेवा दिइरहेका छन् । कुल टेलिफोन प्रयोगकर्तामध्ये ३.१८ प्रतिशत ल्यान्डलाइनका छन् । एक महिनामा इन्टरनेट प्रयोगकर्ता एक लाख ४५ हजार पाँच सय ७८ थपिएका छन् । कुल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ४१ लाख ९३ हजार दुई सय ४३ पुगेको छ । यो नेपालको जनसङ्ख्याको १५.७५ प्रतिशत हो । इन्टरनेट ग्राहकमा पनि टेलिकम र एनसेलबीच प्रतिस्पर्धा छ । टेलिकमका ४० प्रतिशत र एनसेलका ५७ प्रतिशत इन्टरनेट ग्राहक रहेको प्राधिकरणको तथ्याङ्क छ । टेलिकमका इन्टरनेट ग्राहक १६ लाख ७२ हजार रहेकामा एनसेलका २३ लाख ८९ हजार सात सय ८८ पुगेका छन् ।
टेलिफोन सेवाप्रदायकले इन्टरनेट सेवामा पनि जोड दिन थालेपछि इन्टरनेट सेवा प्रदायक -आइएसपी) कम्पनीका ग्राहक भने बढ्न सकेका छैनन् । एक महिनामा टेलिफोन कम्पनीका एक लाख ४५ हजार इन्टरनेट ग्राहक थपिएकामा आइएसपी कम्पनीले करिब पाँच सयमात्र ग्राहक थपेका छन् । आइएसपीका ग्राहक ६२ हजार नौ सय ३२ छन् भने आइएसपीका एक प्रतिशतमात्र ग्राहक छन् । इन्टरनेट प्रयोगकर्तामा पनि सबैभन्दा बढी मोबाइलमा चलाउन मिल्ने जिपिआरएस सेवाका छन् । कुल प्रयोगकर्तामध्ये ३८ लाख ६८ हजार पाँच सय ७५ जिपिआरएसका रहेका छन् । एक महिनामा एक लाख ४१ हजार जिपिआरएस प्रयोगकर्ता थपिएको तथ्याङ्क छ । एडिएसएलका ग्राहक भने ७८ हजार सात सय ४० मात्र रहेका छन् ।

प्रतिक्रिया